|

ललितपुर : दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्णधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

यसअघि राखेपमा सहायक प्रशिक्षक रहेका श्रेष्ठलाई केही दिनअघि सदस्य सचिवस्तरीय निर्णय गर्दै सो जिम्मेवारी दिइएको हो। उनलाई सो जिम्मेवारीमा पनि समान श्रेणी, पद र सुविधा कायम रहने छ।

राखेपमा आइतबार एक कार्यक्रमबीच राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन वि.क.ले श्रेष्ठलाई सफल कार्यकालको शुभकामनासहित नयाँ जिम्मेवारीको पत्र हस्तान्तरण गरे।

आठौँ र नवौँ सागका स्वर्ण पदक विजेता श्रेष्ठ निर्णय भएका मितिले तालिम तथा प्रशिक्षण विभागमा रही कामकाज गर्ने पत्र प्रदान गरिएको छ। कराँतेका मुख्य प्रशिक्षक हीरासिंह डंगोल विदामा रहेकाले उनको जिम्मेवारी पनि श्रेष्ठलाई दिइएको हो।

ललितपुर चापागाउँका स्थायी वासिन्दासमेत रहेका श्रेष्ठ २०५४ सालमा सहायक प्रशिक्षकको रुपमा करारमा परिषद्को सेवामा प्रवेश गरेका थिए। २०६१ सालमा सहायक प्रशिक्षकमा स्थायी भएका उनी ललितपुर जिल्ला खेलकुद विकास समितिमा आवद्ध छन्।

उनले महालक्ष्मी डोजो लगनखेलमा राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन्।

सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी पाउँदा कराँतेमा कुनै पनि अन्तरराष्ट्रिय प्रतियोगितामा लगातार २ स्वर्ण पाउने इतिहास रचेका श्रेष्ठले आफूलाई खुशी लागेको र चुनौती पनि थपिएको बताए।

'नवौँ राष्ट्रिय खेलकुद नजिकिइरहँदा यसमा गरिनुपर्ने व्यवस्थापकीय जिम्मेवारी पनि छ’, उनले भने, ‘प्रशिक्षकको मात्र जिम्मेवारी निर्वाह गरेको मलाई अब त्यसमा व्यवस्थापकीय जिम्मेवारी पनि थपिएको छ। कराँतेलाई थप व्यवस्थित बनाउने मेरो प्रयास हरदम हुनेछ।'

राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका उनले सन् १९९९ मा काठमाडौंमै भएको आठौँ साग र सन् २००४ मा पाकिस्तानमा भएको नवौँ सागमा स्वर्ण पदक जितेका थिए।

त्यसपछि दशौँ सागमा खेलाडी भएर सहभागिता जनाएपछि उनले निरन्तर प्रशिक्षण मात्र दिइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.