|

काठमाडौं :  कवि बसन्त चौधरी सरल शब्दमा गम्भीर भावका कविता लेख्ने कवि हुन्। उनको पछिल्लो कवितासङ्ग्रह ‘तिमीविनाको म’ यस्तै प्रकृतिका कविता समेटिएको कृति हो।

प्रेमलाई नै केन्द्र बनाएर लेखिएको यस सङ्ग्रहका कविताहरूमा प्रेमका विविध आयामहरूलाई प्रस्तुत गरिएको भए पनि अधिकांश कवितामा प्रणयपरक प्रेमको उत्कर्षतालाई प्रस्तुत गरिएको छ।

जीवनका यावत भोगाइका क्रममा प्राप्त अनुभूतिहरूलाई कविताका माध्यमबाट अभिव्यक्त गर्न रुचाउने बसन्त चौधरीको तीन दशकको कवितायात्राको सबैभन्दा पछिल्लो कृति‘तिमीविनाको म’ मा समावेश गरिएका कवितामा कोमल–प्रेमिल भाव र आशावादी–जीवनवादी दृष्टिकोण अभिव्यञ्जित भएको छ। कविले यी कविता मस्तिष्कबाट नभई हृदयबाट लेखेका कारण पनि कविता बढी छोइने भएर आएका छन्।

विभिन्न शीर्षकका ८५ कविता अन्तर्वस्तुका दृष्टिले मानवीय संवेदना र समसामयिक यथार्थमा केन्द्रित छ। मूलतः प्रेम अर्थात् ‘तिमी’ को उपस्थितिले कवि हृदयमा गहिरो प्रभाव पारेको देखिन्छ र यही प्रभावलाई नै कविले जीवनको आदर्श बनाएको कुरा यस सङ्ग्रहका अधिकांश कवितामा पाउन सकिन्छ।

प्रेमका विविध रूपलाई प्रस्तुत गरिएका यी कवितामा आत्मिक प्रेमको अभिव्यक्ति, प्रेममा समर्पणभाव, देशका विविध विसङ्गतिको चित्रण र विसङ्गतिभित्र पनि सङ्गतिको खोजी, प्रकृतिमाथिको गहिरो सम्मोहन, सकारात्मक सोच र जीवनवादी जीवनदृष्टिजस्ता प्रवृत्तिगत विशेषता पाइन्छन्। विविध समयमा लेखिएका यस सङ्ग्रहका ८५ कवितामा प्रेमीमनको अभिव्यक्ति अझ बढी प्रभावी र सशक्त बनेर आएको छ। यस किसिमका कवितामा विशेषतः प्रेमिकाको विविध विम्बको प्रयोग गरिनाको साथै प्रेमका विविध आत्मिक अनुभूतिहरूको प्रकटीकरण गरिएको छ।

कवितामा कविले आफूलाई प्रेयसीको अनमोल स्पन्दन र स्नेहले कुँदेर बनेको मान्छे मात्र भनेका छैनन्, उनले आफूलाई प्रेयसीकै कल्पनाको साकार फूल र उसकै हृदयको क्यानभासमा कोरिएको रङ्गीन चित्रका रूपमा समेत प्रस्तुत गरेका छन्। जस्तै :

                                तिम्रो अनमोल स्पन्दन र

                                स्नेहले कुँदिकुँदी

                                बनाएको हो मलाई

                                म,

                                तिम्रो कल्पनाको

                                साकार फूल

                                तिम्रो क्यानभासमा भरिएको

                                रङ्गीन चित्र !

