|

लक्ष्मण  गाम्नागे

वर्षौंवर्षदेखि हामीले बाटो हेर्‍याैँ,
सफा गर्नुहोला देशको फोहोर भनेर
पालैपालो नेता पनि फेर्‍याैँ
फेर्नुहोला देशको अनुहार भनेर 

फेर्नुभएन देश,
बरु आफ्नै सत्र पुस्ताको जिन्दगी फेर्नुभयो
फिर्नुभएन हामीतिर, 
बरु सधैं परचक्रीहरूका पाउमा गिर्नुभयो 

हाम्रो भरोसा, हाम्रो समय सत्यानाश भएछ 
वास्तवमा उहाँहरू त गोबरका रास हुनुहुँदो रहेछ 
भित्र गोबर, बाहिर गोबर
सर्वाङ्ग गोबर
गोबरको थुप्रो, गोबरको शालिक
हामीले वर्षौंदेखि गोबरहरूलाई नमस्कार गरेछौँ
गोबरका थासहरूमा मलजल भरेछौं । 

ल हेर्नोस्, 
गोबरका शालिकहरू सिंहदरबारको आँगनमै गोबर गर्दै हुनुहुन्छ 
पालैपालो गोबरले भुँडी भर्दै हुनुहुन्छ 
उहाँहरूले नगोब्र्‍याएको कुनै ठाउँ भेट्नुहुन्न तपाईँले
उहाँहरूले दुर्गन्ध नफैलाएको कुनै गाउँ देख्नुहुन्न तपाईँले

सरकार, अदालत र मन्त्रालयमा गोबर
संसद, कार्यालय र देवालयमा गोबर
आँगन, सिकुवा र पिँढीमा गोबर
बार्दली, बुइँगल र सिँढीमा गोबर
भान्सा, बैठक र कोठामा गोबर
ओछ्यान, गलैंचा र चोटामा गोबर 

उहाँहरूलाई लाज लाग्दैन यसरी गोब्र्‍याउँदै हिँड्न 
किनभने उहाँहरूले अनुहारमा 
मखुण्डोमाथि मखुण्डो भिर्नुभएको छ 
गोबरकै नालामा, गोबरकै ढलमा छिर्नुभएको छ  

प्रष्टै छ, उहाँहरू गोबरप्रिय हुनुहुन्छ
गोबर खेल्न र खेलाउन सक्रिय हुनुहुन्छ
आफ्ना प्रियपात्रहरूलाई गोबर गराउनु उहाँहरूको सोख हो
गोबर उहाँहरूको तिर्खा हो, उहाँहरूको भोक हो
उहाँहरू कसैका काँधमा बसेर छोरीहरूले गोबर गर्छन्
कसैका टाउकामा चढेर छोराहरूले गोबर गर्छन्
कसैका पिठ्यूँमा अडिएर ज्वाइँ, बुहारी वा सम्धीहरूले गोबर गर्छन्
कसैका काँधमा ढेसिएर चम्चे र हुक्केहरूले गोबर गर्छन् ।

आफन्तहरूले गरेको गोबर उहाँहरूलाई गनाउँदैन, 
गोबरहरूलाई गोबर गनाउने कुरै भएन, बरु वास आउँछ 
उहाँहरूलाई घीन लाग्दैन आफ्नाहरूको गोबर, 
बरु खास लाग्छ ।

उहाँहरूको टाउकोमा गोबर बसेको छ
निधारले गोबरकै टीको घसेको छ
आँखा गोबरले छोपिएको छ
कान र नाकमा पनि गोबर नै कोचिएको छ
उहाँहरूको वाद र सिद्धान्त गोबरमा बगेको छ
शरम र नैतिकता गोबरले नै लगेको छ
उहाँहरू गोबरकै पोखरीमा पौडिनुहुन्छ
दिनरात गोबरकै पछि पछि दौडिनुहुन्छ ।

गोबरहरू गोबरलाई ‘तँ प्रतिगामी गोबर’ भनेर झपार्नुहुन्छ
गोबरहरू गोबरलाई ‘तँ अधोगामी गोबर’ भनेर हपार्नु हुन्छ
कुनै खैंराते गोबर, कुनै काला गोबर
कुनै सुकेका गोबर, कुनै आला गोबर 

झट्ट हेर्दा गोबरहरूको रङ्ग फरक तर गन्ध उस्तै 
जात फरक तर कुहिने ढङ्ग उस्तै ।

उहाँहरू देशका मात्रै होइन 
विदेशका गोबरपार्टीमा पनि हाजिर जनाउनुहुन्छ
उता गएर पनि उसैगरी गनाउनुहुन्छ 
होटल होस् कि एम्बेसी 
बेइजिङ होस् कि दिल्ली 
गोबरपार्टीको निम्ता आउनासाथ टाउकाले टेकेर जानुहुन्छ
तपाईँले सोध्नै परेन, उहाँहरूले त्यहाँ गएर के खानुहुन्छ

गोबरहरू राष्ट्रिय झण्डा हल्लाउँदै सभामा आउनुहुन्छ 
गोबरहरू प्रमुख अतिथि बनेर मञ्चमा खुट्टा हल्लाउनुहुन्छ 
गोबरहरू टाउकै छोपिने गरी मालामा छिर्नुहुन्छ 
गोबरहरू नाकको टुटी नै टालिने गरी खादा भिर्नुहुन्छ 
घुम्ने मेचमाथि गोबरहरू नै घुम्नुहुन्छ 
गोबरले मातेर गोबरहरू कुर्सीमै झुम्नुहुन्छ

गोबरहरू आफ्नै प्रशंसामा अभिनन्दन ग्रन्थ लेखाउनुहुन्छ
चोक चौबाटोमा नाङ्गै नौटङ्की देखाउनुहुन्छ 
हामी गोबरगणेशहरूलाई पटकपटक जालमा फसाउनुहुन्छ
गोबरहरू सिंहदरबारका भित्तामा तस्वीर टँसाउनुहुन्छ 
गोबरहरू पिर्कामाथि थास लागेर सलामी खानुहुन्छ 
गोबरहरू आफ्नै सिद्धान्त र आचरणको मलामी जानुहुन्छ ।

लौ भन्नुहोस्, गोबरहरूका गोबरगणेश मतदाताहरू, 
यो भन्दा बढी यिनीहरूलाई भन्ने कुनै ठाउँ छ ?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.