|

पर्वत : नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा गत साउन २२ मा बसेको प्राधिकरण सञ्चालक समितिको ४०४ औँ बैठकबाट यो निर्णय भएको हो।

करिब २२ अर्ब रुपैयाँ लागतमा चिनिया कम्पनीले निर्माण थालेको विमानस्थलको झण्डै ९८ प्रतिशत काम पूरा भइसकेको र निर्माणको बाँकी काम पनि छिट्टै सक्ने र असोजभित्रमा ‘क्यालिब्रेसन’ उडान गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ। 

उडान आरम्भ गर्ने समय नजिकिँदै गर्दा पोखरा महानगरपालिकाको फोहोर फाल्ने गरिएको ‘ल्याण्डफिल्ड साइट’ ले प्रभाव पार्ने चिन्तामा महानगरवासीलाई छ। पोखरा महानगरपालिका–१४ बाछेबडुवामा विमानस्थलबाट झण्डै चार किलोमिटर टाढाको दूरीमा रहेको छ। २०६१ सालदेखि त्यहाँ फोहोर व्यवस्थापन हुँदै आएको छ।

विमानस्थलको काम सुरु भए यताबाट नै ल्याण्डफिल्ड साइट सार्नुपर्ने कुरा उठ्दै आए पनि यही कामको निर्णय अझैसम्म पनि हुन सकेको छैन। विमानस्थलबाट उडान सुरु हुने नजिकै रहेको ल्याण्डफिल्ड साइट नै विमानस्थलको प्रमुख चुनौतीको रूपमा हालसम्म देखिएको छ। 

‘ल्याण्डफिल साइट’को व्यवस्थापन हुनुपर्ने भन्दै विमानस्थल आयोजना र नागरिकले सरोकारवाला निकायहरूमा पटक–पटक दिएको दबाबले पनि कुनै काम गरेन, जसका कारण जहाज उडाउने मिति नजिकिँदै आउँदा पनि जहाजको उडान क्षेत्र पर्ने आकाशमा चराहरू उडिरहेका देखिन्छन्। अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको मिति नै तोकिसकिँदा पनि ल्याण्डफिल्ड साइटको व्यवस्थापन हुन नसक्दा तोकिएकै मितिमा उडान हुनेमा धेरैको शंका छ।

२०७३ सालको वैशाख १ गते शिलान्यास गरेपछि २०७४ असार २७ गते विमानस्थल निर्माण काम सुरु भएको थियो। २०७५ सालबाट नै आयोजनाले पोखरा महानगरपालिकालाई ल्याण्डफिल्ड साइट त्यहाँबाट सार्नुपर्ने भन्दै लगातार पत्राचार गर्दा पनि महानगरले त्यसको सुनुवाइ गरेन। 

दबाबमा महानगरप्रमुख धनराज आचार्य

२०७५ सालमा विमानस्थल आयोजनाले पोखरा महानगरपालिकालाई ताकेता गरेको भए पनि निवर्तमान नगरप्रमुख मानबहादुर जिसी यसको व्यवस्थापनमा असफल बने। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट नगरप्रमुख बनेका उनीसँग काम गर्नको लागि चार वर्षको समय थियो। 

निवर्तमान सरकारले ‘ल्याण्डफिल्ड साइट’ को व्यवस्थापनमा गरेको बेवास्ताका कारण वर्तमान नगरप्रमुख धनराज आचार्य निकै दबाबमा परेका छन्। प्राधिकरणले तोकेको उडान मिति आउन पाँच महिना बाँकी रहँदा फोहोरको डंगुर विमानस्थल नजिकै रहँदा यसले तोकिएको समयमा उडान हुन देला भन्नेमा पोखरेलीहरू विश्वास गर्दैनन्। आफ्नो नेतृत्वमा महानगर रहेको बेलामा उडानको मिति तोकिएका कारण ल्याण्डफिल्ड साइट व्यवस्थापनको दबाबमा नगरप्रमुख आचार्य परेका छन्। 

आयोजनाको लगातारको ताकेताका कारण एक वर्ष अगाडि पोखरा महानगरपालिका–१६ र २० को सिमानामा रहेको पस्मराङमा पोखराको फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको भए पनि स्थानीयवासीले पानीको मुहान रहेका कारण पस्मराङमा ल्याण्डफिल्ड साइट बनाउन नदिने भन्दै अवरोध गरेका थिए। विकल्पको रूपमा पोखरा महानगरपालिका–३३ मा रहेको टिमुरपाटामा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेकोमा त्यसैमा पनि विरोध उठेको छ।
बायोप्लान्टको खोजीमा पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले भने ल्याण्डफिल्ड साइटको आवश्यकता नै नपर्ने गरी फोहोरको व्यवस्थापन गर्न खोजिरहेको छ। त्यसका लागि ‘बायो ग्यास प्लान्ट’ जडान गरेर फोहोर व्यवस्थापनको दीर्घकालीन उपायका लागि खोजी भइरहेको नगरप्रमुख आचार्य बताउँछन्। 

हालै मात्र आचार्यको नेतृत्वमा सुनसरीको धरानमा रहेको भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा सञ्चालित बायो ग्यास प्लान्टको निरीक्षण गरेको छ। आचार्यसहित पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बराल, ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, सरसफाइ शाखा प्रमुख कल्पना बराल र इन्जिनियर नेत्र तिमिल्सिना सहभागी भएर ‘प्लान्ट’ को अवलोकन गरेका हुन्। निरीक्षणपश्चात् नगर प्रमुख आचार्यले फोहोर व्यवस्थापन गर्नु प्रमुख दायित्व भएकाले आफूहरू गम्भीर ढंगले लागेको बताए। 

धरान उपमहानगरपालिका–६ पानबारीमा प्रालिले ‘एनारोविक डिजेस्टेसन’ प्रविधिबाट ऊर्जा उत्पादन गरिरहेको छ। प्रा.लि.का अध्यक्ष जेनेस श्रेष्ठका अनुसार हाल दैनिक पाँच हजार सिलिण्डर सीएनजी ग्यास उत्पादन भइरहेको छ। त्यहाँ प्रांगारिक मल पनि उत्पादन हुने गरेको छ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, धरान उप–महानगर र भेञ्चर वेस्ट टु इनर्जी प्रा.ली बिचको सहकार्यमा सञ्चालित उद्योग फोहोरबाट चल्ने देशकै ठूलो र नमुना बायो ग्यास प्लान्टका रूपमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.