|

जुम्ला : जाजरकोट जिल्ला कुशे गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि जुम्लामा करणी भयो। बालिकालाई चन्दननाथ नपा–७ निवासी प्रेमजंग (प्रेम राजा) महतले एक महिनासम्म पटक पटक करणी गरेका थिए। महतले ती बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने भनी छोरी बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमा लगिएको थियो।

आमाले दोस्रो बिहे गरेकाले उनी आमासँगै जुम्ला आएकी हुन्। आमाले बजारमा दोकान गरी बस्न थालेपछि उनी आमासँगै जुम्ला बजार आएकी थिइन्। बालिकाकी आमा र आमाकी बहिनी नाता पर्ने ईश्वरी आरसीसँगको कुराकानीपछि बालिकालाई चन्दनाथ नपा–७ निवासी प्रेमजंग महतले छोरी बनाएर पालनपोषण गर्ने भनेर लगेका थिए।

पीडित बालिकाका अनुसार महतले एक महिनासम्म पटक पटक करणी गरे। महतले करणी गरेको कुरा अरूसँग नभन्न र सबैका अगाडि बाबा भन्ने राति आफूलाई श्रीमान् स्विकार्न दवाब दिँदै आएको बुझिएको छ।

छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने गरेपछि पीडा सहन नसकेर उनले मुसाको विष खाएको बताउँछिन्। विष खाएपछि बान्ता भएको र उनलाई तिनै महतले साबुनपानी खुवाएका थिए। त्यसको केही समयपछि महतले नै बालिकाकी आमालाई छोरी बिरामी भएको बताएका थिए।

उनकी आमाले उपचारका लागि घरमा ल्याएकी थिइन्। आमा भन्छिन्, ‘छोरीले धेरै बान्ता गर्दा शंका लागी सोध्दा महतले करणी गर्ने गरेको र कुनै उपाय नदेखेर विष खान बाध्य भएको छोरीले बताई।’  

आमालाई पैसाको प्रलोभनमा पारेर मिलापत्र 
बालिकामाथि करणी भएको भन्ने थाहा भए पनि सबै रमिते बनेका छन्। प्रहरी र प्रशासनलाई उजुरी चाहिन्छ। यता ती बालिकाकी आमालाई पैसाको प्रलोभनमा पारी मिलापत्रको कागज बनिसकेको छ। ती बालिकालाई करणी गर्ने जुम्लाका ठूला ठेकेदार हुन्। स्कुल जाने वातावरण नभएपछि बालिका मामाघर गइसकिन्।

मिलापत्रमा संलग्न व्यक्तिहरू 
महतका दाजु सामुदायिक प्रहरी केन्द्रमा कार्यरत छन्। एकजना अधिवक्ता, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, होटल व्यवसायी एक महिला लगायतका व्यक्तिको रोहवरमा सात लाखमा मिलापत्र गरिएको छ। मिलापत्रमा करणी सम्बन्धी कतै उल्लेख छैन। मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ।  

बालिकाले बान्ता गर्दा गर्भवती भएको हल्ला  
जुम्लामा बालिकालाई करणी गर्ने ४८ वर्षका महतबाट गर्भधारण नहुने पीडित बालिकाकी आमा बताउँछिन्। उनले स्थायी बन्ध्याकरण गरेका रहेछन्। बालिका गर्भवती छैन। मर्नका लागि मुसाको विष खाँदा बान्ता भएको रहेछ। स्वास्थ्यमा असर परेकाले शरीर सुनिएको जस्तो भएको छ। 

 सात लाखमा ६ लाख दिइयो एक लाख बाँडीचुँडी 
१३ वर्षीया बालिका करण गर्ने महतबाट मिलापत्रका लागि सात लाख रकम दिइएको एक कागजमा उल्लेख छ। बालिकाकी आमा भन्छिन्, ‘एक लाख उनीहरूले नै बाँडेर लिए। एकजनाले १५ हजार र अरू सबैजनाले दश दश हजार गरी लिएका हुन्। पैसा लिनेमा चन्दननाथ नपा–५ का कालीबहादुर भण्डारी र जीवन महत, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गापा–८ का ईश्वरी आरसी, कागज बनाउन सहयोग गर्ने अधिवक्ता दिलबहादुर महत र चन्दनाथ–७ का महेन्द्रबहादुर महत छन्। पीडितका अनुसार जीवन महतले १५ हजार लिएको र अरू सबैले कुरा मिलाएको भन्दै दश÷दश हजार लिएका हुन्। 

बाँकी ६ लाख रुपैयाँ पीडित बालिकाको जुम्लामा रहेको माछेपुच्छ्रे बैंकको खातामा राखिएको बताइएको छ। यो कागज होटलमा बनाइएको लेखिए पनि महतका दाजु महेन्द्रबहादुर महतको बसपार्कमा रहेको घरमा बनाइएको बालिकाकी आमाको दाबी छ। 

यस्तो भन्छिन् बालिकाकी शिक्षिका 

पीडित बालिका चन्दननाथ नमुना माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्थिन्। सोही विद्यालयकी शिक्षिका बवी केसी भन्छिन्, ‘ती बालिका सुरुमा स्कुल आउँदा पढाइमा जागरुक थिइन्। केही समयपछि भने उनी विद्यालय आउँदा टोलाएर बस्ने गरेको देखेँ। मैले चासो दिएर सोधेँ। उनी बेस्सरी रुन थालिन्।’

त्यो देखेपछि आफू समेत भक्कानिएको बताइन्। सोध्दै जाँदा बालिकाले आफूमाथि करणी भएको बताइन्। त्यसपछि विद्यालयमा अभिभावक भेला बोलाएर यो विषयमा छलफल भयो। ‘बालिकाकी आमा समेत आइन्। उनलाई मैले नराम्ररी झपारेँ’, शिक्षक केसीले भनिन्। शिक्षक केसीले बालिकाकी आमालाई कानुनी रूपमा जान सुझाएकी थिइन्। तर उनी पैसामा मिलापत्र गरेको खबर सुन्न आएको छ।’ बालिकामाथि करणी भएको कुरा उनको शरीर र अनुहारले बताएको छ। शिक्षक केसीका अनुसार बालिकाकी आमाले बहिनी नाता पर्ने ईश्वरीले छोरीलाई राम्रो हुने भनेर पठाउन लगाएको बताइन्। 

करणी सम्बन्धी कसुर र सजाय

२०७५ साल भदौ १ गतेदेखि भने मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता अलग–अलग कार्यान्वयनमा आएको छ र अलग प्रकृतिका कसुर यी कानुनले अलग–अलग हेर्ने गर्दछ। अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसुर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख छ। जसको दफा २१९ मा जबरजस्ती करणी गर्न नहुने उल्लेख छ। त्यसरी कानुनले नगर्न भनिएको कुरा गरेमा कुन–कुन अवस्थामा के–कति दण्ड–सजाय हुने भन्ने प्रष्ट गरिएको छ।

दफा २१९ को उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ। मुलुकी अपराध संहिता, २०७४ परिच्छेद– १८ करणी सम्बन्धी कसुर यस्तो व्यवस्था गरेको छ।


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.