|

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले चालु शैक्षिक सत्र अन्तर्गत भदौको ७ देखि १० गतेसम्म विद्यालय तहको प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्नुपर्ने भनी कार्य पात्रो सार्वजनिक गरिसकेको छ। नगरपालिकाको शिक्षा शाखाको योजना अनुसार नगरभित्रका विद्यालयहरू पनि दिनमा दुई विषयका दरले ४ दिनमा नै प्रथम त्रैमासिक परीक्षा सकाउने तयारीमा जुटी सकेका छन्।

परीक्षा मुखैमा आइपुग्दा पनि केही विद्यार्थीहरूले भने अझै पनि पुस्तकहरू पाउन सकेका छैनन्। गत जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गरिएको थियो। तर त्यसको ३ महिनासम्म पनि आवश्यक पाठ्यपुस्तकको छपाई नहुँदा विद्यार्थीहरू समस्यामा परेका छन्।

‘शिक्षकले त पाठ्यक्रम हेरेर त्यसैको आधारमा शिक्षण गर्न सक्नुहुन्छ। पहिले नै तयार पारेर राखिएका शैक्षिक सामग्रीहरू पनि हुने भएकाले कक्षाकोठामा गरिने क्रियाकलापको लागि समस्या नहोला। तर विद्यार्थीले घरमा गर्ने अभ्यासको लागि त समस्या हुन्छ’, सदरमुकाम समेत रहेको कुश्मा बजारस्थित नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पोखरेल भन्छन्, ‘यो राज्य शैक्षिक क्षेत्रप्रति कति जिम्मेवार छ भन्ने कुरा यसैबाट प्रस्ट हुन्छ। शिक्षा पहिलो केन्द्रबिन्दु राखिने अन्तर्राष्ट्रिय अभ्यास छ, तर हाम्रोमा समय मिलेमा मात्रै शिक्षालाई ध्यान दिइएको जस्तो भयो। परीक्षा सुरु हुने बेलासम्म पनि पाठ्यपुस्तक नआउनुलाई के भनेर बुझ्ने?’

देशभर नै किताबको अभाव भइरहेको बेलामा पर्वतका बिक्रेताहरूले भने विद्यालयलाई प्रतिनिधि पुस्तक उपलब्ध गराएर पठनपाठनमा सहजीकरण गरेका थिए। सबै विद्यालयको हातमा पुस्तक नपुग्ने अवस्था आएपछि हरेक कक्षाका लागि हरेक विषयका केही थान मात्रै पुस्तक दिएर एउटै पुस्तकलाई समूहमा रहेर अध्ययन गर्नुपर्ने अवस्था थियो। बिस्तारै आपूर्ति बढे पनि कक्षा ६ को अंग्रेजी तथा कक्षा ८ र ९ को नेपाली अझै पनि अभाव रहेका छन्।

जिल्लाका धेरै विद्यालयमा पाठ्यपुस्तक वितरण गर्दै आएका जय दुर्गा स्टेशनरी कुश्माका सञ्चालक गणेश पौडेलले आफ्नो पसलबाट वितरण हुनुपर्नेमध्ये सबैभन्दा बढी कक्षा ९ को नेपाली झण्डै ४ सय थान अपुग रहेको बताए। त्यस बाहेक कक्षाको ६ को अंग्रेजी र ८ को नेपाली पनि कतिपय विद्यालयमा नपुगेको उनको भनाई छ। यस वर्ष कक्षा ११ र १२ को सामाजिक अध्ययन विषयको पाठ्यपुस्तक समेत नआएका कारण ती पाठ्यपुस्तकको अभाव हुन थालेको पौडेल बताउँछन्।

‘६, ८ र ९ को किताब खोज्न म आफै काठमाडौँ जाने तयारीमा छु। यहाँबाट प्रेसमा फोन गरेर सोधेको छाप्नका लागि पेपर नै नभएका कारण पाठ्यपुस्तकको अभाव भएको कुरा आयो। कक्षा ११ र १२ को सामाजिकको पनि किताब आएका छैनन्’, उनले भने, ‘म जस्तै पुस्तक वितरण गर्ने वितरकहरू अरू पनि हुनुहुन्छ। उहाँहरूले पनि आफूले वितरण गर्ने विद्यालयमा दिन बाँकी रहेका होलान्। आवश्यक सबै किताब आपूर्ति गर्न पहिले पनि काठमाडौँ गएर खटेको हुँ, तर किताब नै नछापिएपछि कसरी ल्याउनु?’

कक्षा ११ र १२ का लागि गत वर्ष ल्याएका केही पुस्तकहरू ‘स्टक’ मा रहेकाले तिनै पुस्तकहरू विक्री गर्ने योजनामा पुस्तक व्यवसायीहरू छन्।

पर्वतको दक्षिणी क्षेत्रमा स्याङ्जाको वालिङ तथा पर्वतकै महाशीला र हुवासबाट, उत्तरी क्षेत्रमा म्याग्दीबाट, कुनै क्षेत्रमा सिधै पोखराबाट पनि पुस्तकहरू विक्री हुने गरेका छन्। ती स्थानहरूको पनि बिक्री विवरण लिने हो भने धेरै पुस्तकहरू अभाव नै रहेको तथ्यांक आउँछ।
कुश्मा नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले पुस्तक छपाइको काम केन्द्रबाट नै हुने भएकोले पाठ्यपुस्तक अभावको कुरामा स्थानीय तहको भूमिका नहुने बताए। बरु इन्टरनेटमा उपलब्ध रहेका शैक्षिक सामग्री, पाठ्यक्रम, लगायतका सामग्रीहरू खोजेर विद्यार्थीलाई सहजीकरण गर्न नगरपालिकाले विद्यालयहरूलाई पटक पटक भनिरहेको उनको भनाई छ।

परीक्षाको मुखैमा पनि आफूहरूले पुस्तक नपाउँदा परीक्षासँग नै डर लागेको विद्यार्थीहरू बताउँछन्। शिक्षकले पाठ्यक्रमको आधारमा कक्षा शिक्षण गरेर पाठ्यक्रमलाई अगाडि बढाए पनि स्वअध्ययन गरेर आफ्नै तरिकाले पाठलाई बुझ्ने अवसर प्राप्त नहुँदा अध्ययनमा कमजोर बन्न सक्ने जोखिममा आफूहरू रहेको विद्यार्थी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.