|

धनकुटा : देशका कतिपय ठाउँमा विद्यालय भवन नहुँदा विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य छन्। तर, धनकुटामा भने निर्माण भएका भवनसमेत प्रयोगमा आउन सकेको छैन।

विद्यालयको पठनपाठनका लागि सहज होस भन्ने उद्देश्यले गोकुण्डेश्वर मावि धनकुटाको सल्लेरी वन नजिक निर्माण गरिएकोे भवन प्रयोगविहीन भएको हो।

भूकम्प पुनर्निर्माण प्राधिकरणले लाखौँ रुपैयाँ खर्चिएर निर्माण गरेको भवन प्रयोगविहीन भएको हो। कोशी राजमार्गसँगै जोडिएको गोकुण्डेश्वर माविमा ध्वनि प्रदूषणका कारण पढाइमा समस्या भइरहँदा सुनसान ठाउँमा बनेको भवन प्रयोगविहीन भएको छ।

उक्त भवन नेपाल सरकारको ६८ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको हो। भवन बनेको लामो समय भएपनि प्रयोग नभएको स्थानीय ज्ञानबहादुर थापाले बताए। उनले भवन निर्माण भएको लामो समय भएपनि प्रयोग भएको नदेखेको बताए।

२०७२ सालको भूकम्पपछि निर्माण भएकाे ४ कोठे भएको पक्की भवन दुई वर्षसम्म प्रयोग नहुँदा त्यत्तिकै पुरानो बन्न थालेको छ। भवन बनेको ठाउँमा रहेको सरस्वती प्रावि केही वर्षअघि गोकुण्डेश्वर माविमा गाभिएपछि पढाइ सहज बनाउन भवन निर्माण गरिएको हो।

गोकुण्डेश्वर माविको पढाइ सहज बनाउन भवन निर्माण गरिए पनि प्रयोगमा आउन सकेको छैन। अझ भन्नुपर्दा निर्माण भइसकेको भवनको उद्घाटनसमेत हुन सकेको छैन।

भवन उद्घाटनको अनुकूलता नभएर, बाटोको समस्या तथा शौचालयको अभावका कारण भवन प्रयोगमा समस्या भएको विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले बताए। चापागाईंले कोशी राजमार्गमा जोडिएर रहेको भवनका कारण ध्वनि प्रदूषणका कारण सुनसान ठाउँमा भवन बनाएको उनको भनाइ छ।

अघिल्लो वर्ष कोभिड र विभिन्न विदाका कारण भवन उद्घाटन गर्न नसकिएको चापागाईंले बताए। सबै कक्षा नयाँ भवन बनेको ठाउँमा सञ्चालन गर्न नसकिने र दुईतिर कक्षा सञ्चालनका लागि पनि समस्या भएको उनकाे भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.