|

रुकुम (पूर्व) : रुकुमपूर्वमा दुई डिएसपी सवार रहेको प्रहरीको भ्यान दुर्घटना भएको छ। आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगङ्गा गाउँपालिका जाने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ११ सेरामा दुई डीएसपी सवार रहेको प्रहरीको भ्यान दुर्घटना भएको हो। 

भ्यानमा ६ जना सवार मध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटना भएको छ। गम्भीर घाइते हुनेमा भ्यान चालक प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी, रुकुमपूर्व सशस्त्र प्रहरीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र श्रेष्ठ र प्रहरी जवान इन्द्र घर्ती सामान्य घाइते रहेको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए।

उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिए। एकजना प्रहरी जवानको मृत्यु भएको भन्ने कुरा बाहिर आएकोमा त्यसको पुष्टि भइ नसकेको सुनुवारको भनाइ रहेको छ।

अनुगमन तथा नियमित कामको शिलशिलामा बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली तकसेरा तर्फ गएको थियो। गन्तव्यमा पुग्न केही मिनेटको दूरीमा उक्त दुर्घटना भएको हो। दुर्घटना पछि उक्त भ्यान सडक भन्दा झण्डै सय मिटर तल पुगेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.