कुन सापटीमा कति रकम पाइन्छ?

|

काठमाडौं : सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट सापटी रकम पाउने भएका छन्। सामाजिक सुरक्षामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीलाई सापटी दिइने तयारी गरेको  हो। 

श्रमिकले  सापटी घर, शैक्षिक, सामाजिक कार्य र विशेष गरी चार प्रकारका सुविधा पाउनेछन्। बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा कार्यक्रमको आयोजना गर्दै उक्त कार्य शुरु गरेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले दुई योगदानकर्तालाई अनलाइनमार्फत विशेष सापटी रकम भुक्तानी गरेर सापटी योजनाको शुरु गरेका थिए।

कोषको लगानी कार्यविधि अनुसार योगदानकर्ताले विभिन्न चार किसिमका सापटी सुविधा पाउँछन्। यसका लागि कोषले योगदानकर्ता सापटी निर्देशिका २०७९ पनि जारी गरिसकेको छ। कोषले सापटी योजनाअन्तर्गत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना भदौ १ गतेबाट शुरु गरेको छ।  कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योजना शुरु भएदेखि योगदान गरेका ७ सयभन्दा बढी योगदानकर्ता सापटीका लागि योग्य रहेको बताए।

निर्देशिकामा व्यवस्था भए अनुसार योगदानकर्ताले घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी प्राप्त गर्न सक्छन्। 
कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ता सापटी निर्देशिका अनुसार प्रक्रिया सरल मानिएको विशेष सापटी योजना सेवा मंगलबारबाट कार्यान्वयनमा आएको हो। उनका अनुसार प्रक्रियाका हिसाबले विशेष सापटी २ दिनमै लिन सकिने भएकोले यसबाट शुरु भएको हो। 

घर सापटी : कोषका योगदानकर्ताले नयाँ घर निर्माण गर्न, खरिद गर्न अथवा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न पनि घर सापटी  लिन सक्नेछन्। घर सापटी पाउन कम्तीमा ३६ महिना कोषमा योगदान गरेको हुनुपर्ने कोषले जनाएको छ। अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई यो सुविधा प्रदान गरिनेछ। 

सापटी घर निर्माण गर्दा कम्तीमा दुई किस्ता र अधिकतम चार किस्तामा प्रदान गरिनेछ। पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्यांकनकर्ताले सिफारिस गरेको प्रगति विवरणका आधारमा कायम गरिने व्यवस्था छ। कोषमा योगदान गर्न छोडेको ६ वर्षभित्र सापटी चुक्ता गर्नुपर्ने हुन्छ।

शैक्षिक सापटी : कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका योगदानकर्ताले यस्तो सापटी पाउँछन्। उमेर वा सेवा अवधिका आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ता वा निजका पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनका लागि शैक्षिक सापटी दिइन्छ। 

यस्तो सापटी ३५ लाख रुपैयाँ वा सोभन्दा कम भएमा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक सबै खर्च बराबर प्रदान गरिन्छ। शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च गणना गर्दा भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, होस्टेल वा आवास खर्च जोडिन्छ। पहिलो किस्ता लिएको बढीमा १५ वर्षभित्र यस्तो सापटी चुक्ता गर्नुपर्छ। योगदानकर्ताले जुनसुकै कारणले कोषमा रकम जम्मा गर्न छाडेमा योगदान गर्न छाडेको ६ वर्षभित्र चुक्ता गरिसक्नुपर्ने हुन्छ।

सामाजिक कार्य सापटी : योगदानकर्ता आफू वा परिवारका सदस्यको सामाजिक कार्य (विवाह,व्रतबन्ध) लगायत कार्यका लागि कोषबाट सापटी प्रदान गरिन्छ। यस्तो सापटी पाँच लाखसम्म प्रदान गरिने व्यवस्था छ। 

योगदानकर्ता विशेष सापटी : कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवाका अवधिका आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष सेवा अवधि बाँकी रहेका योगदानकर्तालाई यस्तो सापटी प्रदान गरिन्छ। यो सापटी सुविधाअन्तर्गत योगदानकर्ताले निजको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रुपैयाँसम्म पाउँछन्।

विशेष सापटी योगदानकर्ताले मासिक तलबबाट कट्टी गरी वा कोषले तोकेको बैंक खातामा पटक पटक वा एकैपटक जम्मा गरी चुक्ता गर्न सक्छन्। सापटीको ब्याजदर कोषको सञ्चालक समितिले निर्धारण गरेअनुसार हुनेछ। यस्तो ब्याजदर समितिले समयअनुसार पुनरावलोकन गर्न सक्ने उल्लेख गरिएको छ। 

कसरी लिन सकिन्छ सापटी ?

सरकारले उपलब्ध गराएको चारवटा सापटी लिनका लागि निर्देशिका निश्चित अवधि सामाजिक सुरक्षामा योगदान गरेको हुनुपर्ने छ। सापटी लिन चाहने योगदान कर्ताले आफू कार्यरत कार्यालयको सिफारिसका साथमा कार्यालयको छाप लगाई कोषको कार्यालयमा पेश गर्नुपर्ने छ।

विशेष सापटी नागरिकता र कोषले प्रदान गरेको परिचयपत्रको प्रतिलिपि पेश गरेको तत्कालै नगद पाउने भएकाले यसमा आकर्षण बढ्ने कोषको अनुमान छ। विशेष सापटी बाहेक अन्य सापटीको हकमा भने कोषले तोकेअनुसार धितो राख्नु पर्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.