|

दाङ : तुलसीपुर उपमहानगरपालिका-५ मा बस्दै आएका सुमन रोका अहिले तुलसीपुर-६ मा रहेको तुलसीपुर सेन्टरमा कक्षा ९ मा पढ्छन्। सल्यानका उनी यसै शैक्षिक सत्रदेखि विद्यालयमा आएर भर्ना भएका हुन्।

उनलाई मादल बजाउन सिक्ने रहर सानैदेखि थियो। उनले घरमा एउटा मादल किनेर जानी नजानी भए पनि बजाउँथे। विद्यालयमा उनले संगीतको कक्षा लिन लागेको २ हप्ताभन्दा बढी भयो। त्यसले गर्दा उनको रहर पूरा हुन लागेको छ।

संगीतमा रुचि भएका विद्यार्थीहरूलाई विद्यालयले विद्यालय छुट्टीपछि साँझ दैनिक २ घन्टा सिकाउँदै आएको छ। जसले गर्दा उनले आफ्नो मनको रहर पूरा हुने  लागेको भन्दै खुशी व्यक्त गरे।

उनले भने, ‘मेरो सानैदेखि मादल बजाउने रहर थियो। घरमा एउटा मादल किनेर जानी नजानी भए पनि बजाउन सिक्दै थिएँ। अहिले विद्यालयमा गुरुबाट नै सिक्ने   पाउँदा धेरै खुशी  लागेको छ। आफूले मनले चाहेको पनि सिक्न पाउँदा धेरै खुशी छु।’

उनले आफ्नो पहिलो लक्ष्य राम्रोसँग पढ्ने र संगीत क्षेत्रमा पनि लागिरहने योजना रहेको पनि बताए। जब विद्यालयमा ४ बज्छ अनि सबै विद्यार्थी झोला बोकेर घरतिर दौडिन्छन् तर सुमनसँगै संगीत सिक्ने विद्यार्थीहरू भने हातमा मादल, बाँसुरी, तबला, गितार, हार्मोनियम लगायत वाद्यवादन लिएर कक्षा कोठा पस्छन्। उनीहरू तिनै बाजा लिएर बजाउँछन् अनि संगीतको धुनमा रमाउँछन्।

दंगीशरण-३ बाट यो विद्यालयमा पढ्न आएकी सानु चौधरीले करिब २ हप्तादेखि गितार बजाउन सिक्दै छिन्। उनले पहिला गितार भनेको के हो ? थाहा थिएन। अहिले विद्यालयमा सिक्न पाउँदा खुशी लागेको बताउँछिन्। उनले विद्यालयमा राम्रोसँग संगीत सिक्दै आएको बताइन्। उनले विद्यालयमा पढाइसँगै संगीतको कक्षा लिन पाउँदा धेरै खुशी भएको बताइन्।

कक्षा १० मा पढ्ने अर्की विद्यार्थी सोनु चौधरीलाई पनि गितार सिक्ने रहर सानैदेखि रहेको थियो। विद्यालयमा अहिले यसरी सिक्न पाउँदा उनी धेरै खुशी भएको बताउँछिन्। उनले आफूलाई गीतभन्दा पनि गितार सिक्ने रहर सानैदेखि भए पनि अहिले विद्यालयमा सिक्न पाउँदा पूरा हुन लागेको बताइन्। उनले विद्यालयमा पढाइसँगै विद्यार्थीहरूको इच्छानुसार मार्शल आर्ट, संगीतको पनि छुट्टै व्यवस्था रहेको हुँदा आफूले संगीतलाई नै रोजेको बताइन्।

प्रदेश सरकारको  सहयोगबाट संगीत कक्षा शुरु

विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले लुम्बिनी प्रदेश सरकारबाट संगीत कक्षाका लागि प्रशिक्षक र सामग्रीहरू सहयोग आएपछि विद्यार्थीहरूलाई निःशुल्क सिकाउँदै आएको बताए। उनले अवसर नपाएर आफ्नो क्षमता, प्रतिभा त्यसै निष्क्रिय हुने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्यालयमा संगीत कक्षा पनि सञ्चालन गरेको पनि बताए।

उनले विद्यालयले २०७३ सालदेखि संगीत सिकाउँदै आए पनि यो वर्षदेखि प्रदेश सरकारबाट सहयोग आएपछि अनौपचारिक रूपमा संगीत क्षेत्रमा इच्छा भएका सबै कक्षाका विद्यार्थीहरूलाई सिकाउँदै आएको पनि बताए।

