|

दाङ : घोराही उपमहानगरपालिका-१६ की उषा धामीले गार्मेन्ट व्यवसाय गर्न एउटा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिइन्। त्यसपछि उनीले चौतारी, आशा लगायत अहिले १० वटा लघुवित्तबाट करिब १५ लाख ऋण लिएकी छन्।

शुरुमा गार्मेन्टबाट राम्रो आम्दानी भए पनि कोरोना महामारीका कारण व्यवसाय बन्द भएपछि उनले किस्ता तिर्नका लागि एकपछि अर्को संस्थाबाट ऋण लिदै जाँदा अहिले उनको उठिबास लागेको छ।

उनले लघुवित्तलाई किस्ता तिर्नका लागि मिटर ब्याजमा पैसा ल्याएर दिँदा आफ्नो करोडको सम्पत्ति गएको र घरमा पनि राम्रो सम्बन्ध नभएको बताइन्।

उनले भनिन्, ‘शुरुमा एउटा समूहमा लागेर पैसा निकाल्यौँ। त्यसपछि अहिले १० वटा समूह छन्। कोरोनाले गर्दा गार्मेन्ट पनि घरमा लगेका छौँ। खासै आम्दानी हुँदैन। यी समूहमा किस्ता तिर्नका लागि मिटर ब्याजमा पैसा ल्याएँ। अहिले मेरो एक करोड बराबरको सम्पत्ति गएको छ। म बर्बाद भएकी छु।’

उनका अनुसार चौतारी, आशालगायत वित्तिय संस्थाबाट एक लाख देखि २–३  लाखसम्म ऋण लिएकी थिइन्। उनले त्यो ऋण तिर्न नसक्दा श्रीमा्‌नसँग पनि घरमा झगडा भइरहने र वित्तीय संस्थाका व्यक्तिहरूले किस्ता माग्न घरमा आउँदा आफूलाई धेरै यातना दिने गरेको बताइन्। वित्तीय संस्थाको पैसा र मिटर ब्याजको पैसाले श्रीमान्‌सँग राम्रो सम्बन्ध नभएको भन्दै उनले श्रीमान्‌ले पनि तैँले ल्याएको पैसा हो? आफैँ तिर भन्ने गरेको गुनासो गरिन्।

उनले भनिन्, ‘दैनिक रूपमा पैसा माग्न आउँछन्। मसँग पैसा छैन। भएको पैसा तिर्दै आएकी छु। घरमा ताल्चा लगाउँछु, गाली बेइज्जती गर्ने, छोराछोरीलाई विद्यालय पढ्न दिन्न, कालो सूचीमा राख्छु भन्दा मैले बाध्यताले मिटर ब्याजमा पैसा लिएँ। त्यसले गर्दा पनि अहिले उठिबास लागेको हो।’

यस्तै उनले वित्तीय संस्थाका कर्मचारीहरू पैसा माग्न घरमा आउँदा शौचालय, घरको कौशीमा समेत खोज्न जाने र आफूलाई मरे पनि हुन्छ भन्ने गरेको भन्दै उनले धेरै यातना दिने गरेको आरोप लगाइन्। ‘यो मरे पनि हुन्छ, यो मरे ऋण मिनाहा हुन्छ भनेर भन्छन्। घरमा किस्ता माग्न आएपछि छोरीहरू विद्यालय नै जाँदैनन्। उनीहरूले पनि धेरै तनाव पाएका छन्।’

उनले आफू जस्तै यस्तो समस्यामा परेका धेरै भएको भन्दै ऋण लिएपछि आफूहरू तिर्न तयार भए पनि अहिले पैसा नहुँदा समस्या भएको पनि बताइन्। उनले विदेशतिर कमाउन जान्छु अनि तिर्छु भन्दा पनि संस्थाका कर्मचारीले जान पाइन्न कालो सूचीमा राखिदिन्छौँ भनेर धम्क्याउने  गरेको पनि बताए।

यस्तै, घोराहीकी शोभा वलीको पनि समस्या उस्तै  छ। धेरै वित्तीय संस्थाबाट ऋण लिँदा अहिले तिर्न नसक्दा संस्थाका कर्मचारीहरूले दैनिक रूपमा धम्क्याउने र मानसिक यातना दिने गरेको बताइन्। उनले लघुवित्त संस्थाहरूले आफूलाई धेरै तनाव दिएका कारण आन्दोलनमा उत्रिनु परेको समेत बताइन्। उनले भनिन्, ‘हामीले ऋण लिएका छौँ। हामीले तिर्दैनौँ भनेका पनि छैनौँ तर मेरो घरमा गएर सिवाइसी संस्थाले मलाई मान्छे लगेर पिट्न समेत खोजेको थियो। ’

उनले लघुवित्त संस्थाहरूले आफूहरूलाई  ऋण मात्र दिने र सीपमूलक तालिम नदिँदा अहिले समस्या भएको बताइन्। उनले आफूहरूले संस्थालाई पटक पटक सीपमूलक तालिम दिन आग्रह गर्दा पनि नदिएको र पैसा मात्र लगाउने गर्दा त्यो पैसा मासिने भएकाले अहिले समस्या भएको बताइन्।

