|

बागलुङ : कलिलै उमेरमा ढोरपाटन नपा–५ पाखापानीका हिमालकुमार पुन आर्थिक अवस्थाले इराक पुगे। २०६४ सालमा एसएलसी पास गरेका पुनको क्याम्पस पढ्ने सपना आर्थिक अभावका कारण अधुरै रह्यो। काठमाडौँमा क्याम्पस पढ्न हिँडेका पुनलाई आर्थिक अभावले इराक पुर्‍यायो।

सानै उमेरमा आर्थिक समस्याका कारण इराक पुगेका पुनलाई इराक पुगेपछि मात्रै थाहा भयो इराक नेपालीका लागि प्रतिबन्धित देश भनेर। 

दुई वर्षलाई इराक गएका पुने साढे सात वर्ष भुले। इराकमा काम निकै गाह्रो भए पनि पैसा भने राम्रै भएको उनको भनाइ छ। ‘पढ्ने निकै रहर थियो तर काठमाडौँको खर्च थान्नै धौ, मध्यमवर्गी परिवारका कारण समस्यामा भए’, पुनले भने, ‘कलेज पढ्ने काम अधुरै राखेर इराक पुगेँ, इराक गएपछि मात्रै थाहा भयो यहाँ आउन मनाही रहेछ तर आइसकेपछि कमाउनु त पर्‍यो, दैनिकजसो गोलाबारुदका बीचमा बल्लतल्ल बाँचेर आइयो। नेपालमा आएपछि विदेश नजाने सोचका साथ व्यावसायिक क्षेत्रमा हात हालेको हुँ तर जाँगर गरे युरोपको कमाइ यहीँ गर्न सकिने रहेछ।’

३१ वर्षीय पुनले इराकमा दुःख र ज्यानको बाजी लगाएर भए पनि कमाइ राम्रै भएको बताए। ‘इराकमा मासिक १ लाखदेखि डेढ लाखम्म कमाइ थियो तर के गर्नु आफ्नै अगाडि धेरै साथीको ज्यान जान्थ्यो गयो, बाँचेर आइयो’, उनले स्मरण गर्दै भने, ‘विदेशबाट आएपछि आफ्नै जग्गा सदुपयोग गरेर किबी खेती गर्न थाले त्यसपछि लगत्तै बहुआयामिक व्यावसायिक सोचका साथ व्यवसायमा तल्लीन छु।’

२०६६ सालमा इराक गएका पुनले इराकबाटै भाइ मानसिंह पुनलाई बारीमा कोदो मकै मासेर किबीका बिरुवा लगाउन सुझाए। उनले विदेशमा निकै दुःख भएको भन्दै भाइलाई विदेशबाटै किबी खेतीतर्फ आकर्षित गराए। 

भाइ पेशाले स्वास्थ्यकर्मी हुन्। उनको आफ्नै क्लिनिक छ। फुर्सदको समयमा पुनले दाइको व्यवसायमा साथ दिएका छन्। २०७६ सालमा विदेशबाट फर्केर आउँदा उनको साढे नौ रोपनी जग्गामा किबीका विरुवा हुर्किरहेका थिए। ३०० किबीका विरुवा रु. १५० का दरले खरिद गरेर भाइले लगाइसकेका थिए। 

पुनले आफू विदेशबाट फर्केर आएपछि बहुआयामिक व्यावसायिक काम गर्ने सोचका साथ अगाडि बढेको बताए। २०७६ सालबाट उनले स्वरोजगार बहुउद्देश्यीय कृषि तथा पशु फर्म स्थापना गरेपछि ७५ वटा बाख्रा पाल्दै आएका छन्। 

उनको फर्ममा क्रस बोयर जातका बाख्रा तथा बोका रहेका छन्। मासुको उत्पादकत्व बढाउन सबै बाख्रालाई बोयर बनाउने उद्देश्य राखेको उनको भनाइ छ। उनको आफ्नै सय रोपनी जग्गा छ। तीन स्थानमा ३५ रोपनी, ४७ रोपनी र १८ रोपनी जग्गामा उनको कृषि तथा पशुपालनको क्षेत्र फैलिएको छ।

१८ र ३५ रोपनी उनको पुर्ख्यौली जग्गा हो भने ३५ रोपनी जग्गा उनले इराकमा कमाएको रकमले हालै खरिद गरेका हुन्। 

