|

काठमाडौं: वैदेशिक रोजगार विभागले तीन करोड ६६ लाख २२ हजार ८०० रुपैयाँ असुल गर्न माग गर्दै दुई म्यानपावर कम्पनीविरुद्ध मुद्दा हालेको छ। 

विभागमा दर्ता भएका मेरिगोल्ड ओभरसिज प्रालि र अल अरेबिया ओभरसिज प्रालिका सञ्चालकबाट रकम भराउन माग गरिएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार यी म्यानपावर कम्पनीले विभिन्न देशमा आकर्षक तलव सुविधाको प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट शुल्क लिएको तर वैदेशिक रोजगारीमा नपठाएको पाइएपछि मुद्दा दर्ता गरिएको हो। 

मेरिगोल्डले युक्रेन लगायतका देशमा पठाउने भन्दै ३८ जनाबाट एक करोड ८६ लाख १५ हजार २०० रुपैयाँ बुझेको पाइएको विभागले जनाएको छ। पीडितहरूबाट ठगी गरेको रकम र त्यसको ५० प्रतिशतले हुन आउने रकम क्षतिपूर्ति दिलाउन पनि विभागले माग गरेको छ। 

त्यस्तै, अल अरेबियाले पनि पोल्याण्ड तथा चेक रिपब्लिक मुलुकमा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग ठगी गरेको भन्दै क्षतिपूर्तिसहित ८७ लाख रुपैँया मागदाबी गरेको छ। 

गत साता मात्रै वैदेशिक रोजगार न्यायाधिकरणमा दुइ मुद्दा दायर गरेको विभागले अर्को म्यानपावर कम्पनी अल ताउक्वेत ओभरभिज प्रालिको पनि कागजात बरामद गरी अनुसन्धान थालेको छ।

सो कम्पनीले कतार प्रहरीमा पठाउने भनी अन्तवार्ताको समेत मिति तोकेर विभिन्न व्यक्तिहरुसँग १५ लाख रुपैयाँसम्म उठाएको सूचना बाहिरिएपछि विभागले आकस्मिक अनुगमन गरी कागजात बरामद गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.