|

बागलुङ : साघुँरो बजार। अस्तव्यस्त सवारी साधन। बागलुङका ट्राफिक प्रहरीको टाउको दुखाइको विषय बनिरहेको छ।  

बजारको आवारोडमा रहेको नेपाल टेलिकममा पर्याप्त खाली जग्गा छ। पार्किङस्थल पर्याप्त भए पनि कार्यालय समयमा ढोका खुल्दैन। कार्यालयका कर्मचारी र छिमेकका सवारीधनीलाई मात्रै पार्किङ सेवा दिँदै आएको टेलिकम कार्यालयले सेवाग्राहीलाई भने पार्किङ सुविधा दिँदैन। 

नेपाल टेलिकममा गएका सेवाग्राहीले बाहिर सडकमै मोटरसाइकल तथा कार पार्किङ गरेर सेवा लिँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ। नेपाल टेलिकम मात्रै होइन जिल्ला प्रशासन कार्यालयले समेत सेवाग्राहीलाई पार्किङ सुविधा दिदैन। जिल्ला प्रशासनमा झण्डै दुई रोपनी जग्गा पार्किङका लागि भए पनि सुरक्षा निकाय देखि भिआइपी सवारीहरुका लागि मात्रै पार्किङ उपलब्ध हुन्छ। प्रशासनमा पुगेका सेवाग्राहीको सवारी साधन सडकमै हुन्छन्। 

यी दुई सरकारी कार्यालय त उदारणमात्रै हुन्। पर्याप्त जग्गा भएर समेत सेवाग्राहीलाई पार्किङ सेवा नदिने कार्यालयमा जिल्ला मालपोत कार्यालय, विद्युत कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, नापी कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र जलस्रोत तथा सिचाइ डिभिजन कार्यालयको पार्किङ ढोका समयमै खुल्दैनन्। विद्युत् कार्यालयको भित्र पार्किङ स्थलमा त झनै ब्याटमिन्टल खेलका लागि प्रयोग हुँदै आएको छ। 

सेवाग्राहीलाई स्वास्थ्य कार्यालय बागलुङ र आन्तरिक राजस्व कार्यालय बागलुङ लगायतका केही थोरै कार्यालयले मात्रै पार्किङ सुविधा दिँदै आएका छन्। साँघुरो बागलुङ बजारमा पार्किङ व्यवस्थापन जटिल बन्दै गएपछि बागलुङ नगरपालिकाले खाली स्थान भएका कार्यालयलाई पार्किङ सेवा दिन आग्रह गरेको भए पनि सरकारी कार्यालयले अटेर गरिरहेका छन्। 

बागलुङ नगरपालिकाले शुरुवाती चरणमा भएका सरकारी कार्यालयले पार्किङ सुविधा दिने र अन्य बैंक तथा सिनेमा हलले समेत विस्तारै पार्किङको व्यवस्थापन गर्न शुरु गररेको बागलुङ नगरपालिकाले दुई महिना अघि अनुरोध गरेको उप–प्रमुख राजु खड्काले जानकारी दिए। 

तर नगरपालिकाले गरेको आग्रहलाई सरकारी कार्यालयले अटेरी गरेका छन्। ‘पार्किङ व्यवस्थापनका लागि नगरपालिकाले विभिन्न योजना अघि सारेको छ, जसमध्ये सरकारी कार्यालयले भएको जग्गामा पार्किङ सुविधा दिन आग्रह गर्ने, पार्किङ स्थलको खोजी गर्ने तथा निजी क्षेत्रसँग सहकार्य गरेर भए पनि पार्किङ सेवा दिने भन्ने हो’ उपप्रमुख खड्काले भने ‘हामी अहिले अध्ययन गरिरहेछौँ, तर सरकारी कार्यालयका सेवाग्राहीलाई सेवा नदिँदा सडकमै सवारी पार्किङ गर्दा समस्या आएको गुनासो छ।’

भएको जग्गामा पार्किङ सुविधा नदिएको विषयमा विद्युत कार्यालयका निमित्त प्रमुख प्रकाश काफ्लेले कार्यालयमा जग्गा अभाव भएको बताए। उनले कार्यालयमा भएको जग्गामा विद्युतीय सामाग्री राख्न समस्या हुने बताउँदै विद्युत कार्यालयमा कार्यालयका अत्यावश्यक सवारी आउजाउ गर्दा समस्या भएकाले पार्किङ सेवा नदिएको बताए। तर कार्यालयमा ब्याटमिन्टल कोर्ट समेत बनाइएको छ। 

बागलुङ नगरपालिकाले सरकारी कार्यालय, ठूला होटल तथा उद्योगले सकेसम्म पार्किङ सेवा दिनेगरी नीति बनाउन थालेको छ। खासगरी सेवाग्राहीको भिडभाड हुने जिल्ला प्रशासन, नेपाल टेलिकम, मालपोत कार्यालय, नापी कार्यालयहरुले भएको पार्किङ सुविधा समेत सेवाग्राहीलाई नदिँदा बागलुङ बजारमा  ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। 

अहिले एकतर्फी पार्किङले बागलुङ बजारको ट्राफिक जाम केही हदसम्म नियन्त्रणमा आए पनि दीर्घकालिन व्यवस्थापन भने हुन सकेको छैन। जिल्ला ट्राफिक कार्यालय बागलुङले पार्किङ सेवा दिन सक्ने कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुलाई सहजीकरण गरिरहेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताए। उनी सबैको समन्वयमा मात्रै सकज ट्राफिक व्यवस्थापन हुने बताउँछन्।

‘बागलुङ बजार साँघुरो छ, त्यसमाथि पार्किङ गर्ने ठाउँ नै छैन, त्यसले गर्दा ट्राफिक व्यवस्थापन गर्न सजिलो भने छैन, तर हामीले कोशिस गरिरहेका छौँ,’ केसीले भने ‘ट्राफिकले मात्रै एक्लै व्यवस्थापन गर्न सकिँदैन, स्थानीय, यहाँका कार्यालयले पनि सहकार्य र समन्वय गरे थप सहज बन्ने थियो।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.