‘गुणस्तरीय शिक्षासँगै खेल्ने अवसर मिलाइदेऊ’

|

काठमाडौं : सरकारले शिक्षाको नाममा बर्सेनी ठूलो रकम छुट्याउँछ। राज्यकोषबाट खर्च भएअनुसार सामुदायिक विद्यालयमा भौतिक संरचना सबल देखिनुपर्ने हो, विद्यालयले आधारभूत सुविधा पाउनुपर्ने हो।

तर विडम्बना। बजेट सदुपयोग हुन नसक्दा मुलुकका अधिकांश सामुदायिक विद्यालय अस्तव्यस्त छन्। यसै कारण सामुदायिक विद्यालयमा न गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवस्था छ न त आधारभूत सेवा नै पाउने स्थिति नै। मापदण्डभित्र रहेर विद्यालय सञ्चालन नहुँदा भर्ना संख्या घट्दै गएको सरकारी तथ्यांकले देखाएको छl

काठमाडौंको अत्यन्त व्यस्त मध्य बानेश्वरमा छ, रत्नराज्य माध्यमिक विद्यालय। त्यही विद्यालयको प्रांगणमा बाणेश्वर महादेवको मन्दिर छ। मन्दिरमा आउने भक्तजन र घुम्न आउने सर्वसाधारणका कारण विद्यार्थी पढ्न सक्दैनन्।

‘मन्दिरमा भक्तजनले घण्टी बजाको बजाकै गर्छन्’, एक छात्रा विद्यार्थी भन्छिन्,‘मन्दिरमा दर्शन गर्ने मात्र होइन अरु पनि आएर हल्ला गरेर बस्छन्। हल्लाले राम्रोसँग पढ्नै सक्दैनौँ।’

विद्यालय सञ्चालन मापदण्ड 

काठमाडौं महानगरपालिकाले पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका,२०७३ को बुँदा (११) मा विद्यालयको न्यूनतम मापदण्ड तोकिएको छ।

रत्नराज्य माविको प्रांगणमा राखिएका अव्यवस्थित पार्किङ र संरचना

निर्देशिकामा खुला इनार, पोखरी, भीर, खोला, फोहोर संकलन केन्द्र, बसपार्क, ध्वनि प्रदूषण उद्योगधन्दा, हवाइ मैदानबाट ५०० मिटर बाहिर हुनुपर्ने मापदण्ड छ।त्यस्तै निर्देशिकाको ‘घ’ मा विद्यालय भवन आसपासमा पेट्रोल पम्प, मुख्य सडक, ट्राफिक जोखिम नभएको स्थानमा हुनुपर्छ। प्रशस्त विद्यार्थी खेल्ने ठाउँ,व्यवस्थित शौचालय, पुस्तकालय,दक्ष शिक्षक लगायतलाई आधारभूत मापदण्ड तोकिएको छ। 

यी मापदण्ड पूर्वप्राथमिक तहमात्र नभई विद्यालय तहमा पनि लागू हुने काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी बताउँछन्। ‘सुरक्षित र शान्त वातावरणमा विद्यालय सञ्चालन गर्नुपर्छ‘,उनी भन्छन्,‘सडक,खोला छेउछाउमा सञ्चालन गर्न पाइँदैन। पर्याप्त खेल्ने ठाउँ हुनुपर्छ। यी सबै आधारभूत मापदण्ड हुन्।’

रत्नराज्य विद्यालयको सन्दर्भमा थोरै रहेको विद्यालयको खुला ठाउँमा विद्यार्थीले खेल्न दिनुको साटो पार्किङ स्थल बनाइएको छ।

रत्नराज्य मावि

‘भलिबल,फुटबल,ब्याडमिन्टन खेल्ने त रहर छ तर खेल्ने ठाउँ नै छैन’,त्यहीँ अध्ययनरत अर्का विद्यार्थी भन्छन्, ‘वातावरण मिलेको भए हामी खेलमा प्रगति गर्न सक्थ्यौँ।’ 

सोमबार मात्रै भीडभाड हुन्छ : प्रअ यादव

रत्नराज्य माविका प्रधानाध्यापक रामाशिष यादवले भने सोमबारका दिन मात्रै बढी भीडभाड हुने जानकारी दिए। ‘अरु बेला हल्ला हुँदैन,’उनले भने,‘सोमबार भने मन्दिरमा दर्शन गर्न आउनेको भीड बढी हुन्छ। धार्मिकस्थलमा  केही भन्न पनि नमिल्ने।’

उनका अनुसार शिशु कक्षादेखि कक्षा १२ सम्म विद्यालयमा करिब दुई हजार ४०० विद्यार्थी अध्ययनरत छन्। त्यही खेल्ने वातावरण नमिले पनि फुटसलमा लगेर वेला–वेला विद्यार्थीलाई सहभागी गराउने गरेको उनको भनाइ छ।

