|

पर्वत : घरेलु हिंसालाई न्यूनीकरण गर्न विभिन्न प्रयास तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन हुने गरेको भए पनि पर्वतका घरेलु हिंसाका घटनामा भने झनै वृद्धि हुँदै गएको देखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा दर्ता भएका घरेलु हिंसा उजुरीको सङ्ख्यालाई हेर्दा आर्थिक वर्ष २०७७-०७८ को तुलनामा आर्थिक वर्ष २०७८-०७९ मा दोब्बर भन्दा बढीले वृद्धि भएको देखिएको छ।

आर्थिक वर्ष २०७६-०७७ मा फरक फरक चार वटा शीर्षकमा २६ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७७-०७८ मा ३८ वटा दर्ता भएको छन्।

यस्तै गत आर्थिक वर्ष २०७८-७९ मा उजुरीको सङ्ख्यामा दोब्बर भन्दा पनि बढीले वृद्धि हुँदै ८९ वडा पुगेको छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार गत आर्थिक वर्षमा खान लाउन नदिएकोमा १७ वटा, कुटपिट झै झगडामा ५० वटा, गाली बेइज्जतमा १३ वटा र अमानवीय व्यवहारमा ९ वटा गरी ८९ वटा उजुरी परेका हुन्।

आर्थिक वर्ष २०७७-०७८ मा सोही शीर्षकमा क्रमशः ९ वटा, १७ वटा, ८ वटा र ४ वटा गरी ३८ वटा उजुरी आएका थिए। यस्तै आर्थिक वर्ष २०७६-०७७ मा क्रमशः ६ वटा, ११ वटा, ६ वटा र ३ वटा गरी २६ वटा मुद्दा परेका थिए।

इन्स्पेक्टर राउतले प्रहरीमा मुद्दा आए पनि पारिवारिक सम्बन्धको महत्त्व, त्यसले बालबालिकाहरूमा पर्ने असर, सम्बन्ध चिसिएपछि भोग्नुपर्ने व्यवधान लगायतको बारेमा सम्झाइबुझाइ गरेर मिलापत्र गराउनेमा नै प्रहरीले जोड बल गर्ने गरेको बताए।

‘हामीसँग आएको उजुरीको अवस्था हेर्दा हरेक आर्थिक वर्षमा उजुरीको सङ्ख्या बढ्दै गएको देखिएको छ। तर हामीले उहाँहरूको सम्बन्ध थप बिग्रन नदिने गरी सम्झाई बुझाई गर्दै आएका छौँ। उजुरी बढी हुनुको कारण व्यक्तिमा सचेतनाका अवस्था वृद्धि भएको पनि हो भन्न सकिन्छ,’ उनले भने, ‘तर कार्यालयमा उजुरी आएपछि हामीले दुवै पक्षलाई राखेर धेरै सम्झाइबुझाइ गरेर उहाँहरूको समस्या समाधानका लागि प्रयास गरिरहेका छौँ।’

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६-०७७ दर्ता भएका २६ वटा उजुरीमध्ये १९ वटाको मिलापत्र भएको थियो भने एउटा मुद्दा अदालती प्रक्रियामा पुगेको थियो। तीमध्येका ६ जना भने मुद्दा दर्ता गरेर पनि सम्पर्कमा आएनन्।

आर्थिक वर्ष २०७७-०७८ मा दर्ता भएका ३८ वटा मुद्दाहरूमध्ये २६ वटाको मिलापत्र, दुई वटा अदालतमा  र १० वटा सम्पर्कमा आएनन्। यस्तै गत आर्थिक वर्षमा दर्ता भएका ८९ वटा मुद्दा मध्येका ४९ वटाको मिलापत्र भएको छ। ११ वटा मुद्दा अदालतमा पठाइएका छन् भने मुद्दा दर्ता गरिए पनि २९ जना सम्पर्कमा नै आएको प्रहरीको तथ्यांक छ।

