जिल्लामा ३० दल भए दर्ता

|

धनगढी : कैलालीमा आगामी निर्वाचनमा भाग लिने गरि ३० राजनीतिक दल दर्ता भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले फेरि दल दर्ता गर्न भनेको छ। 

मंसिर ४ गतेको निर्वाचनका लागि आयोग तयारीमा रहेका बेला राजनीतिक दलहरू पनि निर्वाचनकेन्द्रित भएका छन्। उनीहरु सदस्यता नवीकरण, कमिटी विस्तार, कार्यकर्ता प्रशिक्षण, राजनीतिक भेटभाटमा व्यस्त भइसकेका छन्।

नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले नेता कार्यकर्तासँग भेटघाट थालेको बताए। उनले माथिल्लो तहबाट कुनै निर्देशन नआएको भए पनि जिल्लामा छलफल तथा सहकार्य थालिएको बताए। ‘निर्देशन छैन तर सबै साथीसँग हिँड्ने वातावरण बनाउने मेरो दायित्व हो‚’ उनले भने।

प्रतिनिधिसभा सदस्यका ५ र प्रदेशसभा सदस्यका १० निर्वाचन क्षेत्र रहेको कैलालीमा नेकपा एमाले सबैभन्दा ठूलो दल हो। निर्वाचन क्षेत्र नम्बर २, ३, ४ र ५ बाट विजयी प्रतिनिधिसभा सदस्य एमालेका छन्। एमालेका प्रदेशसभा सदस्यहरू भने २ जना मात्र छन्।

एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस, माओवादी केन्द्रलगायतका पार्टीले आगामी निर्वाचनमा गठबन्धन गरेमा एमालेलाई जिल्लामा साख जोगाउन मुस्किल हुने देखिएको छ।

नेकपा एमालेका कैलाली कार्यवाहक अध्यक्ष दुर्गा जोशीले एमाले जिल्लाको ठूलो रहेकाले चुनावका लागि तयारी थालेको बताए। ‘आफ्नो तयारी थालेका छौं। सबै पालिकामा कार्यक्रम गर्दैछौं’, उनले भने।

नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी पनि निर्वाचनकेन्द्रित कार्यक्रममा व्यस्त छन्। नेताहरू प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको खोजीसमेत गर्न थालेका छन्।

नेकपा एकीकृत समाजवादी कैलालीका अध्यक्ष भैरव रावलले सहमतिपछि मात्रै गठबन्धनको तयारीमा रहेको बताए।

स्थानीय तहको चुनावका बेला खुलेको नागरिक उन्मुक्ति पार्टीले कैलालीका पाँच ओटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। प्रतिनिधिसभाको ५ क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो उम्मेदवारलाई चुनावमा पठाउने भएको हो।

कैलालीमा प्रदेशसभामा पनि चुनावी मैदानमा उत्रिने योजना नागरिक उन्मुक्ति पार्टीको छ। प्रदेशका अन्य जिल्ला र प्रदेशबाहिर पनि उम्मेदवार उठाउने योजना रहेको उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.