|

तुलसीपुर : दाङमा प्रहरीले आपराधिक लाभ (एक्सटर्सन)  गर्ने ४ जना महिला र एकजना पुरुष गरी ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला परिवर्तन गाउँपालिका-५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका-१० नारायणपुर बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, करिब २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया शर्मिला नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

पक्राउ परेका उनीहरूले नारायणपुरमा सुनचाँदीको व्यवसाय गर्दै आएका एकजना व्यापारीसँग प्रेमको नाटक गरी छोरीचेलीको इज्जतमाथि हात हालेको भन्दै पैसाको बार्गेनिङ गरेर पैसा असुलेका थिए। उक्त समूहले साउन २७ गते ती व्यापारीसँग १ लाख रुपैयाँ नगद र ११ लाख २० हजारको चेक लगेका थिए।

गत साउन २७ गते पक्राउ गरेका उनीहरूलाई बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन)  कसुर मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति पाएको र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २१ के दफा २५३ को उपदफा ३ (ख)ले परिभाषित गरेको कसुर अपराधमा कसैले व्यावसायिक वा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने  वा चरित्रमा झूटो दोष लगाउने नियतले डर त्रास देखाई आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। 

यसरी गरे उनीहरूले आपराधिक लाभ (एक्सटर्सन)  
२‚ ३ महिनाअगाडि पक्राउ परेका वलीले नारायणपुरमा सुनचाँदी व्यवसाय गर्ने आफ्नो साथी दिनेश घर्तीमगर रहेको र धेरै पैसा रहेको ऊसँग पैसा कसरी तान्ने भन्ने बारेमा शुरुमा शान्ता र पवित्रासँग बसी कुराकानी गरेर योजना सुनाए। जिल्ला प्रमुख एसपी काफ्लेका अनुसार यसमा कसलाई प्रयोग गर्ने भनी दिलीप, शान्ता, विमला र पवित्राबीच शान्ताको घरमा छलफल भयो।

छलफल गर्दा शान्ताकी नन्द नाता पर्ने शर्मिला भन्ने २२ वर्षीया पर्मिलालाई सुनको तिलहरी बेच्ने बहाना बनाई दिनेशकहाँ जाने र उनीसँग चिनजान गरेर फोन नम्बर ल्याउने योजना बनाए। त्यही योजना अनुसार पर्मिलाले तिलहरी लिई दिनेशको पसलमा गई उनीसँग चिनजान गरी फोन नम्बर मागेर दुबैजनाबीच माया प्रेमका कुरा गर्ने, समय समयमा दुवैजना कहिलेकाहीँ भेटघाट गर्ने र होटलमा बसी नास्ता खाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यसपछि सबै जना पवित्राको घरमा बसेर दिनेशलाई कुन ठाउँमा बोलाउने र दुबैजनासँगै भएको अवस्थामा सबै गएर समात्ने र उनीसँग बार्गेनिङ गरी पैसा ल्याउने र सबैले बराबर बाँड्ने र पर्मिलालाई पवित्राको घरमा डेरामा बस्ने लगाउने सहमति भयो।

पर्मिला करिब एक महिनाअगाडि पवित्राको घरमा कोठा भाडामा बस्न थालिन्। अब दिनेशलाई कसरी बोलाउने भन्दा हामी कम छौँ भनी पवित्राले चिनेका साथीहरू अजय बुढाथोकी र लोकेन्द्र मगरलाई समेत बोलाउने र सबै कुरा जानकारी गराउने कुरा भयो।

सबै जना सल्लाहअनुसार दिनेशलाई पर्मिलाको कोठामा गत साउन २६ गते बोलाउने र पर्मिलाले शान्ताको मोबाइलमा म्यासेज वा मिसकल गर्ने र शान्ताले अरू सबै  साथीहरूलाई जानकारी गराउने शान्ता र विमला  घरको अगाडि गेटबाट भित्र आउने र अजय, लोकेन्द्र र दिलीप पछाडि ढोकाबाट आउने सल्लाह भयो। 

गत साउन २६ गते राति करिब ११ दिनेश पर्मिलाको कोठामा आए। सल्लाह बमोजिम सबैले खबर पाए र सबै जना आएर पर्मिलाको कोठाको ढोका खोल्न लगाए। उनीहरूले दिनेशलाई तैंले हाम्री छोरी चेलीको इज्जतमाथि हात हालिस् भन्दै शरीरका विभिन्न भागमा मुक्का प्रहार गरे। त्यसपछि उनीहरूले दिनेशलाई पवित्राको अर्को कोठामा लगी छोरी चेलीको इज्जत भर्नुपर्छ भनेर शुरुमा घोराहीमा रहेको घडेरी मागे तर त्यो घडेरी तत्काल नाममा नआउने भएपछि साउन २७ गते बिहान घोराही-१३ बडहरामा लगी नगद पैसा मागेका थिए।

उनीसँग पैसा नभएपछि उनले तत्काल आफ्नो भतिजलाई फोन गरेर एक लाख नगद र बैंकको चेक मगाए। त्यसपछि उनले नगद एक लाख र २‚ २ लाखका चेक २ वटा, ७ लाख २० हजारको चेक एउटा गरी १२ लाख २० हजार उनीहरूलाई दिएर मुक्त भए।

उनीहरूले दिनेशसँग ल्याएको नगद तथा चेक सबैलाई बाँडफाँड गर्ने गरी अजयले राखेका थिए। त्यसपछि सोही दिन दिनेशले मलाई विभिन्न व्यक्तिहरूले योजना बनाई १ लाख नगद र ११ लाख २० हजार बराबरको चेक लिएको भनेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

प्रहरीले सूचना पाउनासाथ तत्काल परिचालित भएर दाङमा विभिन्न स्थानबाट पवित्रा, विमला, शान्ता, शर्मिला भन्ने पर्मिला र दिलीपलाई गत साउन २७ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले बताए। यस्तै अजय र लोकेन्द्र भन्ने व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजतलास भइरहेको समेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.