पोस्टमार्टम गरिँदै, प्रहरी अनुसन्धान जारी

|

धनगढी : साउन २५ गते (हिजो) बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै घरका तीन जना मृत भेटिए।

२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित मृत फेला परेका हुन्। उनीहरु घरभन्दा डेढ सय मिटर परको बेडुँको रुखमा (मकै बारीभित्र ) झुन्डिएको अवस्थामा मृत भेटिएका थिए।

उनीहरु मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय बझाङ र स्थानीय प्रहरीको टोली त्यहाँ पुगेको थियो। अहिले प्रहरीले उक्त घटनामा सूक्ष्म अनुसन्धान गरिरहेको बताएको छ।

गीता र पुष्करको ‘प्रेम विवाह’

मृतक गीता केही वर्षअघि मात्रै विवाह गरेर बुंगल गएकी थिइन्। गीताको जन्म घर बित्थडचिर गाउँपालिका हो। माइती स्रोतका अनुसार गीताले पुष्कर पार्कीसँग प्रेम भएको बताएपछि दुवै परिवारको मन्जुरीमा विवाह गरेकी थिइन्।

विवाहपछि गीताका श्रीमान् पुष्कर भारतको पिथौरागढतिर रोजगारीका लागि हिँडेका थिए। उनी त्यहाँ मजदुरी गरेर घरखर्च चलाउँदै आएका थिए। तर, उनी केही महिना पिथौरागढमा काम गरेर बेलाबखतमा घर फर्किने गर्थे। उनी घरमा आएर खेतीपाती लगाएर फेरि उतै जान्थे।

बलात्कारको सिकार

सुरुमा पुष्कर र गीताबीचको सम्बन्ध एकदमै राम्रो थियो। त्यसपछि उनका दुई छोराछोरी भए। पुष्करले भारतमा मजदुरी गर्दै आएका बेला श्रीमतीले घरमा छोराछोरीको पालनपोषण गर्थिन्।

घरबार राम्रै चलेको थियो। गत वर्ष (२०७८) साउन १९ मा पुष्कर घरमा नभएका बेला गीता जबर्जस्ती करणीको सिकार बनिन्। पुष्करका दाई गणेश पार्कीका अनुसार त्यो बेला गीताले गाउँकै स्थानीय झलक नेपालीले राति मदिराको तालमा घरमै घुसेर आफूमाथि अपराध गरेको बताएकी थिइन्।

त्यसपछि ती झलक नेपालीलाई गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका थिए। अहिले उनी पुर्पक्षका लागि बझाङ कारागारमा छन्।

श्रीमान् (पुष्करको) शंकालु नजर

बलात्कारको घटना भएपछि पुष्कर र गीताको सम्बन्धमा दरार आएको गीताका निकटस्थहरु बताउँछन्।

‘जबर्जस्ती करणीको घटनाले गीता तनावमा थिइन्,’ उनका एक छिमेकीले भने, ‘सुरुमा मिलीजुली बसिरहेको परिवारमा एकाएक त्यो घटनाले संकट ल्यायो। पुष्करले पनि गीताको चरित्रमाथि माथि औँला उठाएर आरोप लगाउन थाले। यही विषयलाई लिएर बेलाबेलामा उनीहरुबीच झगडा पनि हुन्थ्यो।’

तैपनि गीताले छोराछोरी पढाउँदै हुर्काइरहेकी थिइन्। तर, एक हप्ताअघि पिथौरागढबाट पुष्करले गीतालाई फोन गरे। फोन गर्दा मोबाइल व्यस्त भएपछि पुष्कर श्रीमतीसँग झर्किए।

यस विषयमा पुष्करले आफूले फोनमा बालबच्चा र घरको कामधन्दामा ध्यान दिन भनेको प्रहरीसमक्ष जिकिर गरेका छन्। ‘त्यसपछि पुष्कर गत मंगलबार घर फर्किएका थिए,’ प्रहरीले स्रोतले भन्यो, ‘पुष्कर आउँदा बाटोमा मदिरा पनि सेवन गरेर राति ढिलोगरी घर पुगेका रहेछन्। उनी घर पुगेपछि पनि गीतासँग चर्काचर्की नै परेको रहेछ।’ पुष्करले चरित्रमाथि प्रश्न उठाएपछि विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

विवाद भएपछि आफू खाना खाएर सुतेको र बिहान घरमा छोराछोरी र श्रीमती नदेखेपछि खोज्दै जाँदा मृत फेला पारेको पुष्करले प्रहरीलाई बताएका छन्। राति श्रीमतीसँग झगडा भएपछि खाना खाएर सुतेको बताएका पुष्करले बिहान मात्र श्रीमती र छोराछोरी घरबाट निस्केको थाहा पाएको दाबी गरेका छन्।

पोस्टमार्टम गरिँदै, प्रहरी अनुसन्धान जारी

प्रहरीले आज मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको जनाएको छ। ‘शव पोस्टमार्टमका लागि ल्याएका छौँ,’ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले भने, ‘मृत्युको कारण पोस्टमार्टमको रिपोर्टपछि खुल्छ। तर, घटनाको प्रकृति हेर्दा झुन्डिएर आत्महत्या गरेको जस्तो देखिएको छ। शरीरमा देखिने खाले कुनै घाउचोट पनि छैन। तर, पनि अनुसन्धान भइरहेको छ।’ यस घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.