|

काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मातृ र शिशु मृत्युदर घटाउन ठूलो योगदान गरेको बताएकी छन्।

अस्पतालको ६३ औँ वार्षिकोत्सवमा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तर सेवा दिएर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी हुन्।

राष्ट्रपति भण्डारीले अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको समेत बताइन्। अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवजात शिशुसम्बन्धी सरल र कम खर्चिलो, सुविधायुक्त तथा गुणस्तरीय सेवा दिँदै आएको समेत बताइन्। ६ दशकअघि ४० शय्याबाट शुरुआत भएको यस अस्पतालले हाल ४ सय ७९ शय्याबाट सेवा दिइरहेकोमा खुशीसमेत उनले व्यक्त गरिन्।

स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोहीअनुरुप जनशक्तिको तयार गर्न मुलुकसामु विद्यमान चुनौती रहेको राष्ट्रपति भण्डारीले बताइन्।

‘स्वास्थ्य जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजना निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट सहयोग प्राप्त हुनेछ,’ उनले भनिन्‚ ‘नेपाल  सरकारका सम्बन्धित संस्थाले यसतर्फ आवश्यक पहल र समन्वय गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेकी छु।’

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले सातवटै प्रदेश र ७७ जिल्लामा प्रसूति सेवा विस्तार गर्न थालिएको जानकारी दिए। उनले नेपालमा पनि निकट भविष्यमा स्वास्थ्यका अत्याधुनिक उपकरण ल्याएर उपचार गर्ने जानकारी दिए।

अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले उच्च मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्न अस्पतालले महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार आर्थिक वर्ष ०७८/७९ मा कूल ३३ हजार ८ सय ५५  महिला भर्ना भएकोमा प्रसूतितर्फ २६ हजार ६ सय ५ र स्त्रीरोगतर्फ ४ हजार ९ सय ३० जनाको उपचार तथा २४ हजार ३ सय सय ६९ गर्भवतीको प्रसूतिबाट २४ हजार ५ सय ९३ शिशुको जन्म भएको छ।

उनले नवजात शिशुको स्वास्थ्यलाई ख्याल गर्दै अस्पतालमा पूर्ण स्तनपान नीति लागू गरिएको र यस वर्ष अस्पतालले सरकारबाट तोकिएको विभिन्न २० सूचाङ्क पूर्ण हासिल गरी मातृशिशुमैत्री अस्पतालको रुपमा मान्यता पाएको बताए।

विसं २०१६ श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट स्थापना भएको अस्पतालमा अहिले ४ सय ७९ शय्या रहेको छ।

जर्मनीको सहयोगमा सरकारले स्थापना गरेको अस्पतालले तारकेश्वर र चन्द्रागिरी नगरपालिकामा ५०/५० शय्याको प्रसूति तथा नवजात शिशु अस्पतालको निर्माणको सम्झौता सम्पन्न भई निर्माणको प्रक्रिया अगाडि बढेको अस्पतालका निर्देशक डा श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.