उनले भनिन्, ‘हामीले संस्थाबाट एक लाख ऋण लिँदा संस्थाले विभिन्न बहानामा १०–१५ हजार रुपैयाँ काट्ने र ८५ हजार हामीलाई दिन्छ। अनि हामीले एक लाखको साँवा ब्याज एक महिनामा १५ हजार जति तिर्नुपर्ने हुन्छ। यदि हामीलाई कुनै आयआर्जनको बाटो दिएको भए सहज हुन्थ्यो। हामीलाई पैसा मात्र लगाउने गर्ने सीपमूलक तालिम माग्दा हाम्रो संस्थाले दिँदैन भन्ने अहिले आएर सबै दिदीबहिनी यही समस्यामा छौँ।’

लघुवित्त संस्थाहरूले आफू जस्ता नागरिकको जीवनस्तर माथि उठाउनेभन्दा पनि उठिबास लगाउन लागेको उनको भनाइ थियो। 

यस्तै घोराहीकै माधवा पोख्रेलले बुटिक सञ्चालन गर्न लघुवित्त संस्थाबाट ऋण लिएकी थिइन्। उनको बुटिक राम्रै चलेपछि किस्ता पनि समयमै बुझाउँदै आएकी थिइन् तर कोरोना महामारीले गर्दा बुटिक बन्द भयो र मोटरसाइकलको ठक्करबाट एक वर्षसम्म उपचार गर्दा पैसा धेरै खर्च भयो। जसले गर्दा उनलाई किस्ता तिर्न समस्या परेपछि अहिले पनि तनावमा छिन्। उनले भनिन्, ‘हामीले १२ किस्ताका लागि ऋण लिएका हुन्छौँ तर १३ किस्ता तिरेपछि मात्र त्यो सकिन्छ। हामीले आफूले जम्मा गरेको पैसा पनि पाउँदैनौँ। संस्थाका कर्मचारीहरूले विभिन्न बहाना बनाएर दिँदैनन्।’

उनले संस्थाका कर्मचारीहरू दैनिक रूपमा पसलमा किस्ता माग्न आउने र उनीहरूले धेरै मानसिक यातना दिने गरेको बताइन्।

उनीहरूले किस्ता कुनै पनि हालतमा दिन आग्रह गर्ने र यदि नदिएमा ब्याजको पनि ब्याज लगाउने भने धम्की दिने गरेको गुनासो गरिन्। यस्तै एक संस्थाका कर्मचारीले पैसा दिन नसक्ने भए, मर्न समेत भनेको भन्दै उनले आफू मरेपछि किस्ता मिनाहा हुने समेत भनेको बताइन्। उनका अनुसार तोकिएको दिनमा किस्ता तिर्न नसके ५ सयदेखि एक हजारसम्म दैनिक जरिवाना लगाउने गरेका छन्।

उनले आफ्नै छिमेकीले एक संस्थाबाट घरजग्गा धितो राखेर ८ लाख ऋण लिएको र त्यो तिर्न नसक्दा त्यो संस्थाले ८ लाख साँवा र ब्याज गरेर २५ लाख पुर्‍याएको र आफूहरू मुद्दा नहालेपछि १४ लाख बनाएको भन्दै आफू जस्ता सोझा महिलालाई ठग्ने गरेको आरोप लगाइन्।

तुलसीपुर उपमहानगरपालिका-१८ की सीता बोहोराको पनि उस्तै पीडा छ। उनले पनि वित्तीय संस्थाबाट धेरै तनाव भोग्दै आएको र घरबाट भाग्नुपर्ने अवस्था  आएको बताइन्। उनले गाउँका केही दिदीबहिनी घरमा किस्ता माग्न आउने कर्मचारीको यातनाले घरै छोडेर हिँडेको पनि बताइन्। उनले संस्थाका कर्मचारीहरूले मिर्गौला बेचेर भए पनि कोहीसँग बसेर भए पनि  किस्ता दिन भन्दै उनीहरूले आफूहरूलाई धम्क्याउने गरेको बताइन्।

उनले आफूहरूले सकेसम्म किस्ता तिर्दै आए पनि अहिले पैसा नहुँदा संस्थाका कर्मचारीहरू आफूहरूको घरमा बिहान ७ बजेदेखि  बेलुका ७ बजेसम्म पैसा लगेर जाने भन्दै बस्ने  गरेको पनि बताइन्। उनले भनिन्, ‘अहिले पैसा छैन। पैसा भए त हामीले तिर्दै आएका छौँ भन्दा उनीहरूले तेरा श्रीमान्‌लाई विदेशबाट झिकाउँछौँ। तेरो ३ पुस्तासम्मलाई कालो सूचीमा राख्छौँ भनेर थर्काउँछन्। ऋण खाएपछि हामीले तिर्दैनौँ भनेका  छैनौँ तर हामीसँग अहिले आम्दानीको स्रोत नहुँदा समस्या भएको हो।’ यस्तै समूहमा बस्ने कुनै पनि दिदीबहिनीले किस्ता नदिएपछि आफूहरूले जम्मा गरेको पैसा काटिदिने र आफूहरूले पैसा माग्दा नदिने गरेको पनि उनको भनाइ थियो।

