|

पाल्पा :  गाईजात्रा पर्व, शुक्रबार पाल्पामा मनाइएको छ। दिवंगत आफन्तको घरबाट गाईजात्रा निकालिएको छ। करुण रसका गीतहरू गाउँदै, गाई वा मानिसलाई गाईको रुपमा सिँगारेर आफन्त र शुभचिन्तकहरूको उल्लेख्य सहभागितामा जात्रा निकालिएको थियो। विभिन्न घरबाट निकालिएको गाईजात्राले तानसेन बजार परिक्रमा गरेको थियो।

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म यो पर्व मनाइन्छ।  ऐतिहासिक कथनअनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। तर, यसले पनि रानीको मन शान्त नभएपछि विभिन्न खालका व्यंग्यात्मक कार्यक्रम पनि गर्न आदेश दिएका थिए।

सोही आदेश अनुसार सुरु भएको गाईजात्रा अहिले पनि चलिआएको छ। गाईजात्राको दिन आज एक वर्षभित्र दिवंगत भएका आफ्ना आफन्तको सम्झनामा नाचगान तथा रामायणको करुण रसका गीतहरू गाउँदै, गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्नो नगर परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य अन्न र पैसा दान गरेका छन्।

जिल्लाको सदरमुकाम तानसेन सहित नेवार समुदायको वस्ती रहेको आर्यभञ्जयाङ्ग, हार्थोक, भुवपोखरी, रामपुर लगायतका ठाउँहरूमा गाईजात्रा निकालिएको छ। नेवारबाहेकका अन्य सदुमदायले पनि पछिल्लो समयमा दिवंगत आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.