‘मदर हिरोइन’ सम्मान दिने घोषणा

|
स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका गर्भवती रूसी । ‘मदर हिरोइन‘ सम्मान दिने कागजातमा हस्ताक्षर गर्दै रूसी राष्ट्रपति पुटिन (इन्सेटमा)। तस्वीर : एजेन्सी

मस्को : घट्दो जन्मदरका कारण रूसले संकट भोग्दै छ। रूस क्षेत्रफलको आधारमा संसारको सबैभन्दा ठूलो देश हो‚ यसको जनसंख्या भने १४ करोड ४१ लाख मात्रै छ।

घट्दो जनसंख्याबाट चिन्तित भएर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मदर हिरोइन’ सम्मान पुनः दिने घोषणा गरेका छन्। सोभियतकालमा यो सम्मान दिने गरिएको थियो। ​राष्ट्रपति पुटिनले पनि यसै साता यो सम्मान सम्बन्धी सरकारी आदेशमा हस्ताक्षर गरेका छन्। जसमा १० वा त्यसभन्दा बढी बच्चा जन्माउने र हुर्काउने महिलालाई रूसको ‘मदर हिरोइन’ को उपाधि दिइने उल्लेख छ।

दशौँ बच्चा जन्माए १० लाख रुबल​​
दशौँ जीवित सन्तान एक वर्ष पुगेपछि १० लाख रूबल (लगभग २१ लाख ७० हजार रुपैयाँ) को एकमुष्ट भुक्तानी प्राप्त गर्नेछन्। प्रतिवेदनमा यसअघिका नौ सन्तानमध्ये कुनै पनि आतंकवादी हमलामा वा आपत्‌कालीन अवस्थामा मृत्यु भएमा पनि सम्बन्धित आमाले पुरस्कार पाउने उल्लेख छ। पुटिनले यो अवार्डमार्फत रूसमा जनसंख्या बढाउन निकै ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। अभिभावकले पनि आफ्ना छोराछोरीको पालनपोषणका लागि सरकारी सहयोग पाउनेछन् ।

स्टालिनद्वारा उक्त सम्मान शुरु
‘मदर हिरोइन’ सम्मान पहिलोपटक सन् १९४४ मा सोभियत नेता जोसेफ स्टालिनले शुरु गरेका थिए। त्यतिवेला दोस्रो विश्वयुद्धका कारण सोभियत संघको जनसङ्ख्या तीव्र रूपमा घट्दो थियो। यस्तो अवस्थामा तत्कालीन सरकारले जनसङ्ख्या वृद्धिका लागि यो सम्मान शुरु गरेको थियो।

सन् १९९१ मा सोभियत संघको पतनपछि तत्कालीन रूसी सरकारले यो पुरस्कार बन्द गरेको थियो। त्यसवेला देशको जनसङ्ख्या पर्याप्त भएको र देश विखण्डन भएकाले आर्थिक अवस्था खराब भएको उल्लेख गर्दै उक्त सम्मान बन्द गर्नुपरेको घोषणा गरिएको थियो। तत्कालीन सरकारले मानिसलाई पुरस्कार दिने पैसा पनि नभएको बताएको थियो। 

घट्दो जनसंख्याले चिन्ता 
दशकौंदेखि रूसमा जनसंख्या निरन्तर घट्दो छ। सन् २०२२ को शुरुमा रूसको जनसंख्या लगभग ४ लाख घट्यो। रूसको जनसंख्या सन् १९९० को दशकमा सोभियत संघको विघटनदेखि घट्न थालेको हो। सन् २००० मा पुटिन राष्ट्रपति भएपछि पनि जनसंख्या घट्दै गएको थियो।

रूस विघटन भएको दुई दशकपछि विस्तारै जनसङ्ख्या बढ्ने अपेक्षा गरिएको थियो तर त्यसको प्रभाव अहिलेसम्म नदेखिएपछि अधिकारी चिन्तित भएका हुन्। जनसंख्या बढाउन विगतमा विभिन्न प्रयास गरिए पनि ती सफल हुन सकेनन्। घट्दो जनसंख्याका कारण रूसी अर्थतन्त्र निकै कमजोर हुने विषयले रूसी अर्थशास्त्रीहरू चिन्तित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.