|

बागलुङ : जिल्ला  सदरमुकामदेखि दूरको गाउँ बोबाङ। विगतमा यो गाउँ निकै दुर्गम मानिन्थ्यो।

यहाँ बसोबास गर्ने अधिकांश मानिस आफ्नै रहनसहन, बोलीचाली, खानपान र संस्कृति छ। प्रायजसो यहाँका सर्वसाधारण खेतीपाती र पशुपालनमै निर्भर छन्। 

शिक्षा, स्वास्थ्य र विकासको पूर्वाधार कमै मात्रमा भएकाले यो ठाउँलाई दुर्गम भनिन्थ्यो। तर अहिले त्यस गाउँको परिचय नै बदलिएको छ। ढोरपाटन नगरपालिका–७ र ८ मा पर्ने यो गाउँ पहिलेको जस्तो रहेन। 

स्थानीय शिक्षित बन्न थालेकाछन्। स्वास्थ्य, शिक्षा, खानोपानी यातायात लगायत विकासका पूर्वाधारले जोडिएको छ। बहुप्रतीक्षित ढोरपाटन शिकार आरक्षको ढोकाका रूपमा रहेको बोबाङको बिच भागबाट राष्ट्रिय गौरवको योजना सालझण्डी–ढोरपाटन सडक  गएपछि यस ठाउँमा विकासले गति लिन थालेको छ।

यो सडकले त विकासको दैलो नै खोलिदिएको छ। सडक आएपछि गाउँका धेरै परिवर्तन आएको स्थानीय बताउँछन्। यो सडक बोबाङ लगायत भुजीखोलेवासीका लागि वरदान सावित भएको छ। सडकले हजारौँ जीवन बदलिदिएको छ। 

गाउँमा सडक नपुग्दा घण्टौँ लगाएर दैनिक उपभोग्य सामान किनबेच गर्ने स्थानीय अहिले घर–घरमा दोकान सञ्चालन भएपछि दंग छ। वर्षौँ गाडी नदेखाका, नचढेका वृद्धवृद्धा घरै अगाडि गुड्दा चकित छन्।

स्थानीय मनवीर कायत अहिले ८४ पार गरेर ८५ वर्षमा लागे। उनले आफ्नो जीवनकालमा १८ वर्षको उमेरमा पहिलो पटक गाडी गुडेको दखेको सुनाउँछन्। ‘यता तिर त गाडी आउला भन्ने त हामीले कल्पना समेत गरेका थिनौँ। आए पनि हामी जिउँदै हुँदा आउला जस्तो लागेको थिएन,’ कायतले भने ‘ घरै अगाडि सररर गाडी गुड्तदा गोरखपुरको झल्को  मेटिन्छ।’ उनले आफूले १८ वर्षको उमेरमा गोरखपुर भर्ती हुन जाँदा गाडी देखेको बताए। ​

उनले नुन चामल बुटवलबाट बोकेर उपभोग गरेको अनुभव सुनाउँदै अहिले घरमै नुन तेल लगायत चाहिने सामान आउन थालेको बताए। उनले त्यस बखतमा  निकै दुख भोगेको स्मरण गर्दै अबका पुस्ताले त्यो समस्या भोग्न नपर्ने बताए।

‘हाम्रो पालामा ११ दिन लगाएर बटौलीबाट नुन, तेल बोकेरा खान्थ्यौँ, अहिलेको जस्तो घर–घरमा आउने थिएन, बाटोमा बास बस्दै जानु पर्‍थ्यो।, बास बस्दै आउनु पर्‍थ्यो। धेरै दु:ख थियो उवेला’, कायतले भने ‘सुबिस्ता भएको छ अहिले, हाम्रा छोरा नातिलाई सजिलोबनाई दियो। यो सुबिस्ता म बुढोले पनि लिन पाएँ।’

अर्का स्थानीय रुद्रबहादुर विकले मोटरबाटोले गाउँको मुहार फेरिदिएको बताए। उनले मोटरबाटो गाउमा आएपछि धेरैलाई शिक्षित र सभ्य बनाएको भन्दै विकासका अन्य बाटो पनि खुला गरेको बताए। ‘यो ठाउँ निकै पिछडिएको थियो, धेरै नागरिक अशिक्षित थिए, यहाँ सामाजिक विकृति विसगति धेरै थिए,’ विकले भने ‘तर अहिले धेरै परिवर्तन भएको छ, नागरिक पनि शिक्षित भएका छन्, त्यसले गर्दा पनि पहिलेको तुलनामा अहिले उल्लेख्य परिवर्तन भएको छ।’

उनले भर्खर–भर्खर विकासका कामले गति लिन थालेको भन्दै पहिलेको जस्तो यहाँका बालबालिका पढ्नबाट वञ्चित र स्वास्थ्य उपचारबाट टाढा हुन नपरेको बताए। ‘केही समयअघिसम्म त गाउँमा धेरै बालबालिका विद्यालय पढ्न समेत जाँदैनथे र त्यो अनुसारको संरचना पनि थिएन तर अहिले सबै तिर विकास हुँदैछ, उनीहरूपनि विद्यालय जान थालेका छन्’, उनले भने ‘सडकले गर्दा बुर्तिबाङ अस्पतालमा उपचार गराउन पनि सजिलो भएको छ।’ उनलेले सडक सञ्जाल गाउँदेखि ढोरपाटनसम्म जोडिएपछि व्यापार व्यवसाय गर्नेबढिरहेको बताए।

‘पहिला त यहाँ पसल पनि खासै थिएन, केही सामान चाहिएर किन्नु परेमा बुर्तिबाङ नै पुग्नु पर्ने बाध्यता थियो, तर अहिले त घर–घरमै पसल छन्, सबै सामान गाउँमै किन्न सकिन्छ,’ उनले भने ‘गाउँमा भएका १\२ जनाले घोडा खच्चडमा र भरिया लगाएर सामान लिने गर्थे। अहिले त्यो प्रचलन पनि हट्यो। घोडा खच्चडको प्रयोग पनि कम हुन्छ।’

२०६६ सालमा बोबाङ गाउँ सडकले जोडिएको हो। त्यसअघिसम्म यहाँ अधिकांश मानिसे घोडा खच्चडमा सामान ढुवानी गरेर प्रयोग गर्ने गर्थे भने अहिले त्यो बिस्तारै घटेको छ। अहिले पहिलेको तुलनामा धेरै कम भएको छ।

यहाँका धेरैजसो मानिस घुम्ती बसाइँ गर्छन्। वर्षातको समय ढोरपाटन (लेक) र हिउँदको समय बोबाङ (औल)मा बस्ने गर्छन्। यस समयमा यहाँका सयौँ स्थानीय ढोरपाटन उपत्यका र त्यस आसपासको क्षत्रमा बसोबास गर्छन्। उनीहरुले त्यहाँ रहँदा आलु, स्याउ, सिमी लगायतका खाद्यबाली उत्पादन गर्ने र पशुचौपाया पालन गर्छन्। सडकले गाउँको मुहार फेरेको छ।

अझै पनि यस ठाउँमा अपेक्षा अनुसारको विकास भने हुन सकेको छैन। विद्यालय टाढा हुँदा बालबालिका शिक्षा लिन वञ्चित छन्। स्वास्थ्य संस्था नजिक नहँदा स्वास्थोपचारबाट वञ्चित छन्। बालबालिकालाई पायक पर्ने स्थानमा विद्यालय स्थापना र स्वास्थ्य संस्था स्थापना गर्न पनि बाँकी नै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.