|

रौतहट : रासायनिक मल नपाउँदा धान उत्पादनमा कमी आउने सक्ने भन्दै किसान चिन्तित हुन थालेका छन्।

नेपाल सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसक्दा धान उत्पादनमा कमी आउने भएको हो। रौतहटको उत्तरी भेग चन्द्रपुर नपा–२ का किसानले अझै पनि आवश्यक रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्।

धानखेतीमा जेनतेन सहकारी संस्थाले थोरै तिनो हाले पनि उखु खेतीमा खाद हाल्न नपाएको रणबहादुर अधिकारी बताउँछन्। यतिवेला मल हाले मात्रै उखु फल्ने गर्दछ। अधिकांश उखु किसानले चाहे जति रासायनिक मल पाएका छैनन्। उनीहरू रासायनिक मल नपाउँदा निराश छन्।

राज्यले तोकेर पठाएको मल किसानका लागि अपुग भएकाले किसानहरु मल लिन लडाइँ गर्नुपर्ने बाध्यता रहेको छ। राज्यले तोकेर पठाएको रासायनिक मल वितरण गर्ने सहकारी संस्थालाई पनि बिक्री वितरणमा कठिनाइ हुँदै आएको छ।

चन्द्रपुर नगरपालिकाले तोकेर पठाएको मल किसानहरुलाई खेतको अनुपातमा सबैलाई दामासही वितरण गर्ने गरेको सदाबहार कृषि सहकारी संस्था चन्द्रपुर–२ की सचिव रुद्रकुमारी कार्कीले बताइन्। किसानको माग अनुसार भनेजति रासायनिक मल दिन नसक्दा समस्या हुने गरेको कार्कीको गुनासो छ।

रौतहटका २ गाउँपालिका र १६ नगरपालिका सहित १८ पालिकाका १६२ वटा कृषि सहकारी संस्थाले रासायनिक मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख रवि केशरीले जानकारी दिएका छन्। कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरले दिएको जानकारी अनुसार हाल रौतहटको १८ पालिकाका लागि १९ हजार ८५९ बोरा रासायनिक मल आएको छ।

यो अहिले आएको मल किसानहरुका लागि पर्याप्त नपुग्ने प्रमुख केशरीले बताए। अहिले आएको मलको ५ गुना बढी मल आए मात्रै किसानहरुको मागअनुसारको पुग्ने प्रमुख केशरीले जानकारी दिए।

हाल चन्द्रपुर नपाका लागि २ हजार २५९ बोरा, वृन्दावन नपाका लागि २ हजार २७५ बोरा, गुजरा नपाका लागि १ हजार ४४५ बोरा, गढीमाई नपाका लागि १ हजार २१४ बोरा, सबैभन्दा कम यमुनामाई गापाका लागि ५९३ बोरा भागबण्डा गरी वितरण गरिँदै आएको केशरीले बताए।

रासायनिक मल बिक्री वितरणका लागि हरेक पालिकाको नगर उपप्रमुखको संयोजकत्वमा गठित समितिले आ–आफ्नो वडामा बिक्री वितरणको व्यवस्थापन गर्दै आएको छ। चन्द्रपुर नगरपालिकाका लागि मात्रै करिब १७ हजार बोरा रासायनिक मल आए मात्रै किसानको मागअनुसारको दिन सक्ने चन्द्रपुर कृषि शाखाका प्रमुख उमेश चौधरीले जानकारी दिए।

अहिले जिल्लाभरका लागि १९ हजार ८५९ बोरा मल आएको छ। मल अपुग हुँदा स्थानीय किसानले भारतबाट तस्करी गरेर ल्याएको मल खरिद गर्दै आएका छन्। नेपाली खाद मल प्रतिबोरा १ हजारमा पाइन्छ भने तस्करीको मल प्रतिबोरा २५ सय सम्म पर्ने गरेको किसानले बताउँदै आएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.