|

काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आपसमा चुनावी सिट बाँडफाँटका लागि आधार तय गर्ने जिम्मा कृष्णप्रसाद सिटौलाको कार्यदललाई दिने निर्णय गरेको छ।

कार्यदलका सदस्य रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको जानकारी दिए। 

गठबन्धनमा रहेका सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू बैठकमा सहभागी थिए।

बैठकपछि सञ्चारकर्मीसँग मन्त्री कार्कीले भने, ‘शीर्ष नेतालाई कार्यदलले कार्य विवरण बुझायो, यसबारे छलफल भएको छ। चाँडै कार्य सम्पादन गरेर अगाडि जाने निर्देशन भएको छ। सिट बाँडफाँटका लागि साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदलका नेतालाई दिने निर्णय बैठकले गरेको छ।’

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गठबन्धनका शीर्ष नेताहरूले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि सिट बाँडफाँट लगायतका सबै काम छिटोभन्दा छिटो सक्न निर्देशन दिएको उनले बताए। 

बैठकमा कार्यदलले सिट बाँडफाँटसम्बन्धमा अहिलेसम्म भएका छलफल र तय गरेका सम्भावित आधारलगायत सबै विवरण शीर्ष नेताहरूसमक्ष पेश गरेको थियो।

मन्त्री कार्कीले भने, ‘जे जस्ता आधार तयार पारेका छौं, ती सबै शीर्ष नेताहरूलाई बुझायौं। सिट संख्याबारे चाँडोभन्दा चाँडो तय गरेर सार्वजनिक गर्छौं।’

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे छलफल एकसाथ अगाडि बढाएको जानकारी दिए। यसअघि बसेको कार्यदलको बैठकमा आगामी चुनावका लागि २०७४ को समानुपातिक मत र गएको वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामका आधारमा तय गर्ने सहमति भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.