|

बागलुङ : जिल्लामा गौरव र प्राथमिकताका योजना तीन वटा छन्। मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन सडक।

सरकारले गौरवको योजनामा राखे पनि यिनीहरूको अवस्था नाजुक छ। ट्र्याक खुलेको वर्षौँ बितिसक्दा पनि यी सडकको स्तरोन्नति हुन सकेको छैन। 

पूर्व–पश्चिम जोडेको मध्यपहाडी लोकमार्ग, चीन भारत जोड्ने कालिगण्डकी कोरिडोर तराई–पहाड जोड्ने सालझाण्डी ढोरपाटन सकड हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छन्।

मध्यपहाडी लोकमार्गले जिल्लाको छ पालिकालाई जोडेर रुकुम पूर्वसँग जोडिएको छ। करिब १४२ किलोमिटर बागलुङ खण्डमा पर्ने लोकमार्गको अब करिब २० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ। 

तर कालिगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटनको भने सडक चौडा गर्ने र नाली व्यवस्थापन गर्ने काम समेत गर्न सकेको छैन। कालिगण्डकी कोरिडोर जिल्लाको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकासँग जोडिएको छ। यो सडक बागलुङ ४२ किलोमिटर पर्छ। सडक निर्माण भएको वर्षौँ बित्दा पनि कालोपत्रे हुन सकेको छैन। ​

सालझण्डी–ढोरपाटन सडक भने जिल्लाई दुई पालिकासँग जोडिएको छ। निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकासँग जोडिएको सडकको स्तरोन्नतिको काम भएको छैन। मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरको केही काम भए पनि सालझण्डी–ढोरपाटन सडको भने हुनै सकेको छैन।

तीनवटै सडक कालोपत्रे नहुँदा यात्रुले वर्षौँदेखि सास्ती खेप्नु परेको छ। लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डक कालोपत्रे भए पुरै काम सकिन्छ भने कोरिडोर र सालझण्डी–ढोरपाटन सडकको भने कालोपत्रे गर्न काम सुरु नै भएको छैन। हिउँदमा धुलो र बर्खामा हिलोले गर्दा यात्रु र स्थानीयले समस्या भोग्नुपर्छ।

सडक छेउमा रहेका बस्तीहरु समेत धुलो र हिलोका कारण बसाइँसराइ गर्न बाध्य भएका छन्। लोकमार्गको हिलो र धुलोले गर्दा विस्थापित हुनु परेको स्थानीय रमन कँडेलले बताए। उनले दुई दशकभन्दा बढी समयदेखि धुलो र हिलोबाट ग्रसित भएर लोकमार्ग छेउका बस्तीले बसाइसराइ गर्न बाध्य भएको गुनासो गरे।

‘यो सडकले २०\२२ वर्षदेखि हामीलाई दुःख दिँदै आएको छ, हिलो र धुलोले घरनै पुरिने हुँदा अहिले अन्तै बसाइसराइ गर्न बाध्य भयौँ, सडक बन्दैन,’ उनले भने ‘यसप्रति सरकारको ध्यानै गएन, यो बाटो हिँड्ने गाडी चालक र यात्रु पनि निकै हैरान भएका छन्, सुविधाका लागि आएको सडकले हाम्रो त उठिबास लगायो।’

लामो समयदेखि कोरिडोर कालोपत्रे नहुँदा वर्षौँदेखि आफूहरुले समस्या भोग्नु परेको गाडी चालक प्रेमबहादुर श्रीशले बताए। उनले सडकमा नाली व्यवस्थापन नहुँदा पानीले खाल्डाखुल्डी पार्ने हुँदा गाल्डामा गाडी फसरेर बिग्रिने समस्या परिरहने बताए। 

‘सडकमा नाली छैन, पानी पर्दा साढ भलले खोल्छ, सडकको बिचमै ठूला–ठूला गाल्डा पर्छन्। त्यही खाल्डामा कहिले गाडी फस्छ, कहिले पट्टा भाँचिन्छ, यो बाटोमा गाडी चलाएर ज्यान पाल्न गाह्रो छ,’ उनले भने ‘यतिका वर्ष भयो यो सडक कालोपत्रे गर्न केले छेके होला ?, जनताले निकै दुःख पाएका छन्।’

सालझण्डी ढोरपाटन सडकलाई पर्यटकीय सडकका रूपमा पनि लिइन्छ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पुग्न यो सडकको अवस्था निकै बेहाल छ। सडकको अवस्था निकै जोखिमपूर्ण हुँदा यहाँ आउने पर्यटक समेत समस्यामा पर्छन्। सडकका कारण टाढा–टाढाबाट आउने पर्यटकले दुःख पाएको ढोरपाटन–९ का रामबहादुर पुनले बताए। 

‘सडकको हालत निकै खराब छ, ट्रयाक्टर पनि राम्रोसँग हिँड्न सक्दैन, यस्तो सडकमा पर्यटक राम्रा–राम्रा गाडी लिएर आउँछन्’, उनी भन्छन्, ‘गाडी कहिले हिलोमा फस्छ, कहिले खाल्डोमा अड्किन्छ। उनीहरू निराश भएर फर्किन्छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.