|

काठमाडौं :  फिफा विश्वकप नजिकिएसँगै पटक-पटक रोकिँदै आएको अर्जेन्टिना र ब्राजिलबीचको विश्वकप छनोटको खेल नहुने भएको छ।

कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत गत सेप्टेम्बरमा तय भएको खेल पटक-पटक रोकिएको र दुबै राष्ट्र विश्वकपमा छनोट भइसकेकाले दुबै देशले अब विश्वकप अघि यो खेल रोक्न फिफालाई आग्रह गर्दै आएका थिए।

दुबै देशले खेलाडी चोटिल हुने जोखिम रहेको भन्दै फिफालाई यो खेल नगराउन आग्रह गरेका थिए। यस्तोमा फिफा ब्राजिल र अर्जेन्टिनाबीचको खेल रोक्न सहमत भएको हो। कतार विश्वकप आगामी नोभेम्बरबाट सुरु हुँदैछ।

ब्राजिल शीर्ष स्थानमा र अर्जेन्टिना दोस्रो स्थानमा रहँदै कतार विश्वकपका लागि छनोट भइसकेका छन्। गत सेप्टेम्बरमा साओ पाउलोमा ब्राजिल र अर्जेन्टिनाबीचको खेलको छैटौं मिनेट जारी रहँदा ब्राजिलका स्वास्थ्य अधिकारीहरु मैदान प्रवेश गरेपछि खेल रोकिएको थियो।

अर्जेन्टिनाका चार खेलाडीले कोभिड १९ महामारीका लागि लागु गरिएको क्वारेन्टाइनको नियम पालना नगरेको भन्दै उनीहरु मैदान प्रवेश गरेका थिए। जसका कारण खेल स्थगित गरिएको थियो।

फिफाले दुवै राष्ट्रमाथि जरिवाना गर्दै सो खेल पुनः खेल्नु पर्ने निर्णय गरेको थियो। फिफाले पुनः खेलाउने खेलको मिति तोकेको थियो। जसकाविरुद्ध ब्राजिल र अर्जेन्टिना कोर्ट फर अब्रिट्रियसन अफ स्पोटर्स (सिएएस) मा पुगेका थिए। सिएएसले यसै महिनाको अन्त्यमा यो विषयमा अन्तिम निर्णय दिने छ।

तर अदालतमा उपस्थित हुँदै फिफा,  ब्राजिल र अर्जेन्टिना बीच सो खेल पुनः नखेलाउने सहमती जुटेको बताइएको छ। पाँच पटकको विजेता ब्राजिलले सन् २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन। अर्जेन्टिना भने पछिल्लो पटक सन् २०१४ मा फाइनल प्रवेश गरे पनि उपाधि जित्न सकेको छैन्।

ब्राजिल कतार विश्वकप २०२२ को समूह ‘जी’ मा सर्बिया, क्यामरुन  स्विट्जरल्यान्डसँग परेको छ भने अर्जेन्टिनाले समूह ‘सी’ मा रहेर मेक्सिको, पोल्यान्ड र साउदी अरेबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.