पछिल्ला ३ आर्थिक वर्षको तथ्यांक हेर्दा प्रहरीमा आउने ठाडो उजुरीमा पनि क्रमिक वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०७६-०७७ मा २० वटा दर्ता भएकोमा १७ वटाको मिलापत्र र ३ वटा बाँकी रहेका उल्लेख छ।

 आर्थिक वर्ष २०७७-०७८ मा १८ मुद्दा परेकोमा ११ वटाको मिलापत्र र ७ वटा बाँकी रहेका तथा गत आर्थिक वर्षमा दर्ता भएका २५ वटा ठाडो उजुरीमध्ये २० वटाको मिलापत्र र ५ वटा बाँकी रहेको तथ्यांक छ।

बढ्दै छन् घरेलु हिंसाका उजुरी

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपाने व्यक्तिहरू अधिकारको बारेमा सचेत हुनु, कानुनी कारबाहीको बारेमा जानकार हुनु, आफ्नो मनमा लागेका कुरा खोल्न सक्ने हुनु लगायतका कारण मुद्दामा वृद्धि भएको बताउँछन्। तर मुद्दा दर्ता हुनुको अर्थ पूर्ण रूपमा घरेलु हिंसा भएको थियो भन्न भने नसकिने उनको भनाई छ।

‘अध्ययन, सञ्चार माध्यमको प्रभाव, प्रहरीका अभियान, भोगाई लगायतका कारण मान्छेहरूले हिंसा सहन नहुने रहेछ, प्रहरीमा जानुपर्ने रहेछ भन्ने कुरा थाहा पाएका कारण पनि मुद्दा बढी आएका हुन’, उनले भने, ‘तर आजभोलि सामान्य कुरामा पनि उजुरी गरिहाल्ने, थोरै मात्रै टसमस पनि नसहने, अरूको भावनालाई भन्दा व्यक्तिगत स्वतन्त्रतालाई मात्रै बढी ध्यान दिने भएका कारण पनि उजुरीहरू आइरहेका छन्।’

हिंसा सहेर बस्न नहुने भए पनि अति सामान्य कुरालाई परिवारसँगै बसेर छलफल मिलाउँदै पारिवारिक सम्बन्धलाई बलियो बनाउनुपर्ने उनको सुझाव छ।

समाजशास्त्रका विद्यार्थी तथा समाजका विविध समस्याको बारेमा अध्ययन तथा अभियान चलाउँदै आएका अभियन्ता राजेन्द्र पहाडी आधुनिकतासँगै विकास भएको संस्कार, पश्चिमा संस्कृतिको प्रभाव, वैदेशिक रोजगारी, विलासिताको जीवनशैली, कोभिडपछि देखिएका आर्थिक समस्या लगायतका कारण हिंसाका उजुरीमा वृद्धि भएको बताउँछन्।

‘पश्चिमा संस्कारको अन्दानुकरणका कारण पारिवारिक असमझदारी र बेमेल बढ्दै गएको छ। श्रीमान् श्रीमती वा परिवारका सदस्यको बिचमा पहिलाको जस्तो सम्बन्ध छैन, कहीँ न कहीँ दरार छ,’ पहाडी भन्छन्, ‘पूर्वी दर्शन अनुसार हामी त एकका लागि सबै र सबैका लागि एक हुनुपर्ने हो तर पश्चिमा दर्शनको एकलौटी पनको प्रभावले हामीलाई छोपिसक्यो।’

महिला अधिकारको बारेमा बढ्दै गएको चेतनाका कारण पनि उजुरीको सङ्ख्या बढी भएको अवस्था हुन सक्ने उनको भनाई छ। विगतमा महिलालाई दिइएका अधिकार पूर्ण नहुनु तथा प्रदत्त अधिकारको बारेमा जानकार नहुनु, जानकार भएर पनि हिंसा सहनु लगायतका कारण उजुरी कम हुने गरेको भए पनि अहिले भने खुलेर बोल्ने र अधिकार खोज्न  सक्ने भएका कारण हिंसा सहने बानी कम हुँदै गएको पहाडीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.