|

हेटौँडा : पढ्ने र सिक्ने समयलाई उमेर, पद र कुनै अवस्थाले छेक्दैन भन्ने कुरा मकवानपुरका एक वडाध्यक्षले पुष्टि गरेका छन्।

जिल्लाको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५१ वर्षको उमेरमा ३१ वर्षपछि पुनः औपचारिक शिक्षामा फर्किंदै उक्त कुरा पुष्टि गरेका हुन्।

वि.सं. २०४८ सालमा बारा कलैयाको सिद्देश्वर संस्कृत विद्यालयबाट द्वितीय श्रेणीमा एसएलसी पास गरेका खनाल ३१ वर्षपछि कक्षा ११ मा भर्ना भएका हुन्। खनाल आफ्नै मनहरीको १ नम्बर वडास्थित बाल जीवन ज्योति विद्यालयको कक्षा ११ मा नयाँ शैक्षिक सत्रको लागि पहिलो विद्यार्थीको रुपमा भर्ना भएका छन्।

३१ वर्षअघि एसएलसी पास भएपछि पारिवारिक र आर्थिक समस्याको कारण उच्च शिक्षा हासिल गर्न नपाएका उनी आफ्नो अध्ययनलाई अहिले निरन्तरता दिन पाएकोमा खुशी रहेको बताउँछन्। उनले आफ्ना दुवै छोराहरूले कक्षा १२ पास गरेर प्राविधिक शिक्षा अध्ययन गरिरहेको बताउँदै आफू पनि १२ कक्षासम्म पढ्ने बताए।

‘प्लस टु पास गर्ने ईच्छा छ। शिक्षा संकाय लिएर कक्षा ११ मा भर्खर भर्ना भएको छु। पढाइको नतिजा कस्तो आउँछ। त्याे नतिजा अनुसार अघि बढ्नेछु’, उनले भने। खनाल २०७४ साल र २०७९ सालमा क्रमशः भएको पहिलो र दोस्रो दुवै स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

आफ्नै वडाको विद्यालयमा उच्च शिक्षा अन्तर्गत कक्षा ११ संचालन हुने भएपछि एसईई पछि हेटौँडा बजार आएर पढ्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाई छ।

वि.सं. २०१९ सालमा स्थापना भएको बाल ज्योति माविमा पहिलो पटक उच्च शिक्षा अन्तर्गत कक्षा ११ मा शिक्षा र व्यवस्थापन संकाय पढाई हुन लागेको विद्यालयका प्रधानाध्यापक एकराज गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.