यस्तै कपिलवस्तु जिल्ला शिवराज नगरपालिका-५  का गगन विश्वकर्माले अहिले देशभरका सोझासिधा गाउँका महिलाहलाई लघुवित्त संस्थाहरूले विभिन्न बहानामा ठग्दै आएको आरोप लगाए। उनले देशभर यस्तै समस्या भए पनि आफूहरू अहिले आन्दोलन उत्रिएको पनि बताए।

उनले संस्थाहरू गाउँगाउँमा गएर विनाधितोमा लगानीमा दिने भनेर समूह बनाएर तिनै समूहमा बसेका महिलाहरूलाई धितोमा राखेर पैसा दिने काम गरेको पनि आरोप लगाए। उनले एक लाख ऋण दिँदा विभिन्न बहानामा १५ हजार रकम  काटिदिने र बाँकी पैसा दिने गरेको पनि बताए।

उनले भने, ‘एक लाख माग्दा ८५ हजार मात्र पाइन्छ तर हामीले तिर्दा एक लाखको साँवा, ब्याज तिर्नुपर्छ। एक वर्षमा जति पटक पैसा ऋण लिए पनि बिमा बनाउनु पर्छ। समूहका सदस्यहरूले मात्र नभई घरका श्रीमान्‌को पनि बिमा बनाउनु पर्छ। बिमा त एकपटक गराए पुग्छ होला तर यहाँ पटक पटक बनाएर ठग्ने काम भइरहेको छ।’ अहिले आफूहरूको आन्दोलन देशभर भइरहेको उनको भनाइ छ। 

देशभर ५८ लाख महिलाहरू विभिन्न संस्थामा आबद्ध, ३३ लाख ऋणी

लघुवित्तीय संस्थाविरुद्ध संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष सल्यान कपुरकोटका फत्तेबहादुर पुनका अनुसार देशभर करिब ६३ वटा लघुवित्त संस्थामा ५८ लाख महिलाहरू संस्थामा आबद्ध छन्। ५८ लाख महिलामध्ये करिब ३३ लाख महिलाले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएको उनले बताए। तीमध्ये २२ लाख महिलाहरू ऋण तिर्नै नसक्ने अवस्थामा रहेको र जसले गर्दा उनीहरूको उठिबास भइरहेको  उनको भनाइ थियो।

उनले यदि २२ लाखले ऋण तिरेमा उनीहरु  सुकुम्बासी हुने भन्दै त्यो भए नेपालमा सुकुम्बासी आयोगले धान्न नसक्ने पनि बताए। आफूहरूले नेपालको संविधान २०७२ र २०७४ सालको मुलुकी ऐन अनुसार आन्दोलन गरेको र आफ्ना ५ वटा माग रहेको पनि बताए। उनले २०७९ असोज २५ गते काठमाडौँमा देशभरका वित्तीय संस्थाबाट पीडितहरू गएर आन्दोलन गर्न लागेको पनि बताए।

नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, लघुवित्तीय संस्थाहरू लगाएको ऋण सामूहिक रूपमा मिनाहा गर्नुपर्ने, गरिब  किसानलाई ब्याज अनुदानमा ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर्नुपर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति दाङले जनाएको छ।

बाहिर आएको कुरा सबै गलत हो :  वित्तीय संस्था

वित्तीय संस्थाहरूले भने अहिले विभिन्न बहानामा आन्दोलन भइरहेको र आफूमाथि लगाइएका आरोप सबै गलत भएको बताएका छन्। दाङको बिजौरीमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाकी शाखा प्रमुख शान्ति कार्कीले आन्दोलन गर्नेहरूले लगाएको आरोप झूटाे रहेको बताइन्। उनले आफूहरूले संस्थामा आबद्ध सदस्यहरूलाई मिटर ब्याजका रूपमा पैसा लगानी नगरेको पनि बताइन्।

उनले आफूहरूले राष्ट्र बैंकको नीति नियम र निर्देशन अनुसार नै काम गर्दै आएको बताइन। उनले आफूहरूलाई राष्ट्र बैंकले अनुगमन गर्ने भएकाले कुनै पनि वित्तीय संस्थाहरूले चर्को ब्याजमा लगानी नगरेको र गरेको भए पनि कानुनी कारबाहीको भागेदारी हुनुपर्ने उल्लेख गरिन्।

यस्तै उनले आफूहरूले ऋण लिएका समूहका सदस्यहरूलाई जबरजस्ती रूपमा पैसा असुलका लागि नगएको पनि बताइन्। उनले भनिन्, ‘हामीले ऋण असुल्ने क्रममा अहिलेसम्म कुनै पनि महिला दिदीबहिनीलाई नराम्रो गरेका छैनौँ। उनीहरूको अवस्थाअनुसार ऋण असुल गर्दै आएका छौँ। हाम्रा विरुद्ध बाहिर आएका कुरामा सत्यता छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.