'गठबन्धनको साथ तत्काल छाड्दैनौँ'

|

काठमाडौं : बिहीबार नागरिकता विधेयक दोस्रोपटक बहुमतले पारित भयो। तर, सत्ता गठबन्धनको घटक राष्ट्रिय जनमोर्चाले भने विपक्षमा भोट हाल्यो। 

खुला सिमाना भएको मुलुकमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर मात्रै अघि बढाउनुपर्ने पार्टीको अडान थियो। यति मात्र हैन,  खुला सीमा भएको देशले जन्मको आधारमा र वैवाहिक नागरिकताको आधारमा विवाह गर्ने वित्तिकै नागरिकता दिन नहुने भन्ने अडान थियो।

तर, पार्टीको अडानविपरीत विधेयक पारित भएपछि अब पार्टी गठबन्धनमा रहन्छ? सरकारको पक्षमा भएर पनि किन विपक्षमा मत हाल्यो? भन्ने विषयमा थाहाखबरले पार्टी उपाध्यक्ष दुर्गा पौडेलसँग कुराकानी गरेको छ।

गठबन्धनमा भएको पार्टी नै नागरिकता विधेयकको विपक्ष उभिएको छ। अलिक नसुहाउँदो देखिएन र भन्या?

गठबन्धन एक नियममा खडा भएको हो। हामीले प्रतिगमनको विरुद्धमा र त्यसलाई परास्त गर्नका लागि निम्ति सत्ता गठबन्धन उपस्थित गराएका हौं।

हाम्रो स्पष्ट धारणा  के छ भने हामीले सुरुदेखि नै संविधान घोषणा गर्ने बेलामा पनि नागरिकता विधेयकसम्बन्धी राष्ट्रिय जनमोर्चाको एउटा धारणा थियो। हाम्रो जस्तो खुला सिमाना भएको देशमा जन्मको आधारमा नागरिकता दिनुहुँदैन भन्ने थियो। त्यो सँगसँगै विवाहित महिलाहरूलाई विदेशी महिलाले विवाह गरेर आए वापत नागरिकता दिने योग्य आधार मान्न सकिदैन  भनेर सुरुदेखि नै त्यो मत थियो। 

यदि आउँछन् भने ७ वर्ष  समय राख्नुपर्छ भनेर निरन्तर हामीले अगाडि ल्याइरहेका छौं। र त्यो नागरिकता विधेयक आउँदै गर्दा राष्ट्रिय जनमोर्चाको स्पष्ट अडान यथावत  नै रहेको छ। 

हामीले विपक्षमा मत दिन्छौं भन्ने कुरा उहाँहरू गठबन्धनमा अन्य पार्टी जानकार थियो। गठबन्धन गर्दै गर्दा कुनै एक विधान बनाएका पनि हौइनौं। कि सरकारलाई समर्थन गर्नुको अर्थ सरकारका जायज कामलाई पनि सहि कामलाई पार्टीले समर्थन गर्ने हो र सरकारले गरेको खराब कामलाई विरोध गर्ने नै हो भन्ने हाम्रो बुझाई हो। सरकारको काम हेरि समर्थन र विरोध गर्छौं। 

हामीलाई गलत लागे पनि अन्य दललाई लागेन। किनभने हरेक पार्टीका आफ्नै राजनीतिक दर्शन छन्।

किन अन्य दल राष्ट्रिय जनमोर्चाको विचारमा सहमति जनाउन सकेनन्

हरेक पार्टीका आफ्नै राजनितिक दर्शन छन्। उहाँहरू हाम्रा मागमा किन समर्थन गर्न सक्नुभएन भनेर बुझ्न त उहाँहरूलाई नै सोध्नुपर्छ। 

अरूले समर्थन गरेको तपाईंहरूले किन विपक्षमा भोट हालेको

विवाह गरेबापत त्यो व्यक्ति नागरिकता लिन योग्य हुन्छ भन्ने कुरा कुनै सैद्धान्तिक आधार पनि छैन। 

नागरिकता हरेक देशका नागरिकहरुले त्यसलाई प्राप्त गर्ने विधिहरूलाई जव अपनाउनुपर्छ, त्यसको राजनीतिक आधार, त्यसको सामाजिक आधार, भौगोलिक आधार, त्यो सँगसँगै सीमा, हरेक क्षेत्रहरुलाई अध्ययन गरेर त्यसका विधिहरू अपनाउने गर्दछन्।

विवाह गर्दैमा नागरिकता प्राप्त गर्न योग्य भइसक्यो भन्ने कुरा दुनियाँको कुनै पनि सिद्धान्तले त्यो कुरालाई स्वीकार गर्न सक्दैन।

हामीले यो चिजलाई स्पष्टसँग बुझ्न जरुरी छ। नागरिकता एउटा अखण्डतासित, एउटा राष्ट्रियतासित जोडिएको विषय हो । 

