|

बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर निरन्तर बढ्दै गएको छ। गत एक महिनाको तथ्यांक हेर्दा यहाँ करिब एक हजार दुई संक्रमित थपिएका छन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको साउन १ देखि साउन मसान्तसम्मको तथ्यांक हेर्दा १ हजार १९३ नयाँ संक्रमित थपिएका छन्। त्यस अवधिमा संक्रमणकै कारण एकजनाले ज्यान गुमाएका छन्। गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको हो। निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार भारतमा कोरोना संक्रमण बढ्दै गएकाले सीमा जोडिएको सुदूरपश्चिममा संक्रमण बढेको हो।

उनले भने, ‘भारतमा संक्रमण बढ्दै गएको छ, त्यसको प्रभाव यहाँ पनि परेको अनुमान गर्न सकिन्छ।’ भारतमा मजदुरी गर्दै आएको नेपाली नागरिक स्वदेश फर्किने क्रम बढेकाले जोखिम पनि बढ्दै गएको उनले बताए। कोरोना संक्रमणको चौथो लहरको जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको निर्देशनालयले जनाएको छ। जोखिम बढेकाले कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ।

उनले भने, ‘नयाँ व्यवस्थापनको काम नभए पनि सीमा नाकामा स्थापना भएका हेल्थ डेस्कमार्फत चेकजाँचमा कडाइ गरिएको छ।’ सीमानाका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट, पुलघाटमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण भइरहेको छ। परीक्षणमा संक्रमण देखिएकालाई तत्कालै अस्पताल पुर्‍याउने गरिएको जोशीले बताए।

उनले भने, ‘संक्रमण देखिनासाथ अस्पताल लैजाने गरेका छौं, डाक्टरको सल्लाहमा संक्रमितको स्वास्थ्य अवस्था हेरेर भर्ना गर्ने र होम आइसोलेशनमा बस्न सुझाउने गरिएको छ।’ यसका साथै पहिला स्थापना गरिएका होल्डिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेशन, कोरोना अस्पताल, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने काम भइरहेको निर्देशनालयले जनाएको छ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ। ५ वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइरहेको जनाइएको छ। सुदूरपश्चिममा हालसम्म ५ लाख ७२ हजार ७८७ जनाको कोरोना परीक्षण गरिएकोमा ६० हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमणकै कारण यो प्रदेशमा ६३४ जनाको ज्यान गइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.