कविता कविमनको आवाज हो। यो कलात्मक भाषामा अभिव्यक्त हुन्छ। प्रस्तुत सङ्ग्रहका कवितामा कवि चौधरीका अनुभूति, भावना र दृष्टिकोण अभिव्यक्त भएका छन्। र यी अभिव्यक्तिले सम्पूर्ण प्रेमीमनको साझा अनुभूतिलाई व्यक्त गरेका छन्। कवितामा व्यक्त भएका विविध भावहरूमा पाइने साझा विशेषताका रूपमा आशावादी र जीवनवादी दृष्टिकोण जुनप्रकारले प्रस्तुत भएको छ, त्यही नै यस सङ्ग्रहका कवितामा पाइने सौन्दर्यात्मक पक्ष हो।

यी कवितामा कुण्ठा, निराशा, विद्रोह र आलोचनात्मक प्रस्तुतिभन्दा पनि आशा, विश्वास र हार्दिक पक्षको उपस्थिति प्रभावकारी रूपमा अभिव्यक्त भएको छ। केही कवितामा समसामयिक विषय पनि आएका छन्। खास गरी कोरोना महामारीले देश नै आक्रान्त बनेको समयमा त्यसैलाई विषय बनाएर लेखिएका कविता र साइबर संस्कृतिको चित्रण गरिएका कविताहरू पनि यस सङ्ग्रहमा समावेश भएका छन्। जस्तै :

                                यी सबैसबै लाटा छन्,

                                मौन छन्,

                                विवशताका यिनै धुनहरूभित्र

                                जीवन लाटो छ

                                स्वतन्त्र पृथ्वीमा

                                बाँधिएका पाउ

                                यात्रा र सपना सबैसबै

                                लाटा छन् !

                               

प्रस्तुत सङ्ग्रहका अधिकांश कवितामा प्रेमप्रणयपरक भाव अन्तर्वस्तुका रूपमा आएका देखिन्छन्। प्रेमीप्रेमिकाबीच हुने आत्मिक सम्बन्धका विविध आयामलाई प्रस्तुत कृतिका कविताहरूमा प्रस्तुत गरिएको छ। प्रेमिकाको काल्पनिक तथा वास्तविक रूप अनि उपस्थितिलाई देखाएर प्रेमको उदात्तीकरण गरिएका यस सङ्ग्रहका अधिकांश कविताले हरेक मान्छेको प्रेमीजीवनको अनुभूतिलाई अभिव्यक्त गरेका छन्। उदाहरणका लागि :

                                स्वीकार गर प्रिय,

                                यो अनुभूति

                                र, बगाऊ मलाई,

                                आफूसँगै,

                                मायाको उर्लदो भेलमा

                                पुर्‍याऊ सङ्गमको

                                गहिरो सागरमा

                                कि, अभिशप्त जिन्दगीले

                                वरदान आभास गरोस् !!

यस कवितांशमा प्रेमलाई जीवनको उर्जाका रूपमा प्रस्तुत गरिएको छ। जीवनको भागदौडबाट शुष्क बनेको जीवनलाई मायाले सिञ्चित गरेर आफूसँगै पे्रमको गहिरो सागरमा पुर्‍याउन आह्वान गर्दै अभिशप्त जीवनले वरदानको आभास गरोस् भन्ने इच्छित भाव यस कवितांशमा प्रस्तुत गरिएको छ।

यस सङ्ग्रहमा अन्तर्वस्तुका रूपमा आएको अर्को पक्ष देशप्रेम र प्रकृतिप्रेम हो। कविले स्वतःस्फुर्तरूपमा आफूभित्र रहेको देशप्रेम र प्रकृतिप्रेमका अनुभूति व्यक्त गरेका छन्। देशलाई आफ्नो पहिचान र प्रकृतिलाई मनको ऊर्जा मानेर अभिव्यक्त गरिएका यस्ता भावहरू यस सङ्ग्रहका केही कवितामा गम्भीररूपमा प्रकट भएका छन्। आफ्नो नसानसामा देशप्रतिको श्रद्धा बगेको र अन्तर्आत्मामा प्रकृतिको विराटता फैलिएको भाव व्यक्त भएका कविताले कविको देशप्रेम र प्रकृतिप्रेमलाई व्यक्त गरेको छ।