रत्नराज्यमात्र होइन,  गोकर्णेश्वर नगरपालिका वडा-९ आरुबारीस्थित अरुणोदय माध्यमिक विद्यालयको हालत पनि त्यस्तै छ। यो विद्यालय चुच्चेपाटी–गोकर्ण सडकसँगै टाँसिएको छ।

अरुणोदय मावि

सडकमा गुडेका सवारीसाधनको कोलाहलले पठनपाठनमा असर पुगेको छ। विद्यार्थी खेल्ने ठाउँ छैन। काठमाडौं उपत्यकाभित्रका अधिकांश सामुदायिक विद्यालय यस्तै अवस्थामा गुज्रिएका छन्। यसमा सरकारको ध्यान पुगेको छैन।

‘सुरक्षित र गुणस्तरीय शिक्षा चाहिन्छ’

शिक्षाविद् प्राडा सुरेशराज शर्मा विद्यार्थीहरूका लागि सुरक्षित र गुणस्तरीय शिक्षा चाहिने बताउँछन्। उनी भन्छन्,‘विद्यालय ज्ञान आर्जन गर्ने थलो हो। त्यसैले यो होहल्ला नहुने र शान्त वातावरण हुनुपर्छ।’ 

अभिभावक निजी विद्यालयमा जसरी  आकर्षित भएका छन्, त्यसरी नै सामुदायिकमा पनि आकर्षित गराउन विद्यालय संरचना निर्माण,  गुणस्तरीय शिक्षा र आवश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्ने उनले बताए। 

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी पनि मापदण्डअनुसार मात्रै विद्यालय सञ्चालन गर्नुपर्ने बताउँछन्। यी मापदण्डविपरीत विद्यालय सञ्चालन गर्दा विद्यार्थीमा मनोवैज्ञानिक असर पुग्ने उनको भनाइ छ। यस्ता विद्यालय तत्काल व्यवस्थित गरेर मात्र सञ्चालन गर्नुपर्ने उनी सुझाउँछन्।

‘स्कुल लायक हुन अन्तर्राष्ट्रिय मान्यता, मापदण्ड हुन्छ। योग्य शिक्षक,आवास, फर्निचर,खेल्ने वातावरण लगायत आधारभूत सेवासुविधा आवश्यक छ,’उनले भने।

पद्मोदय मावि

निजी भन्दा पनि बढी सामुदायिक विद्यालयका भवन संरचना नाजुक रहेको, शौचालयमा पानी नभएको, छात्राहरूका लागि प्याड फेर्ने सुरक्षित ठाउँ नभएको जस्ता समस्या पाएको उनले बताए। 

यसो भन्छ शिक्षा विभाग

काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख सुवेदी आफूहरूले पनि यस विषयमा अनुगमन गरिरहेको र विद्यालय व्यवस्थापन समितिले पनि अनुगमन गर्नुपर्ने कर्तव्य रहेको बताए।

‘स्थानीय तहले सरकारी तथा निजी विद्यालयको सुधार, व्यवस्थापन र अनुगमन गर्ने जिम्मा पाएको छ,हामीले पनि अनुगमन गर्दै आएका छौँ,सामुदायिक विद्यालयमा पनि विद्यालय व्यवस्थापन समिति छ,उनीहरुले पनि हेर्नुपर्छ।’

उनले जग्गा अभावले अपेक्षित विद्यालयको थप संरचना बनाउन नसकिएको बताए। आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार देशभर २६ हजार ४५४ सरकारी विद्यालय छन्। महानगरपालिकाभित्र भने ८९ वटा सामुदायिक विद्यालय छ्न्। 

यी हुन सुविधासम्पन्न विद्यालय

काठमाडौं महानगरपालिका वडा-६ बौद्ध महांकालस्थित जनकल्याण माध्यमिक विद्यालय, प्रदर्शनीमार्ग स्थित पद्मोदय माध्यमिक विद्यालयलगायत केहीले राम्रै वातावरणमा पढाइरहेका छन्।

जनकल्याणमा राम्रो सुविधा र शिक्षा पाएकै कारण विद्यार्थीहरुको चाप बढेको छ। पद्मोदय माविका प्रधानाध्यापक  नारायणप्रसाद गौतमका अनुसार आठ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा करिब ६०० विद्यार्थी अध्ययनरत छन्।

कक्षा ११ मा नयाँ भर्ना हुने भएकाले अझै विद्यार्थी संख्या बढ्ने उनले बताए। उनले विद्यालय संरचना आकर्षसँगै गुणस्तरीय शिक्षा प्रदान गरे सामुदायिक विद्यालय पनि अब्बल बन्ने बताए।

‘हामी राम्रो वातावरणमा पढाउछौँ। शौचालयको राम्रो व्यवस्था छ। अब विद्यार्थी खेल्ने थप संरचना बन्दै छ।विद्यालयमा राजनीति नभई शिक्षकले पनि पढाउनुपर्छ’, उनले भने, ‘त्यसैले त नमुना विद्यालयमा परेको छ।’

विद्यालयलाई गुणसतरीय बनाउने पहिलो जिम्मेवारी प्रधानाध्यापककै हुने उनले बताए।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.