|

काठमाडौं : काठमाडौंका विभिन्न ठाउँमा थुप्रिएका फोहरका १५२ वटा गाडी आज बञ्चरेडाँडा पुगेका छन्। 

कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडी फोहर बोकेर बञ्चरेडाँडा पुग्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जानकारी दिए। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘काठमाडौँ महानगरका ७५ गाडी र त्यति नै मात्रामा अरू पालिकाबाट पनि फोहर उत्सर्जन हुने भएकाले दैनिक १५० गाडी फोहर व्यवस्थापन हुनुपर्छ। यसैले नियमित अवस्थामा पुग्न केही समय लाग्नेछ। यसमा सबैको सहकार्यको आवश्यकता छ।’

फोहर व्यवस्थापनका लागि अवरोध नगर्ने स्थानीय, फोहोर संकलन तथा लैजान सफाइ कर्मचारी तथा चालकहरू तथा अवरोध खुलाउन क्रियाशील सुरक्षाकर्मी तथा सम्बद्ध सबैलाई मेयर बालेनले धन्यवादसमेत दिएका छन्।

‘सँगसँगै हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरवस्था बञ्चरेमा दोहोर्‍याउने छैनौँ। थुप्रिएका फोहरको व्यवस्थापन नभई अन्य विकल्पमा जानु व्यवहारिकरूपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइरहेका हौँ’, उनले थप लेखेका छन्, ‘फोहरको दीर्घकालीन व्यवस्थापनका लागि योजना छन् र हदैसम्म प्रयास गरिनेछ। हाम्रो अन्तिम लक्ष्य फोहरको त्यस्तो व्यवस्थापन हो, जहाँ कोही पनि फोहरले आक्रान्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुनेछ।’


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.