‘अहिले नै प्रधानमन्त्रीको कुरा नसोध्नुस्‚ सबै कुरा बिग्रिन्छ’

|
फाइल तस्वीर

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्न नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन्।

आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्नेसम्बन्धी नियम, कानूनबारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुगेका सदस्य गौतमले यस्तो बताएका हुन्।

उनले भने, ‘हामी गोलाकारभित्र हँसिया हतौडा चुनाव चिह्न लिएर चुनावमा जाने भन्ने प्रचण्ड र मेरो बीचमा सहमति भयो‚ समझदारी बन्यो। त्यसअनुसार जाँदा कानूनी प्रक्रिया के छन्, भोलि गाह्रो पर्ने हो कि, सजिलो हुन्छ कि, कसरी मिल्नसक्छ भन्ने सन्दर्भमा कानून विभागका प्रमुखसँग सल्लाह गर्न आएको हुँ।’ 

उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए। हँसिया हतौडाको पछाडि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको दाबी गरे।

उनले भने, ‘म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु। त्यसो भएर जित्नको लागि म यसमा आएको छु। जित्ने आधार भनेको गठबन्धन हो। हँसिया हतौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टीभन्दा अघि छ।’

उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको बताए। सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र रहने दाबी गरे। 

उनले भने, ‘माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर गएपनि म स्वतन्त्र हो, त्यसरी मैले भूमिका निर्वाह गर्छु सदनमा। प्रत्यक्षमा उम्मेदवार दिनुभन्दा पहिले मैले राष्ट्रियसभा सदस्यको पद छोड्नुपर्छ। छोडेर राजीनामा स्वीकृत भएको व्यक्ति भएर आफैँ प्रमाण बनेर उम्मेदवार दिन जानुपर्छ।’

उनले इमान्दारीसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिरसमेत गरे। उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तर पनि गठबन्धन अगाडि नै रहने दाबी गरे।

‘मैले भन्दा धेरै मान्छे रिसाउन सक्छन्, एमाले नेताहरू सबै रिसाउन सक्छन्। इमान्दारीसाथ गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ म देख्दिनँ। तर यहाँभित्रै छिद्र पैदा हुने र अन्तर्घात गर्ने, विद्रोही उठ्ने जस्ता गतिविधि भए भने त्यसबाट अरुलाई फाइदा पुग्छ। त्यो फाइदा पुग्दा पनि गठबन्धन धेरै अघि हुन्छ।

निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे। केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको खुलासा गरेका थिए।

‘यो चुनावसम्मको मात्रै गठबन्धन हो, सरकार बनाउने सन्दर्भमा फेरि अर्को गठबन्धन शुरु हुन्छ‚’ उनले भने‚ ‘प्रधानमन्त्रीको कुरै नसोध्नुस्, भन्ने बित्तिकै मेरो सबै बिग्रिन्छ।’

राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहनुभएका गौतमले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताए।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार बिहान बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिह्न दिने सहमति गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.