|

बैतडी : बैतडीमा बजार अनुगमन शुरु भएको छ। ​सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन हुन सकेको थिएन।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त रुपमा प्रत्येक महिना गरिने अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म अनुगमन भएको थिएन। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठपछि भएको थिएन।

चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो थियो।

अनुगमनका क्रममा पहिलो दिन २३ हजार १५ रूपैयाँ बराबरका म्यान नाघेको सामग्री नष्ट गरिएको र जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। पहिलो दिन दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र खोचलेक बजारमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा ८ पसललाई कारवाही गरिएको र उक्त कारवाहीबाट ६५ हजार रूपैयाँ जरिवाना असुल गरिएको छ। उनले भने, ‘कालोबजारी गर्ने, गुणस्तरीय सामान बिक्रीवितरण गर्ने, लेबल नभएका, म्यान नाघेका सामान बिक्री गर्ने व्यापारीलाई जरिवाना गरेका हौं। सामान जफत गर्दै नष्टसमेत गरेका छौं।’

उपभोक्ताको खाद्य अधिकारलाई सुनिश्चित गर्न र कालोबजारी रोक्न नियमित रुपमा बजार अनुगमन गर्नुपर्नेमा दोगडाकेदार-३ श्रीकोटका हेमराज गिरीको जोड छ। उनले भने, ‘नियमित बजार अनुगमन नहुँदा कालोबजारी बढ्ने, उपभोक्ता ठगिने हुन्छ, नियमित रुपमा अनुगमन गरिनुपर्छ। अनुगमन औपचारिकताका लागि नभइ प्रभावकारी रुपमा गर्न जरुरी छ।’

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले अब नियमित बजार अनुगमन  गर्ने बताए। उनले भने, ‘हामीले बजार अनुगमन प्रत्येक महिना गर्ने योजना बनाएका छौं। अबदेखि नियमित हुन्छ।’

बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन् भनेर तथा कालोबजारी र महँगी नियन्त्रण गर्न बजार अनुगमन गरिन्छ। अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन्।

अनुगमनले उपभोक्तालाई आफ्नो अधिकारबारे जागरुक गराउँछ भने व्यापारीलाई पनि मिति हेरेर सामान बेच्न प्रेरित गर्छ। समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुने विश्वास गरिन्छ।

गत वर्ष बजार अनुगमनबाट ४६ हजार ६ सय ८७ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको थियो। अनुगमनमा ३३ व्यवसायीमाथि कारवाही गरिएको थियो। उक्त कारवाहीबाट २ लाख ४५ हजार जरिवाना असुल भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.