|

हेटौंडा : वधशाला पुनःसञ्चालन गर्न बागमती प्रदेश सरकारसँग लाखौँ रुपैयाँ अनुदान लिएको एक निजी कम्पनी मेसिन समेत बेचेर भागेको छ। 

२०७६ सालमा पशु वधशाला पुनःसञ्चालनका लागि प्रदेश सरकारले उपलब्ध गराएको ६२ लाख २२ हजार ५०० रुपैयाँ अनुदान पाएको बफेलो क्वालिटी फुड प्रालि वधशालामा भएको मेसिन नै बेचेर फरार भएको हो। प्रदेश सरकारले २०२८ सालमा स्थापना भएर बन्द रहेको नेपाल लाइभस्टक नामक पशु वधशालालाई पुनः सञ्चालन गर्ने भन्दै मुस्लिम आयोगका अध्यक्षसमेत रहेका समिम मियाँ अन्सारीको कम्पनी बफेलो क्वालिटी फुड प्रालिले हेटौंडामा रहेको वधशालालाई अनुदान उपलब्ध गराएको थियो। 

तीन वर्षअघि ६२ लाख रुपैयाँ दिदै मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेको वधशाला अहिले अस्तित्व नै मेटिने अवस्थामा पुगेको छ। वधशाला भएको स्थानमा हाल पुराना सिमेन्टेका संरचना, पशु बाँध्ने फलाम र काठका संरचना तथा कोल्ड स्टोर्स रहेको घर छ। सरकारको अनुदान लिएर वधशालालाई पूर्ण रुपमा सञ्चालन नै नगरी बफेलो क्वालिटी फुड प्रालिले औद्योगिक क्षेत्रमै रहेको त्रिशक्ति पोलिब्याग इण्डष्ट्रिजलाई झण्डै १२ करोडमा सम्पति बेचेर हिँडेको थियो। बोरा उत्पादन गर्ने कम्पनीलाई वधशाला बिक्री गरेपछि त्रिशक्ति उद्योगले पुराना मेसिन कवाडीमा बिक्री गरेको पाइएको छ।  

वधशाला उद्घाटन समारोहमै दुई वटा ट्रकमा ४० वटा भैँसी तथा राँगा ल्याएर राखिएको थियो। उद्योगमा रहेका ३ वटा कोल्ड चेम्बरमध्ये २ वटा चेम्बर नजिकै रहेको दुग्ध विकास संस्थान (डीडीसी) को हेटौंडा दुग्ध वितरण आयोजनालाई मासिक २५ हजार रुपैयाँ भाडामा प्रयोग गर्न दिइयो भने उद्घाटन समारोहमा ल्याइएका भैँसी र राँगा पनि २ दिनपछि काठमाडौं पठाइएको थियो। त्यसपछि वधशाला सञ्चालनमा ल्याउने विषय कागजमा मात्रै सीमित बन्यो भने सरकारी स्तरबाट अनुगमन पनि भएन।

वधशालाको कुल परियोजना लागत १ करोड ४२ लाख ८४ हजार थियो। सम्झौता अनुसार वधशाला सञ्चालनको लागत इष्टिमेट अनुसारको रकमको ५० प्रतिशत बढीमा ७१ लख ४२ हजार भुक्तानी हुने भनिएको छ। बफेलो क्वालिटी फुडले १ करोड ३१ लख १९ हजार ५२४ रुपैयाँको सञ्चालन खर्च पेश गरेपछि ६२ लाख २२ हजार ५०० रुपैयाँ अनुदान पाएको सम्झौतापत्रमा उल्लेख छ। २०२८ सालमा डेनिस सरकारको १८ करोड लागतमा स्थापना भएको नेपाल लाइभष्टक वधशाला यसअघि तीन पटकसम्म उद्घाटन भइसकेको थियो। पछिल्लो समय रिजन क्वालिटी फुड नामक कम्पनीले वधशाला चलाउँदै आएको थियो। 

पटक–पटक उद्घाटन र बन्द हुँदै आएको वधशाला नियमित सञ्चालन हुन सकेको थिएन्। वधशाला पछिल्लो पटक २०७३ सालदेखि बन्द थियो। त्यसबीचमा अन्सारीको प्रस्तावमा पूर्वमुख्यमन्त्री पौडेल र तत्कालीन कृषि तथा पशुपन्छी मन्त्री दावा दोर्जे लामाको इच्छामा वधशाला पुनः सञ्चालन गर्ने योजना बनेको थियो। बफेलो क्वालिटी फुड प्रालिलाई अनुदान दिनुअघि नै चर्को विरोध भएको थियो। बफेलो क्वालिटी फुड प्रालि र मन्त्रालयबीच १६ जेठ २०७६ मा अनुदानबाट सञ्चालित वधशालाको सम्झौता भएको थियो। 

वधशाला खरिद गरेको त्रिशक्ति इण्डष्ट्रिजका प्रबन्धक नगेन्द्र न्यौपानेले आफूले बफेलो क्वालिटीसँग नभई रिजन क्वालिटी फुडसँग वधशालाको संरचना खरिद गरेको बताए। तर, बफेलो क्वालिटी निकट प्रतिनिधि जोब्सन खानले भने त्रिशक्तिलाई सबै सामान बिक्री गरेको जानकारी दिए। न्यौपानेले वधशालालाई हेटौँडा–१७ हटियामा सारेर सञ्चालन गरेको बताएका थिए। 

औद्योगिक क्षेत्रमा वधशालाको नाममा रहेको जग्गा एसियन पेन्ट्सले लिने तयारी गरिरहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जानकारी दिएको छ। एसियन पेन्ट्सलाई पनि त्रिशक्ति इण्डष्ट्रिजले बिक्री गर्ने तयारी गरिरहेको हो। यसका लागि वधशालाका सबै संरचना भत्काएर जग्गा खाली गर्ने काम भइरहेको छ। अनुदानको दुरुपयोग भएको भन्दै बागमती प्रदेशसभाको सार्वजनिक लेखा समितिले ध्याकर्षणसमेत गरेको छ। प्रदेश सरकारद्वारा गठित कृषि अनुदान वितरण छानबिन उपसमितिले हेटौँडा औद्योगिक क्षेत्रभित्र वधशालाको नाममा ठूलो सरकारी अनुदान दुरुपयोग भएको जानकारी सार्वजनिक लेखा समितिलाई गराएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.