|

सर्लाही : रौतहटको पौराई जङ्गलमा भएको अटो दुर्घटनालाई लिएर आज दिउँसो पूर्वपश्चिम लोकमार्गमा टायर बालेर प्रदर्शन भएको छ।

बिहीबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तरगत रौतहटको पौराई जङ्गलमा काठमाडाैंबाट आउँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको बसको ठक्करबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश २–२००१ ह २१०९ नम्बरको अटोमा सवार तीन जना पुरुषको मृत्यु भएको थियो।

घटनामा एक जना महिला गम्भीर घाइते भएकी थिइन्। अटो सवार चारै जना उपचारका लागि वीरगन्ज जाने क्रममा दुर्घटनामा परेको जनाइएको छ।

सोही घटनामा मृतकका आफन्तहरूले दिउँसो घटनाका पीडितलाई उचित राहतको माग गर्दै पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरिदिएका हुन्। उनीहरुलाई राजमार्गस्थित कर्मैयाकाे पुतली चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

विरोधमा उत्रिएका उनीहरूले अटो तेर्स्याएर सडक अवरुद्ध गरेका थिए। राजमार्ग अवरुद्ध हुँदा पूर्वपश्चिम लोकमार्ग भएर हिडेका यात्रु तथा छोटो र लामो दुरीको यातायात बाटैमा अलपत्र परेका छन्।

सडक अवरुद्ध भएको एक घण्टापछि यातायात व्यवसायी संघ र मृतकका आफन्तबीच घाइतेको सम्पूर्ण उपचार गर्ने र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने सहमतिपश्चात् सडक खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.