|

म्याग्दी : बेनी नगरपालिका २ बगरफाँटको दुधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बनेको छ।

सदरमुकाम बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिममापर्ने नयाँ पर्यटकीय गन्तव्य यो झरनामा आन्तरिक पर्यटकको चहलपहल बढेको हो। 

स्थानीय बासिन्दाले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा खासगरी शनिवार तथा विदाको दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। दैनिक झण्डै १ सयको हाराहारीमा पर्यटक आउने स्थानीय बताउँछन् ।

विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा पछिल्लोपटक गतवर्ष र अघिल्लो वर्ष कोरोना भाइरसका कारण जारी निषेधाज्ञाको बीचमा घुम्नेको संख्या बढेको थियो। बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आनन्द महसुस गरेको रचना रिजालले अनुभव सुनाइन्।

कोप्रे झरना हिउँदमा केही सानो भए पनि बर्खामा ठूलो हुन्छ। कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकले ‘वर्षे झरना’ नामकरण गरेका छन्। 
घाम लागेको समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई खुब लोभ्याउँछ।

पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटक बताउँछन्। कोप्र झरनामा कतिपय टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन् ।

अहिले कोप्रे झरनामा म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्ली लगायतका क्षेत्रबाट प्रायः पर्यटकहरु भ्रमणमा निस्कन्छन् । झरनामा गर्मी छल्न तथा त्यहाँ पुगेर मोबाइलमा सेल्फी र भिडियो खिचेर रमाउन पाइने हुँदा खासगरी युवायुवती र केटाकेटी धेरै जाने गर्छन्।  

कोप्रे झरनालाई पर्यटकीय गन्तव्यको स्थलका रूपमा विकास गर्नका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.