|

रौतहट : रौतहटका स्थानीय तहले दलित बस्तीमा शौचालय बनाउन विभिन्न सामाग्री दिए पनि जग्गा नहुँदा बस्तीमा शौचालय बन्न सकेको छैन।

पालिकाहरूले वितरण गरेको शौचालयका बनाउने सामाग्री त्यसै थन्किएका छन्। गरिब तथा दलित बस्तीमा शौचालय बनाउने जग्गा नहुँदा ती सामान थन्किएका हुन्।

चन्द्रपुर–९ स्थित मुसहर बस्तीका मनोज मुसहरको घरपछाडि शौचालय बनाउने रिङको चाङ छ। रिङभित्र फोहोर थुपारिएको छ। शौचालय बनाउनुपर्ने रिङ शौचालय बनाउने जग्गा नभएका कारण यतिखेर डस्टबिनका रुपमा प्रयोग हुन थालेको छ।

ठाउँ अभावले शौचालय बनाउन नसकेको मनोजले बताए। जमिन अभावका कारण ३ वर्षदेखि रिङ, प्यानलगायत सामान अलपत्र परेको उनले बताए।

दुई वर्षअघि नै शौचालय बनाउन वडा कार्यालयबाट सामान पाएका हुन्। तर एक धुर पनि निजी जमिन नभएकाले बनाउन सकेका छैनन्। 

बरु रिङमा घरबाट निस्कने फोहोर फाल्ने गरेको उनको भनाइ रहेको छ। ‘गरिब विपन्नलाई शौचालय बनाउन पैसा छैन। ऋण गरेर बनाउँ भने पनि आफ्नो जमिन छैन, कसरी बनाउने शौचालय?‚’ उनले गुनासो गरे।

मनोज मात्र होइन सो बस्तीका ६० घरमध्ये १/२ जनाले मात्र शौचालय बनाएको स्थानीयले बताए। अधिकांशले जमिन अभावले शौचालय बनाउन सकेका स्थानीय धीरेन्द्र पटेलले बताए।

केही रिङ फुटेर कामै नलाग्ने भएको स्थानीय बताउँछन्। बस्तीका सबैजसो परिवार झुपडीमा बस्छन्। कसैको एक धुर पनि नम्बरी जग्गा छैन। यो सुकुम्बासी बस्तीमा वडा कार्यालयले शौचालय बनाउन प्यानसहित सामग्री वितरण गरेको थियो।

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले भने ४ वर्षअघि नै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिसकेको छ तर जिल्लाका दलित बस्तीमा भने शौचालय नै छैन।

चन्द्रपुर-९ का वडाध्यक्ष नवराज देवकोटाले शौचालय बनाउन सामान दिए पनि स्थानीयले नबनाएको बताए। सरकारको गुरुयोजनाअन्तर्गत खुला दिसामुक्त वडा बनाउने अभियानअन्तर्गत यो बस्तीमा पनि शौचालयको सामान वितरण गरिएको हो।

जिल्लाका अधिकांश दलित बस्तीको हालत यस्तै छ। जिल्लाको डुमरिया, बडहर्वा, धमौरा, लक्ष्मीपुर, चेतनगर, कटहरिया, गुजरा, चन्द्रपुरलगायतमा रहेका डोम, चमार, मुसहरलगायतका दलित बस्तीमा शौचालय छैनन्।

उनीहरूलाई बासस्थानकै अभाव छ। ‘गरिबलाई खान धौधौ छ। शौचालय बनाउन कहाँबाट पैसा आउँछ?,’ मुसहर अगुवा अक्लु मुसहर भन्छन्, ‘स्थानीय तहले सामान दियो तर कसरी बनाउने भन्नेतिर सहयोग गरेन।’

यही कारण सामानहरू प्रयोगविहीन हुन थाल्यो। जिल्लामा अझै २ हजार ५ सय ७६ घरधुरीले निजी जग्गा नहुदा शौचालय बनाउन सकेका छैनन्।

शौचालय अभावमा खुल्ला स्थानमा शौच गर्न जाँदा रौतहटमा सर्प, कुकुरले टोक्ने जस्ता समस्या रहँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.