|

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधवार)बाट जाँच गर्ने भएको छ।

मंगलवार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरूको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो। सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरूको भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानुन बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्ने कुराको परीक्षण शुरु हुने बताए।

उनले सबै कुरा जाँचेर दलहरूलाई दर्ताका लागि आयोगमा पेश गर्ने काम शुरु हुने बताए। उनले आयोगले निर्णय गरेपछि, कानुनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरू दर्ता हुने बताए।

प्रवक्ता पौडेलले संयुक्त निर्वाचन चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गरे पनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने बताए।

उनले चुनावमा कुनै एउटा चिह्नबाट प्रतिस्पर्धा गरे पनि निर्वाचनपछि चुनाव चिह्न लिएको दलको भन्दा अर्को पार्टीले बढी सिट ल्याएमा बढी सिट ल्याएको पार्टीको नाममा संसदीय दल गठन हुने जानकारी दिए। उनले पार्टीमा सदस्य फरक फरक भए पनि संसदीय दल भने एउटै रहने बताए। उनले संसदीय दलको ह्वीप नमाने त्यसमा सदस्यता नरहनेसम्मको कानुनी व्यवस्था रहेको उल्लेख गरे।

पौडेलले भने, ‘एउटै चिह्न भए पनि बेग्लाबेग्लै दलको रूपमा र बेग्लाबेग्लै दलको हैसियतले चुनाव लड्नुहुन्छ। निर्वाचनपछि सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुन्छ। त्यो संसदीय दलको ह्वीप नमाने सदस्यता नरहनेसम्मको कानुनी व्यवस्था छ।’

प्रवक्ता पौडेलले मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको बताए। उनले निर्वाचन आयोगले अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू पनि आह्वान गर्न लागेको बताए। निर्वाचनका लागि चाहिने सामग्रीको टेण्डर र बजेटबारे पनि छलफल भइसकेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.