उनले भने, ‘हामीले विद्यार्थीलाई गाउन, बजाउन र नाच्न यी ३ कुरामा प्रशिक्षण दिइँदै आएका छौँ। आगामी वर्षदेखि एकेडेमी रूपमा अगाडि बढाउने योजना रहेको छ तर हामीलाई कक्षा कोठाको अभाव छ। अहिले विद्यालयमा ४९ वटा कोठा रहेका छन् तर अझै पुगेको अवस्था छैन।’

मार्शल आर्ट सिकाइँदै‚ १० जना विद्यार्थी ब्ल्याक बेल्ट

विद्यालयका प्रधानाध्यापक पौडेलका अनुसार विद्यालयले पढाइलाई मात्र नभई विद्यार्थीहरूको चाहनाअनुसार विभिन्न अतिरिक्त क्रियाकलाप गराउँदै आएको छ। संगीतमा रुचि भएका विद्यार्थीले संगीत सिक्दै आएका छन् भने मार्शल आर्टमा रुचि भएका विद्यार्थीले छुट्टीपछि साँझको समयमा मार्शल आर्टको पनि प्रशिक्षण लिन गरेको उनको भनाइ थियो।

उनका अनुसार अहिलेसम्म विद्यालयका १० जना विद्यार्थीले ब्ल्याक बेल्ट पाइसकेका छन्। तिनै बेल्ट पाएका विद्यार्थीहरूले नै अन्य विद्यार्थीहरूलाई सिकाउने गरेको पनि उनले बताए।

सिटिइभिटीले तोकेको शुल्क १ लाख ९० हजार, डेढ लाखमा पढाउँदै विद्यालय

विद्यालयमा सञ्चालन भएका इन्जिनियरिङतर्फको शुल्क सिटिइभिटीले ३ वर्षसम्मका लागि १ लाख ९० हजार तोकिदिएको छ तर विद्यालयले १ लाख ५० हजारमा पढाउँदै आएको उनले बताए। उनले भने, ‘सिटिइभिटी विद्यालयहरूले धेरै शुल्क लिन लागे भनेर कन्ट्रोल गर्नका लागि १ लाख ९० हजार तोकिदिएको हो। तोकिएको शुल्कभन्दा तल कसैले पनि पढाउँदैनन् तर हामीले साढे एक लाखमा पढाउँदै आएका छौँ।’

उनका अनुसार गत आर्थिक वर्षमा आइटीमा ७० लाखको आम्दानी भएको र  करिब ३० लाख खर्च हुँदा ४० लाख बचत भएको थियो। यस्तै अहिले पनि साढे एक लाखमा पढाउने योजना भइरहेको र अब जिओ मेट्रिक्सका लागि ५० लाखको सामान किन्नुपर्ने अवस्था रहेको र त्यो सामान किनेपछि १ लाखदेखि १ लाख २५ हजारसम्म पढाउने योजना बनाएको पनि उनको भनाइ थियो।

स्थापनाकालदेखि आइटीमा नेपालकै उत्कृष्ट

मावि सेन्टरले २०७३ सालदेखि प्राविधिक शिक्षा पढाउन शुरु गरेको हो। विद्यालयले यो विषय पढाउन शुरु गरेदेखि अहिलेसम्म नेपाल नै उत्कृष्ट नतिजा ल्याउँदै आएको प्रअ पौडेलको भनाइ छ। उनले भने, ‘प्रायः सबै विद्यार्थी प्रथम श्रेणीमा पास हुँदै आएका छन्। यस्ता कारणले गर्दा र तुलसीपुर बजारको केन्द्रबिन्दुमा भएकाले र राम्रो सेवा सुविधा भएकाले विद्यार्थीहरूको आकर्षण यो विद्यालयमा बढेको पाइन्छ।

अभिभावकले सन्तानको गतिविधि मोबाइलमा हेर्न मिल्ने

मावि सेन्टरले २०७३ सालदेखि नै नयाँ प्रविधि जडान गरेर सम्पूर्ण अभिभावकले आफ्ना छोराछोरीको गतिविधि मोबाइलबाट हेर्न मिल्ने गराएको छ।

कुनै पनि अभिभावकले आफ्ना छोराछोरीले विद्यालयमा के गरेका छन्। विद्यालय आएका छन् कि छैनन्, भनेर घरमै बसेर हेर्ने मिल्ने प्रविधि ल्याएको प्रअ पौडेलको भनाइ छ।  

यसले गर्दा आफ्ना छोराछोरीका गतिविधि मात्र नभई विद्यालय समयमा शिक्षकहरू आएको नआए र कक्षाकोठामा कति समयसम्म पढाएको नपढाएको पनि सजिलै हेर्न मिल्ने पनि उनको भनाइ छ। यसले गर्दा विद्यार्थीहरू र शिक्षकलाई अनुशासित बनाएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.