|

दैलेख : तत्कालीन द्वन्द्वकाल। माओवादीले व्यवस्था परिवर्तनका लागि भन्दै चलाएको दशवर्षे जनयुद्ध। २०५२ सालबाट माओवादीले तत्कालीन राजतन्त्रसँग विभिन्न माग राख्दै शुरु गरेको दशवर्षे जनयुद्धमा धेरै नेपालीले ज्यानको आहुति दिए।

परिवर्तनका लागि भन्दै माओवादीले गरेको युद्धमा कोहीले अनाहकमा ज्यान गुमाउन पर्‍यो। माओवादीको चरम यातनाबाट अनाहकमा ज्यान गुमाउनेमा एक थिए दैलेखका पत्रकार डेकेन्द्रराज थापा। दैलेखको पत्रकारिता क्षेत्रमा जीवित प्रश्न हो तत्कालीन माओवादीद्वारा मारिएका पत्रकार थापाको न्यायको लडाइँ ?

साउन २७ गते (अर्थात्) आज माओवादीद्वारा अपहरणपछि वीभत्स हत्या गरिएका पत्रकार थापाको १८ औँ स्मृति दिवस। माओवादीबाट अनाहकमा पत्रकार थापा मारिए पनि न्याय प्राप्तिको लडाइँ भने करिब दुई दशकसम्म मरेको छैन।

पत्रकार थापाको हत्या भएको १८ वर्ष पुगेको छ। उनको परिवार र दैलेखका पत्रकारले करिब दुई दशकसम्म न्यायको लडाइ जारी राखेका छन्। दैलेख बजारको खानेपानी लाइन काटिएपछि वार्ताका माध्यमबाट समस्या समाधान गर्ने भन्दै यहाँको नौमूले पुगेका उनको तत्कालीन माओवादीले २०६१ असार १२ गते अपहरण गरी ४५ दिन बन्धक बनाई हत्या गरेको थियो।

माओवादी पक्षले भने सीआइडीको काम गरेको, जनसत्ताको अनुमतिबिना आधार क्षेत्रमा प्रवेश गरेको जस्ता आरोप लगाउँदै विज्ञप्तिमार्फत हत्याको जिम्मेवारी लिएको थियो। माओवादीले नौमूलेबाट अपहरण गरी ४५ दिन बन्दी बनाएर हत्या गरिएका पत्रकार थापाको शव नौमूलेको द्वारी जंगलमा गाडिएको अवस्थामा २०६१ साल साउन २७ गते फेला परेको थियो।

नेपाल पत्रकार महासंघको अनुरोधमा राष्ट्रिय मानवअधिकार आयोगको प्राविधिक सहयोगमा २०६५ असार ११ गते पत्रकार डेकेन्द्रराज थापाको चिहान उत्खननपछि शव पहिचान गरी परिवारलाई जिम्मा लगाइएको थियो।

उनकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते हत्यामा संलग्न भएका ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। किटानी जाहेरी पछि प्रहरीले वेला–वेला गरी पक्राउ गरेका ६ जनामध्ये ३ जनाले कैद सजाय भुक्तान गरिसकेका छन् भने अन्य ३ जना अहिले पनि कारागारमा छन्।

पहिलो चरणमा प्रहरीले अभियुक्तहरू पक्राउ गरेपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानले सार्वजनिक रूपमै हस्तक्षेप गरेका थिए। मुद्दाको अनुसन्धान तुरुन्त रोक्न प्रहरी र सरकारी वकिललाई आदेश दिएका थिए। 

मुख्य अभियुक्त फरार सूचीमा

जिल्ला अदालत दैलेखले पत्रकार थापाको हत्यामा संलग्न ९ जनालाई नै कानुनी दायरामा ल्याउन फैसला गरेको लामो समय बित्दासमेत सरकार पक्षले फरार व्यक्ति पक्राउ गर्न चासो नदिँदा हत्यामा संलग्न पुष्टि भएका मुख्य अभियुक्त अझै प्रहरीको फरार सूचीमा छन्।

पत्रकार थापाको तत्कालीन माओवादीले हत्या गरेको १८ वर्ष पुगेको भए पनि हत्यामा संलग्न मुख्य अभियुक्त सहित ३ जना अझै दैलेख प्रहरीको फरार सूचीमा छन्। दैलेख प्रहरीका अनुसार अदालतबाट २०-२० वर्ष सजाय तोकिएका २ जना सहित ३ जना फरार रहेका छन्।

थापाको हत्यामा मुख्य दोषी करार गर्दै जिल्ला अदालत दैलेखले २०-२० वर्ष कैद सजाय तोकिएका मुक्ति भन्ने बमबहादुर खड्का र केशव खड्का सहित अदालतले ३ वर्ष कैद सजाय तोकेका भक्तिराम लामिछाने फरार रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इन्स्पेक्टर नरेश विकले बताए।

प्रहरीका अनुसार फरार ३ जनाको खोजी भइरहेको छ। ‘हामीले फरार ३ नै जनाको खोजी कार्य तीव्र पारेका छौँ, वेला–वेला गरिएका अप्रेशनहरूले उनीहरूलाई पक्राउ गर्न सकिएन, सूचना संकलन गर्ने काम भइरहेकाले फरार अभियुक्तलाई छिटै समात्छौँ’, प्रहरी इन्स्पेक्टर विकले भने।

हामी अझै आन्दोलनमा छौँ

दैलेखका पत्रकारहरूले आफूहरू अझै आन्दोलनमा रहेको बताएका छन्। पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष यज्ञराज थापाले न्यायालयले गरेको फैसलासँग जोडिएका मुख्य अभियुक्त अहिलेसम्म फरारको सूचीमा हुनु स्थानीय प्रशासनको लाजमर्दो चरित्र भएको बताए।

व्यवस्था परिवर्तनसँगै शान्तिपूर्ण अवस्था आइसक्दा पनि न्यायालयले दण्डित गरेका मुख्य अभियुक्त पक्राउ नपर्नुको कारण सम्बन्धित निकायले प्रस्ट पार्न जरुरी रहेको थापाको भनाइ छ। ‘के कति कारणले पक्राउ गर्न नसकिएको हो भन्ने प्रश्न बारम्बार उठिरहेको छ, न पक्राउ गर्न सक्नु न जवाफ दिन सक्नु यो स्थानीय प्रशासनको लाचारीपन हो’, थापाले भने। 

उनले अहिले पनि दैलेखका पत्रकारहरूको निरन्तर माग थापाको हत्यामा संग्लनमध्येका मुख्य अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीमा लैजानुपर्ने रहेको छ। अन्यथा दैलेखका पत्रकार पुनः आन्दोलनको मोर्चामा होमिने बाध्य हुने अध्यक्ष थापाको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.