|

धनगढी : सशस्त्र प्रहरी बल दार्चुलाका एसपी त्रिभुवन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ। दार्चुलास्थित ४४ नम्बर गणका गणपति एसपी विष्टलाई जिम्मेवारीबाट हटाइएको हो।

मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका एसपी विष्टको जिम्मेवारी खोसिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार एसपी विष्टलाई जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको छ।

कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिने प्रावधान छ। तर, ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गणमा २५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै दिन १२२ जनालाई बिदामा पठाएका थिए। उनीहरुलाई बिदामा पठाएर राशन घोटाला गरेको उनीमाथि आरोप छ।

उक्त आरोप लागेसँगै छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पुरुषोतम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिले एसपी विष्टलाई बिभागीय कारबाही गर्न सिफारिस गरेको थियो। त्यसपछि उनलाई हेडक्वार्टर तानेर जिम्मेवारीबाट हटाइएको हो।

यसअघि तीनै एसपी विष्टले राशनमा अनियमिततासम्बन्धी सूचना मिडियालाई चुहाएको आरोप लगाउदै वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि कारबाही अगाडि बढाएका थिए।

हाल हवल्दार साहु डिल्लीबजार कारागारमा छन्। उनलाई मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारको थुनामा राखिएको हो। साहुमाथि संगठनभित्रका गोप्य सूचना मिडियालाई लिक गराएको आरोप थुपारिएको छ।

राशन अनियमितताको मात्रै नभएर हातहतियार, गोलीगट्ठा जस्तो संवेदनशील विषयको सूचनासमेत चुहाएको आरोप उनीमाथि लागेको हो। तर, हवल्दारले उपस्थित र अनुपस्थित (बिदामा रहेका) कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए।

हवल्दारको पारिवारिक स्रोतका अनुसार उनलाई फसाउने नियतले गणको हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको अभियोग लगाइएको हो।

साहुलाई फसाउन गणका केही अधिकारी र स्थानीय पत्रकार भनिएकाको समेत मिलेमतो रहेको बताइएको छ। साहुमाथि उक्त आरोप लागेपछि सशस्त्र प्रहरी विशेष अदालतले साहुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। साहुमाथि लागेको अभियोगका सन्दर्भमा अन्तिम फैसला हुन बाँकी छ।

गणभित्रको अनियमितता बाहिर ल्याएका ती हवल्दारलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाइएको छ। उनकी श्रीमती दुर्गा साहु अहिले न्याय खोज्दै अदालतको चक्कर लगाइरहेकी छन्। 

‘अहिले उहाँलाई विशेष अदालतबाट पुर्पक्षका लागि डिल्लीबजार कागागार चलान गरिएको छ। भदौ ६ गते बकपत्र छ। मैले वकिल खोजेको छु। उहाँले मिसिल हेरेर मुद्दा जित्ने बलियो आधार छ भनेर आशा दिनुभएको छ। मुद्दा जिताउँछु भन्नुभएको छ‚’ उनले भनिन्।

उनले आफू‚ छोराछोरी र निधन भएका दाइका छोरालाई समेत हुर्काइरहेको बताएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.