‘अब तारबार लगाएर सुरक्षित बनाउँछौँ’

|

काठमाडौं : काठमाडौं उपत्यकाभित्रको पर्यटकीय ठाउँमध्ये एक हो सुन्दरीजल। गोकर्णेश्वर नगरपालिका वडा-१ मा पर्ने त्यस ठाउँ झरना, मन्दिर, खोला, ड्यामलगायतले आकर्षक र पर्यटकीय ठाउँ मानिन्छ।

शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने रमणीय सुन्दरीजलमा रमाउन आन्तरिक तथा वाह्य पर्यटक जान्छन्। शनिबार अझ बढी घुइँचो हुने ठाउँ हो सुन्दरीजल। तर पछिल्लो समय उक्त ठाउँ असुरक्षित बन्दै गएको छ।

गत साउन ७ गते साथीसहित घुम्न गएका कपनका शुभमश्री प्रधान सुन्दरीजलमै खसेपछि बेपत्ता भए। कपनका १५ वर्षीय प्रधानको प्रहरीले खोजी गर्दा आइतबार मृत अवस्थामा फेला पारेको थियो। प्रहरीका अनुसार घुमफिर र फोटो खिच्ने क्रम चल्दै थियो।

प्रधान चिप्ला ठूला ढुंगा छिचोलेर छङछङ उर्लिएको पानीको मनमोहक दृश्य कैद गर्न ढुङ्गामा चढेका पुगेका वेला उनी चिप्लिएर पानीमा खसेका थिए। 

सन्देश कार्कीको उद्धार गर्दै प्रहरी

त्यस्तै, साउन २८ गते साथीहरूसँग सुन्दरीजल घुम्न गएका २७ वर्षीय सन्देश कार्की बागमतीमा खसे। प्रहरी प्रभाग सुन्दरीजलबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरि खोजी गरेर उनको भने जीवितै उद्धार भयो।

प्रहरीका अनुसार सामाखुशीबाट ५ जनाको संख्यामा साथीसहित घुम्न सुन्दरीजल गएका थिए उनी। कार्कीले नदीमा पौडी खेलौँ भन्दा अन्य साथीले मानेनन्। तर उनी भने नदीमा पौडी खेल्न हाम्फालेका थिए। उनलाई बागमतीले बगायाे।

यसरी असुरक्षित बन्दै छ सुन्दरीजल

सुन्दरीजलमा यी दुई मात्र नभएर यसअघि पनि यस्ता धेरै घट्ना भइसकेका छन्। केही व्यक्तिको जीवितै उद्धार भएको छ भने कोही मृत अवस्थामा भेटिएका छन्। पर्यटक सुन्दरीजल जान रुचाउँछन् तर सरकारले भने यसको व्यवस्थापन गरि सुरक्षित बनाउन कुनै पहल गरेको देखिँदैन।

स्थानीयहरू भने सुन्दरीजल सुरक्षित नबनाइएकाले वर्षेनी यस्ता दुर्घटना हुँदै आएको बताउँछन्। सरकारले पर्यटकीय ठाउँ व्यवस्थित नबनाउँदा पर्यटकहरूले अकालमै ज्यान गुमाइरहेको उनीहरूको भनाइ छ। तर प्रहरी प्रभाग सुन्दरीजलले भने पर्यटकको लापरबाहीले यस्ता घटना हुने गरेको बताएको छ।

‘खोला छ, ठुल्ठूला ढुंगा छन्, चिप्लो छ तर पनि पर्यटक फोटो खिच्न जान्छन्। टिकटक बनाउन ती ढुंगामाथि चढ्छन्, त्यही भएर घटना भएका हुन्। हामीले ज्यान जोखिममा पारेर भिडियो/फोटो नखिच्न भने पनि मान्दैनन्,’ एक प्रहरीले भने।

ती प्रहरीले सुन्दरीजलमा त्यस्ता घटना हुन नदिन बारलगायत सुरक्षित संरचना बनाए पनि तिनलाई नाघेर भिडियो बनाउने गरेको बताए। ‘शनिबारको दिन त झण्डै दिनमा १० हजार पर्यटक आउँछन्। कोही मापसे गरेर आएर पौडी खेल्छन,’ उनले भने, ‘वर्षातको समयमा ठूलो पानी, बाढी आउँछ त्यसैले बगाउँछ।’

उद्धारपछि प्रहरीसँग सन्देश 

उनका अनुसार अहिले दैनिक प्रहरी खटिएका छन्। तर फोटो, टिकटक बनाउन बन्देज लगाइएको छ। तैपनि लुकीछिपी फोटो र भिडियो खिच्न तम्सिने गरेको ती प्रहरी बताउँछन्।

सुन्दरीजलको धार्मिक महत्व

काठमाडौं जिल्लाको उत्तरपूर्वमा अवस्थित पर्यटकीय हिसाबले सुन्दरीजलको महत्व त छ नै यसको धार्मिक महत्व पनि छ। सुन्दरीजल प्रवेश गर्ने प्रमुख नाका सुन्दरीजल बसपार्कबाट मात्र केही मिटरको दूरीमा कृष्ण मन्दिर र गणेश मन्दिर छन्। सुन्दरीमाई मन्दिर छ।

हिन्दु नेपालीहरूको चाड दशैँको ९ दिनसम्म नै यस मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ। सुन्दरीजलमा हरेक वर्ष साउन महिनाको प्रत्येक सोमबार बोल बम मेला मनाइने गर्छ।

हिन्दु धर्मावलम्बीहरूको आस्थाका प्रतीक भगवान शिवको उपासना गरिने यस मेलामा हजारौँ संख्यामा हिन्दु धर्मावलम्बीको सहभागिता हुने गर्छ। विशेष गरी नेपालको तराई क्षेत्रबाट लाखौँका संख्यामा हिन्दु धर्मावलम्बी सुन्दरीजलमा मेला भर्न आउने गर्छन्।

यस मेलामा सुन्दरीमाई मन्दिर क्षेत्रबाट लोटामा जल भरी नाङ्गै खुट्टा पैदल नै पशुपति मन्दिर परिसरसम्मको यात्रा गरी जल चढाइन्छ। प्रत्येक वर्ष दशहरा पर्वमा दशहरा स्नानका लागि पनि यहाँको नदीमा हिन्दु धर्मावलम्बीहरूको ठूलो घुइँचो लाग्ने गर्छ।

सुन्दरीजलमा विशेषगरी खोटे/रानी सल्लो, चिलाउने, उत्तिस, काफल आदिको रुखलगायत १२ सय ५० प्रजातिका वनस्पति पाइन्छन्‚ जसमध्ये ५० प्रजाति रैथाने वनस्पति रहेको बताइन्छ। 

अब तारबार लगाउँछौँ : उपप्रमुख

नगरपालिकाका उपप्रमुख सान्नानी लामाले अब सुन्दरीजल वरिपरी तारबार लगाएर सुरक्षित बनाउने बताइन्।

सुन्दरीजलकाे झरना

‘सुन्दरीजल खुला ठाउँ भयो, पर्यटकहरू फोटो खिच्ने धेरै भए। फेरि ठुल्ठूला ढुंगा धेरै छन्, तिनै ढुंगामा चिप्लेर धेरै घटना हुने गरेको छ। अस्तिको त्यो घटनाबाट तार, बार, जाली लगाएर सुरक्षित बनाउने भनेका छौँ,’ उनले भनिन्। 

पर्यटकीय गन्तव्यमा बदलिएको सुन्दरीजलको संरक्षण र व्यवस्थापनमा नगरपालिका लागि परेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.