यदि नागरिकता दिनु नै छ भने किन कुरिरहनु भन्ने पनि सरकारको तर्क होला नि त

विदेशीले नेपाली नागरिकता पाउने प्रावधान त छ नि हाम्रोमा। अंगीकृत नागरिकता लिनका निम्ति। निश्चित समयावधि जुनसुकै देशले राखेको हुन्छ। कम्तीमा देशभित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा बिहे गरेर जाँदा त त्यहाँ रहन समय लाग्छ भने एक देशबाट अर्को देशमा जाँदा त कम्तिमा समय लाग्ने होला नी सबै कुरा बुझ्न।

खुला सिमाना भएको भारतमा पनि बिहे गरेर जाने दिनेबितिक्कै नागरिकता पाइन्छ त?  नागरिकता कुनै बसको टिकट हैन। नागरिकता पाउन कुनै प्रावधान आवश्यक छ।

तपाईंहरूलाई विदेशी चेली भित्रन्छन् भन्ने लाग्छ, विदेशी ज्वाइँ भित्रिँदैनन् भन्ने लाग्ने हो

होइन। विदेशी ज्वाइँ आउँछन् भने १५ वर्ष राख्नुपर्थ्यो भन्ने हाम्रो माग थियो। बुबा आमा दुवै नेपाली भएको खण्डमा मात्र वंशजको आधारमा नागरिकता दिनुपर्छ भन्ने हो।

बुबा  अंगीकृत आमा वंशजको छ भने पनि उसको सन्तानले अंगीकृत नै लिन्छ। वंशजको बन्नका लागि एउटा समय लाग्छ। अर्को पुस्तासम्म आइपुग्दा वंशज हुने अर्को कुरा हो। सबै देशमा आफ्नै प्रचलनहरू रहेका छन्। अंगीकृत र वंशजको नागरिकताबीचको फरक वास्तवमा फरक छ। 

राष्ट्रपति, प्रधानमन्त्री प्रधानन्यायाधीश, सभामुखलगायत महत्वपूर्ण पदमा वंशजका आधारमा भएको नागरिकले मात्र पाउँछन्। हाम्रा पूर्वजहरुले रगतसँग बगाएर वंशजको नागरिकता स्थापित गरेको त्यो इतिहास हामीसँग छ।

त्यसैले त्यो भावना, त्यो रगत माटोसितको गहिरो सम्बन्ध कायम गर्दै धेरै लामो समयसम्म धेरै वर्षसम्म यो चिज अगाडि बढाउदै आएका त्यागी हाम्रा पुर्खाहरूले ल्याएका हुन्। त्यसैले वंशजको नागरिकता वंशजका ले पाउनुपर्छ। 

बाबुको पहिचान नभएका सन्तान अनागरिक हुने प्रावधान त यो विधेयकले अन्त्य गरिदियो नि हैन

बुबा आमा नेपाली हुन् भने सन्तानले नागरिकता पाउने विषयमा भएको गाँठो  फुकाउन हामी तयार छौं। उनीहरूको व्यवस्थापन सरकारले गर्नुपर्छ। नेपाली नागरिक नागरिकता पाउनुपर्छ। खुला सिमाना भएको देशमा पारिका मान्छे नेपाल आएर जन्मिनेबित्तिकै नागरिकता प्रावधान भयो भने हाम्रो राष्ट्रियता कमजोर हुन जान्छ। 

जन्मको आधारमा नागरिकता वितरण हुन सक्दैन।  वास्तविक यो देशमा नागरिक अल्पमतमा पर्न सक्छन्। भोलि हुने दुरगामी परिणामहरूलाई अहिल्यै बाट सोच्न सक्नुपर्छ। 

अब गठबन्धनमा तपाईंको पार्टी रहन्छ कि रहँदैन

यो नागरिक विधेयकका लागि बनेको गठबन्धन होइन। विधेयक पास भएको कुरा के हो भने गणकको संख्या हाम्रो पार्टीसँग कम भएको कारण गणक संख्या बढी भएको पार्टीले पास गर्‍यो। त्यसलाई रोक्न सक्ने शक्ति हामीसँग भएन।

गठबन्धन गराउँदै गर्दा हाम्रो जुन उद्देश्य बनाएका थियौं, त्यो उद्देश्य अझै पूरा भएको छैन। प्रतिगमनको जुन शक्ति छ त्यो शक्ति अहिले पनि अगाडि बढ्न कोसिस गरिरहेको छ।  यसलाई परास्त गर्न अहिले पनि पाँच दलीय गठबन्धन आवश्यक छ।

सरकारलाई प्रतिगमनको आन्दोलनमा हामीले समर्थन गर्दै आयौँ। सरकारको गलत कामको विरोध गर्दै आइरहेका छौं। तर, पनि गठबन्धन अगाडि बढ्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.