उम्मेदवार बन्न ८ बुँदे मापदण्ड

|

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुनका लागि ८ बुँदे मापदण्ड तयार पारेको छ।

केन्द्रीय सचिवालयको ३५ औं बैठकले पार्टीबाट उम्मेदवार सिफारिश एवं छनोटका लागि आधार तय गर्न ८ बुँदे मापदण्ड तोकिएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए।

उनका अनुसार पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेका, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेकालाई उम्मेदवार बनाइनेछ।

मापदण्डमा जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको र सक्रिय तथा समावेशीको सिद्धान्तविपरीत नहुने गरी उम्मेदवार चयन गर्न भनेको छ।

एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि भदौ २० गतेभित्र उम्मेदवारको निर्णय गरिसक्ने समयसीमा तोकेको छ। त्यसका लागि जिल्ला कमिटीले १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिश गरिसक्ने, प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिश गरिसक्नुपर्ने महासचिव भुसालले बताए।

एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका नेता सम्मिलित एउटा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय पनि भएको छ। उक्त समितिले दुई पार्टीबीचको एकता र सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको एकताका सम्बन्धमा छलफल, बहसलगायत काम गरी एकताको वातावरण निर्माण गर्ने विश्वास लिएको भुसालले जानकारी दिए।

बैठकले भदौ ९ गते पार्टी दर्ता भएको एक वर्ष पूरा गरेको अवसरमा पार्टी पुनर्गठन दिवसको आयोजना गर्ने निर्णयसमेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.