उनले हालै मात्र १० रोपनी जग्गामा व्यावसायिक केराखेती शुरु गरेका छन् भने व्यावसायिक रूपमा खरायोपालन र अकबरे खुर्सानी खेतीको समेत शुरुवात गरेका छन्। स्थानीय जातको मुङ्ग्रे जातका ४०० केराका बोट लगाएका छन्। मकै र कोदो हुने खेतबारीमा अहिले उनका किबी र केरा खेती फस्टाउने क्रम छ। उनको स्वरुबजगार फर्मबाट बोका र किबी विक्री गरेर आम्दानी गर्न थालिसकेका छन्।

‘एउटै व्यवसायबाट मनग्य आम्दानी नहुँदो रहेछ, बहुउद्देश्यीय काम गर्दा आम्दानी बढी हुने देखियो, अहिले विस्तारै किबी र बाख्रापालनबाट सफलता हासिल गर्दै आएको छु’, पुनले भने‚ ‘आफूले आफ्नो फर्मलाई प्रयोगशाला बनाउँदै आएको छु, विकट गाउँमा कृषि प्राविधिकको अभावै छ, आफैँले परीक्षण गर्ने र सफलता प्राप्त गर्ने गरेको छु।’

पुनले जग्गा खरिद, आधुनिक बाख्रा फर्म विस्तार, किबीका थाक्रा लगायतको व्यवस्थापनका लागि एक करोडभन्दा बढी लगानी गरिसकेको बताए। उनले गत वर्ष पहिलोपटक चार क्विन्टल किबीको फल बेचेको बताए। उनको फर्ममा २५ खरायो, ५० बोट एभोकाडो र दुई रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेका छन्।
 
‘आगामी वर्षदेखि पूरै फर्मबाट वार्षिक १० देखि १२ लाख आम्दानी गर्ने लक्ष्य छ, मैले कामदार राखेकोे छैन, बुबाआमा र भाइले केही सघाउनु भएको छ। बिहान पाँच बजेदेखि बेलुकासम्म आफैँ खटेको छु, विदेशमा गर्ने दुःख सम्झदा यहाँको दुख केही लाग्दैन’, उनले भने। नेपालमा कृषि पेशा गर्नेलाई सरकारले हेरेन भनेर बस्ने दिन गएको बताउँदै आफ्नो व्यवसाय सञ्चालन गरे विस्तारै सहयोग आउने उनको विश्वास छ। 

उनले कृषि ज्ञान केन्द्रबाट किबीको थाक्रो व्यवस्थापनका लागि एक लाख ५० हजार र पशु विज्ञ केन्द्र बागलुङले बाख्राको आधुनिक खोर व्यवस्थापनका लागि एक लाख ५ हजार अनुदान प्राप्त गरेको बताए। चरन क्षेत्रको राम्रो सम्भावना भएकाले वर्षमा ५० देखि १०० खसीबोका बेच्न सके युरोप तथा अमेरिकाको कमाइ गाउँमै गर्न सकिने उनको भनाइ छ। 

पुनका ८४ वर्षीय बाबा पूर्णबहादुर पुन र आमा नरमला पुनले व्यवसायमा उत्तिकै साथ तथा सहयोग गरेका छन्। पुनकी श्रीमती विज्ञान संकायमा काठमाडौँमा स्नातकोत्तर अध्ययनरत छिन्। उनले श्रीमतीलाई समेत आफ्नै व्यवसायमा लगाउने सोच बनाएको बताए। २७ वर्षका मानसिंह पुनले क्लिनिकमा बचेको समय फर्म व्यवस्थापनमा खट्दै दाइको व्यवसायलाई साथ दिँदै आएका छन्। दुई दाजुभाइले बाख्रापालन र फलफूल खेतीलाई बढी जोड दिएका छन्। 

‘मेरो पनि स–सानो स्वास्थ्य क्लिनिक छ, त्यहाँ पनि काम गर्नै पर्‍यो, क्लिनिकमा काम सकेपछि बिहान बेलुका समय मिलाएर बारीमा पनि काम गर्दै आएको छु’, मानसिंहले भने, ‘मेहनत गरिरहेका छौँ, सुरुवाती चरण हो, राम्रै छ अहिलेसम्म।’


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.