|

दाङ : जिल्लामा क्षयरोगका बिरामीहरू बढ्दै गएका छन्। आर्थिक वर्ष २०७८/७९ मा मात्रै १ हजार ४४३ जनामा क्षयरोग संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा करिब १२ सय जनामा क्षयरोग देखिएको थियो। आर्थिक वर्ष २०७७/७८ मा कोरोना सङ्क्रमणका कारण क्षयरोगका बिरामीको संख्या शून्य थियो।

अहिले जिल्लामा क्षयरोगको जाँच बढाएकाले पनि बिरामीको संख्या बढी देखिएको स्वास्थ्य कार्यालय दाङका क्षयकुष्ट रोग अधिकृत डम्बर बहादुर कुँवरले बताए।

उनका अनुसार गाउँ गाउँमा गएर क्षयरोगका बिरामी खोज्ने, क्षयरोगको शंका लागेका बिरामीहरूको जाँच गर्नेलगायत जिल्लाका सबै स्थानीय तहमा गएर क्षयरोग सम्बन्धी कार्यक्रमहरू गर्ने, बिरामीको चेकजाँच गरेकाले पनि बिरामीको संख्या बढेको हो।

उनका अनुसार सरकारले क्षयरोगका बिरामीहरूको चेकजाँच र उपचारको व्यवस्था निःशुल्क गर्दै आएको छ। क्षयरोग लागेका बिरामीले नबिराइ ६ महिनासम्म औषधी खानुपर्ने समेत उनको भनाइ छ। उनले  क्षयरोग पुष्टि भएका मध्य ३/४ जनालाई एक वर्षदेखि १८ महिनासम्म पनि औषधी खानुपर्ने पनि  बताए।

श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग शरीरमा प्रतिरक्षा प्रणाली कमजोर भएमा व्यक्तिमा चाँडै सर्ने हुँदा यसबाट बच्नको लागि चाँडै उपचारको गर्नुपर्ने र घरमा बस्दा पनि मास्क प्रयोग गर्ने, परिवारका अन्य सदस्यसँग सुरक्षित भएर बस्ने, नियमित औषधी खानुपर्ने पनि अधिकृत कुँवरले बताए।

यसैगरी स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा अहिले २३ जना कुष्ठरोगका बिरामी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.