|

इरानीहरूले उपन्यासकार सलमान रुस्दीमाथि भएको आक्रमणको मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले आक्रमणको प्रशंसा गरेका छन् भने केहीले चिन्ता व्यक्त गरेका छन्। इरान सरकार भने मौन रहेको छ।

'म सलमान रुस्दीलाई चिन्दिन, तर इस्लामको अपमान गरेपछि उनीमाथि हमला भएको सुन्न पाउँदा खुसी छु', रेजा अमिरीले भनेकी छन्।

उनको पुस्तक ‘सटानिक भर्सेस’ ले इस्लामलाई कलंकित गरेको अमिरी बताउँछिन्। इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले उनको मृत्युका निम्ति आह्वान गरेको दशकौं पुरानो फतवाको लक्ष्यलाई आक्रमणकारीले अनुसरण गरेकामा उनी हर्षित छन्।

भूगोल शिक्षक महशिद बारती भने रूस्दीमाथि भएको आक्रमणबाट चिन्तित छन्। विश्व समुदायबाट इरानलाई एक्लो पार्न लेखकमाथि आक्रमण भएको उनी ठान्छन्। रूस्दी आक्रमणले पश्चिमा देशहरूको प्रतिबन्ध खेपिरहेको इरानलाई रूस र चीनबाट पनि टाढा पार्नसक्ने उनलाई लाग्छ।

 इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासहितका देशले तेहरानमाथि जारी राखेको प्रतिबन्धतर्फ संकेत गर्दै बारतीले त्यसो भनेका हुन्। सन् १९८० को इरान–इराक युद्धले देशको अर्थतन्त्रलाई ध्वस्त पारेपछि आफ्नो जीवनको उत्तराद्र्धतिर स्वास्थ्य जटिलता झेलेका खोमेनीले सन् १९८९ मा रूस्दीमाथि फतवा जारी गरेका थिए।

सटानिक भर्सेसलाई लिएर मुस्लिम संसारमा हिंसात्मक हङ्गामा भएपछि उनीमाथि मृत्युदण्डको फतवा जारी भएको थियो। उक्त उपन्यासले पैगम्बर मोहम्मदको निन्दा गरेको उनीहरूको निष्कर्ष थियो। लेखक रूस्दीमाथि अमेरिकाको पश्चिमी न्युयोर्कमा शुक्रबार आयोजित एक प्रवचन कार्यक्रममा आक्रमण भएको हो।

आक्रमणकारीले उनको घाँटी र पेटमा चक्कुले प्रहार गरेको थियो। प्रवचनका लागि मञ्चमा जान लागेका ७५ वर्षीय रूस्दीमाथि २४ वर्षीय हादी माटरले आक्रमण गरेका हुन्। उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर सुरक्षाकर्मीले अनुसन्धान थालेका छन्। आक्रमणको कारण स्पट नभएको उनीहरूले बताएका छन्।

आक्रमणपछि तत्काल हेलिकप्टरबाट अस्पताल पुर्‍याइएका रूस्दीको भेन्टिलेटरमा राखेर उपाचार भइरहेको छ। कलेजो र पाखुराको नशा काटिएका उनले एउटा आँखाको ज्योति गुमाउन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्। आक्रमणकारी १० देखि १५ पटकसम्म चक्कु प्रहार गरेको थियो। घाउ गम्भीर भए पनि त्यो निको हुनसक्ने प्रकृतिको भएको चिकित्सकले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.