|

बागलुङ : मुस्ताङको जोमसोमस्थित जिल्ला अस्पतालको व्यवस्थापन समिति ४ महिनादेखि नेतृत्वविहीन छ। गत फागुन ११ गते गण्डकी प्रदेशको सिफारिशमा घरपझोङ गाउँपालिका वडा नम्बर २ मार्फाकी कमला लालचनले अध्यक्षबाट राजीनामा दिएपछि अस्पताल नेतृत्वविहीन बनेको हो।

अध्यक्ष लालचनले ४ महिनाअगाडि राजनीनामा दिएकी थिइन्। नेपाली कांग्रेसमा आबद्ध समाजसेवी लालचनलाई गण्डकी प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको थियो। स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार बन्ने भएपछि लालचनले समितिको अध्यक्षबाट राजीनामा दिएकी थिइन्।

उनी नेपाली कांग्रेसको घरपझोङ गाउँपालिकाको समितिका कोषाध्यक्ष पदमा थिइन्। स्थानीय निर्वाचनमा कांग्रेस त्यागेर राप्रपामा पार्टी प्रवेश गरेकी थिइन्। यसअघि मुस्ताङ जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङले नेतृत्व सम्हालेका थिए। उनको ३ वर्षे कार्यकाल पूरा भएसँगै लालचन अध्यक्ष बनेकी थिइन्। 

मार्फाकी लालचनले समितिको अध्यक्ष पदमा राजीनामा दिएको ४ महिना बितिसक्दा समेत मुस्ताङ जिल्ला अस्पतालले नेतृत्व गर्ने नयाँ अध्यक्ष पाउन सकेको छैन। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन विशाल तिवारीले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेशले चाँडै नियुक्त गर्ने गृहकार्य भइरहेको जानकारी दिए।

‘अस्पतालको नेतृत्व ४ महिनादेखि रिक्त छ, नयाँ नेतृत्व आओस् भन्ने हाम्रो सोच हो', निमित्त मेसु तिवारीले भने, ‘प्रदेशले अध्यक्ष तोकेपछि नयाँ वा पुरानै समितिलाई निरन्तरता दिने भन्ने अध्यक्षको सो विवेकमा भर पर्छ।’

लामो समयदेखि मुस्ताङ जिल्ला अस्पताल नेतृत्वविहीन रहँदा अस्पतालले दिने सेवा तथा महत्वपूर्ण निर्णयहरु गर्न अप्ठ्यारो परेको अस्पतालले जनाएको छ।

कुनै पनि अस्पतालको अध्यक्षमा बहाल हुने व्यक्ति ३० वर्ष उमेर पूरा भएको र शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण हुनुपर्छ। संघीयतापछि मुस्ताङ जिल्ला अस्पताल गण्डकी प्रदेशको स्वामित्वमा छ।

गण्डकी प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेश निर्देशिका २०७५ अनुसार प्रदेशको सिफारिशमा जिल्लामा रहेका अस्पतालको अध्यक्ष चयन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ।

प्रदेश सरकारले स्वास्थ्य वा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तिलाई मन्त्रालयले अध्यक्षमा नियुक्त गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.