|

पर्वत : जिल्लाको फलेवास नगरपालिकाले नगर भित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीहरूलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ।
किशोरीहरूमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि यही साउन महिनादेखि हरेक विद्यालय वा समुदायमा पुगेर ‘आइरन’ र ‘फोलिक एसिड’ मिसिएको ‘क्याप्सुल’ खुवाउन थालिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रुद्र शर्मा सापकोटाले बताए।

नगरभित्र १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरूको सङ्ख्या यति नै छ भन्ने तथ्याङ्क नभएको भए पनि यो अभियानको पहिलो चरण पूरा हुने बेलामा सङ्ख्या यकिन हुने उनको भनाइ छ। पहिलो चरणमा साउनदेखि असोजसम्मका १३ हप्ता र दोस्रो चरणमा माघदेखि चैत सम्मका १३ हप्ता गरी एक किशोरीले एक वर्षमा कुल २६ वटा ‘क्याप्सुल’ खाने छन्। अधिकांश किशोरीहरू अध्ययनका लागि विद्यालयमा जाने भएका कारण अभियानले विद्यालयलाई केन्द्र मानेको भए पनि विद्यालय नगएका किशोरीहरू पनि समुदायमा हुन सक्ने भएकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा पनि पुगेर ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने छन्।

‘यो अभियान हरेक वर्ष हुने छ। १० देखि १९ वर्ष उमेर समूहमा पर्ने हरेक किशोरीले यो क्याप्सुल खाएको हुनुपर्छ। वडामा रहेका स्वास्थ्य संस्थाहरूमार्फत विद्यालयमा यो काम चलिरहेको छ’, स्वास्थ्य शाखा प्रमुख सापकोटा भन्छन्, ‘पहिलो र दोस्रो चरण दुवै चरणमा हरेक वर्ष खाने हो। यदि कसैको पहिलो चरणमा छुटेको भएमा दोस्रो चरणबाट भए पनि सुरु गरेको हुनुपर्छ। तर यसमा कोही पनि छुट्दैनन्।’

‘क्याप्सुल’ खुवाउनको लागि हरेक हप्ता स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू विद्यालयमा पुग्ने छन्। तर नगरभरि नै अभियान चलेका कारण स्वास्थ्यकर्मीको अभावमा भएमा विद्यार्थीको चाप केही कम रहेका विद्यालयहरूमा भने शिक्षकहरूलाई जिम्मेवारी दिएर ‘क्याप्सुल’ खुवाइने छ।
स्वादलाई मात्र हरेर खाइने ‘जङ्क फुड’ तथा आफूले दैनिक रूपमा खाने भोजनमा पनि सन्तुलन नमिलाएका कारण धेरै किशोरीहरूमा रक्तअल्पता र कुपोषणको समस्याहरू देखिँदै गएका विभिन्न अध्ययन प्रतिवेदनहरूमा उल्लेख छन्। किशोरीहरू नै कुपोषित हुँदा भविष्यमा उनीहरूले जन्माउने बच्चाहरू पनि कुपोषित हुने तथा कुपोषित बच्चाले पुनः कुपोषित बच्चा नै जन्माउने जोखिम उच्च रहने भएकाले कुपोषणको चक्र तोड्नका लागि अभियान थालिएको सापकोटाको भनाइ छ।

जिल्ला र प्रदेशबाट निःशुल्क रूपमा आउने ती ‘क्याप्सुल’ हरू खरिदका लागि बजेट शून्य हुने तर त्यसको व्यवस्थापन वा उपलब्धताको काम भने नगरपालिकाले नै गर्ने छ।
सात वटा स्थानीय तहहरू रहेको पर्वतका अन्य स्थानीय तहहरूले भने ‘क्याप्सुल’ खुवाउने अभियान चलाएको बारेमा जानकारीहरू बाहिर ल्याएका छैनन्। तर यसको प्रचारप्रसार समयमा नै गरेर सकेसम्म छिटो किशोरीहरू कुपोषणबाट बाहिर आउनुपर्छ भन्ने मान्यताका साथ अभियान चलेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल बताउँछन्।
‘हरेक दिन हरेक व्यक्ति कुपोषित अवस्थामा रहेको छ। त्यसमा पनि किशोरी कुपोषित हुनु भनेको अब जन्मिने बच्चा पनि कुपोषित हुने कुरा हो’, उनले भने, ‘समयमा नै अभियान चलाएमा तत्कालका लागि रक्तअल्पता र दीर्घकालीन रूपमा कुपोषणको समस्या हल हुन्छ। अभियान छिटो सुरु भएमा व्यक्ति छिटो सचेत हुने मौका पाउँछ।’

कुपोषणको पुस्तान्तरण नहोस् भनेर नै नगरपालिकाले प्रभावकारी रूपमा यो अभियान जारी राखेको उनको भनाइ छ। ‘क्याप्सुल’   लिएर जाने स्वास्थ्यकर्मीहरूले कुपोषणका कारण र यसका रोकथामका उपायहरूको बारेमा पनि सिकाएर फर्किने भएकाले   स्वास्थ्य शिक्षा प्रसारको काम पनि एकैसाथ भइरहेको पौडेलको भनाइ छ।

चिकित्सकहरूका अनुसार आजभोलिका खानामा अतिरिक्त पोषण तत्त्व थप गर्न थालिएको छ, जसलाई ‘फोर्टीफाइड’ गरिएको खाना भन्ने गरिएको छ। यस्तो खानामा फोलिक एसिडको मात्रा पर्याप्त हुने गर्दछ। ‘फोलिक एसिड’ ले गर्भमा रहेको शिशुमा हुने सक्ने विकारलाई कम गर्न समेत सहयोग गर्ने भएकाले चिकित्सकहरूले गर्भवती महिलाहरूलाई फोलिक एसिड सेवन गर्न सल्लाह दिँदै आएका छन्। यसले पुरुषमा शुक्रकीटको सङ्ख्या बढाउन तथा पाचन सम्बन्धी समस्याको समाधान, मिर्गौलाको र कलेजोको समस्यामा पनि महत्त्वपूर्ण भूमिका खेल्ने गरेको चिकित्सक बताउँछन्। तर भोक कम लाग्ने, वाकवाकी लाग्ने, अनिन्द्रा, अवसाद, चिन्ता तथा ग्यासको समस्या उत्पन्न गराउन सक्ने गुण ‘फोलिक एसिड’ मा हुने भएकाले यसको सेवनमा मात्रा मिलाइएको हुनुपर्ने भनिन्छ।

विशेष गरी, गाढा हरियो सागसब्जी, फल, विन्स, मसरुम, हरियो सागसब्जी, अण्डाको पहेँलो भाग, आलु, दूध, मासु कलेजो, कुरिलो, कुखुराको कलेजो, सुन्तला, दाल, फर्सीको बिउ, सूयमुखीको बिउ, तिल, लगायतका खाने कुरामा ‘फोलिक एसिड’ पाउन सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.