कोभिड र डेंगु बढेका वेला मंकिपक्सको जोखिम

|

काठमाडौं : गर्मी तथा वर्षा मौसम लागेसँगै नेपालमा रुघाखोकी, झाडापखाला जस्ता सरुवा रोग देखिनु नौलो होइन। तर यो वर्ष भने नेपालमा एकै पटक ठूला खालका सरुवा रोगको संक्रमणको जोखिम बढेको छ।

पछिल्लो समय नेपालमा कोभिड १९ संक्रमण पुन: बढेको छ भने डेंगु र मंकिपक्स भाइरस संक्रणको जोखिम समेत बढेको छ।

कोभिड र डेंगु संक्रमण एकै पटक बढ्दै

साउन लागेसँगै नेपालमा कोभिड संक्रमण तीव्र गतिमा बढेको छ। हाल कोभिड संक्रमणदर १२ प्रतिशतभन्दा माथि छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालषको विवरण हेर्दा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ।

अघिल्लो वर्ष फागुन २७ गतेदेखि मृत्यु शून्यमा झरेको थियो। साउन १ गतेदेखि मृत्युको शिलशिला दैनिक बढ्दो छ। यो अवधिमा दैनिक एकदेखि तीन जनासम्मको मृत्यु भइरहेको छ। गत बिहीबार त एकै दिन पाँच संक्रमितको मृत्यु भयो।

यसरी कोभिड संक्रमण बढेसँगै दैनिक मृत्यु हुने संक्रमितको संख्या बढिरहेको बेला देशभर अर्को सरुवा रोग डेंगुको संक्रमण पनि बढेको छ।

स्वास्थ्य मन्त्रालय,स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका अनुसार हाल देशका ६० जिल्लामा डेंगु संक्रमण देखिएको छ। त्यसमध्ये काठमाडौं,ललितपुर, संखुवासभा, रूपन्देही जिल्लामा अहिले तीव्ररूपमा डेंगु संक्रमण फैलिरहेको छ।

ईडीसीडीका अनुसार हालसम्म ललितपुरमा १७६, काठमाडौंमा ६२ रुपन्देहीमा १५६ र संखुवासभामा ६० वटा डेंगुका ‘केस’ भेटिएको छ। बागमती प्रदेशमा मात्रै हाल ४८५ जना डेंगुका बिरामी भेटिएका छन्।

किटजन्य रोग नियन्त्रण शाखा प्रमुख प्रमुख डा.गोकर्ण दाहालका अनुसार पछिल्लो विवरण अनुसार पुसयता ९०४ जना डेंगु संक्रमण देखिएको छ। यसमध्ये सबै भन्दा धेरै संक्रमण पछिल्ला दिनमा देखिएको डा.दाहालले बताए। ‘पछिल्ला दिनमा हामीलाई आएको रिपोर्टिङ अनुसार डेंगु संक्रमण बढ्दै गएको देखिन्छ’, उनले भने, ‘हालसम्म ९०४ वटा केस रिपोर्टिङ भएको छ।’

मंकिपक्सको जोखिम उस्तै

कोभिड र डेंगु संक्रमण तीव्र गतिमा बढिरहेको बेला हाल नेपालमा मंकिपक्स संक्रमण समेत जोखिम बढेको छ। 

मंकिपक्ससंक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले आपतकाल घोषणा गरिसकेको अवस्थामा नेपालसँग खुला सिमाना जोडिएको र दैनिक धेरै मानिसको आवतजावत हुने भारतमा मंकिपक्सका संक्रमित बढ्दै गएको अवस्थामा नेपालमा समेत जोखिम बढेको हो।

नेपालमा हालसम्म मंकिपक्सका चार सम्भावित बिरामी भेटिए पनि उनीहरूलाई संक्रमण पुष्टि भएको थिएन। यस्तै मंकिपक्स संक्रमण बढ्दै गएको अफ्रिका, युरोप, मध्यपूर्वी एशिया देशबाट पनि नेपालमा पर्यटक आउने भएकाले नेपालमा उच्च जोखिम रहेको विज्ञ बताउँछन्।

छायामा परेको उपत्यकाको हैजा 

गम्भीर खालको झाडापखालाको रूपमा लिइने हैजा पनि असार लागेसँगै काठमाडौं उपत्यकामा  देखिएको थियो। असारको पहिलो हप्ता बागबजार बस्दै आएका दिदीबहिनीलाई देखिएको हैजाबाट हालसम्म  ४६ जना संक्रमित भइसकेका छन्।

एक केसलाई पनि महामारीको रूपमा लिइने हैजा संक्रमणलाई पछिल्लो समय बढ्दो कोभिड संक्रमणले समेत छायामा पारेको छ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार काठमाडौंको बूढानीलकण्ठ, डिल्लीबजार, ककनी, टेकु एरिया, डल्लु,ताहाचल र ललिपुरको सानेपा हैजा संक्रमण देखिएको क्षेत्र हो।

काठमाडौं उपत्यका हैजा फैलिनुको मुख्य कारण दूषित पानी हो। पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो। पछिल्लो समय काठमाडौं खानेपानी लिमिटेडको सहकार्यमा काठमाडौंको विभिन्न स्थानबाट लिइएको ६२ वटा पानीको परीक्षणमा ४१ वटा पानीको नमुनामा इकोली जीवाणु भेटिएको छ।

 यस्तो बेला के गर्नुपर्छ?

एकै पटक विभिन्न प्रकृतिका सरुवारोगको जोखिम बढेका वेला जनस्वास्थ्यको मापदण्ड कडारूपमा पालना गर्नु पर्ने बताउँछन्, स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ चिकित्सक महेन्द्र श्रेष्ठ। उनका अनुसार सबैखालका सरुवारोगबाट बच्न जनस्वास्थ्यको मापदण्ड राम्रोसँग पालना गर्ने र खानेपानीमा विशेष ध्यान दिन सके जोखिम धेरै कम हुन्छ।

यसका लागि सरकारले संक्रमणको उच्च जोखिम भएको वेला कस्तो खालको नियम पालना गर्ने र सामान्य अवस्थामा के गर्ने भनेर जानकारी दिनुपर्ने उनको भनाइ छ। ‘कोभिड बढिरहेको वेला धेरै संख्यामा मानिस भेला भएर कार्यक्रम गरिरहेका छन्’, श्रेष्ठ भन्छन्, ‘मास्क पनि एक छिन लगाउने एकछिन खोल्ने गरेको देखिन्छ। यसरी धेरै जोखिम हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.