कोमल शब्दावलीको सुन्दर प्रयोग यस सङग्रहका कवितामा पाइने विशेषता हो। शृङ्गारिकताको प्रयोग अधिक भए पनि कवितामा शान्त रसको प्रमुखता देखिन्छ र शालीनरूपमा विविध भाव व्यक्त भएका छन्। कल्पना, भावना र प्रेमाशिक्त अभिव्यक्तिका कारण कविता सुबोध्य र सुरम्य बनेका छन्।

प्रस्तुत सङ्ग्रहका कवितामा मानवीय संवेदनाहरू पोखिएका छन्। यावत् सामाजिक विभेद, छलकपट, षडयन्त्र र मान्छेका सारा कमीकमजोरीहरूबाट टाढा रहेका यी कविताहरूले मानवजीवनका सुन्दर पक्षहरूको चित्रण गरेका छन्। सङ्ग्रहका अधिकांश कविता स्वच्छन्दतावादी भावधारामा लेखिएका छन् र यिनले प्रेम, प्रकृति र मान्छेको सर्वोच्चतालाई स्थापना गरेका छन्।

प्रेमभन्दा ठूलो संसारमा अर्को केही नभएको भावले अभिव्यक्तिपाएको यस सङ्ग्रहका कवितामा एकअर्काको आत्मासम्म पुगेर प्राण भर्ने र जीवनलाई सार्थक बनाउने तत्त्व केवल प्रेम भएको यथार्थलाई प्रस्तुत गरिएको छ।

साथै,कवितालाई जीवनको सौन्दर्यका रूपमा अर्थ्याउने र सृष्टिसौन्दर्यको अनुभव नै कविता हो भनेर कवितालाई चिनाउने कवि बसन्त चौधरीका लागि कविता कविता मात्र नभएर जीवनको ऊर्जा, जीवनप्रतिको आशा र विश्वास पनि हुन् भन्ने कुरा केही कविताले स्पष्ट पारेका छन्। जस्तै :

                कविता,

                तिमी आराधना हौ, पूजा हौ

                मेरो मन्दिर हौ, धर्म हौ

                मेरो मुटुभित्र उम्रिने

                जीवनको मर्म हौ।

कवि बसन्त चौधरीको प्रस्तुत कविता सङ्ग्रहका कवितामा जीवनबोधी चेतना र चिन्तनको प्रयोग व्यापकरूपमा भएको छ। सरल भाषाको प्रयोग भए पनि गम्भीर भावको प्रस्तुति रहेको यस सङ्ग्रहका कवितामा राष्ट्रिय चेतनाको अभिव्यक्ति पनि प्रभाकारीरूपमा आएको देखिन्छ।

यस सङ्ग्रहका अधिकांश कवितामा कविले ‘तिमी’ पात्र वा प्रेमिकालाई सम्बोधन गरेको पाइन्छ। आत्मिक प्रेमको अनुभूति र यसका विविध आयामलाई कलात्मकरूपमा प्रस्तुत गरिएका यी कविताले कविको काव्यिक चेतना र शिल्पगत कौशललाई प्रतिविम्बित गरेको छ।

आशावादी, जीवनवादी र सकारात्मक सोचाइको अभिव्यक्ति पाइने यस सङग्रहका कविताले कवि बसन्त चौधरीको कवि–व्यक्तित्वलाई अझ उचाइमा पुर्‍याएको छ।

जीवनका आरोह–अवरोहका साथै समसामयिक सन्दर्भ र स्वच्छन्द जीवनको चाहनाको अभिव्यक्ति प्रस्तुत सङ्ग्रहका कवितामा पाइने मुख्य विशेषता हुन्। स्वच्छन्दतावादी भावधारामा लेखिएका यिनका कवितामा विचार तत्त्वभन्दा संवेदना पक्ष सबल बनेर प्रस्तुत भएको देखिन्छ।

(लेखक अधिकारी पद्मकन्या बहुमुखी क्यम्पसका उपप्राध्यापक हुन् )

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.