तुलसीपुर : दाङमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गापा-७ भैसाही नाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियार रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कमलबहादुर रोकायले बताए। बिहीबार दिउँसो ४ बजेतिर मृत्यु भएको उनको भनाइ छ।
यस्तै झाडापखालाबाट १७ जना बिरामी भएका थिए, अहिले सबै निको भएको उनले बताए। उनले भने, ‘हामीलाई हिजो दिउँसो खबर आयो। त्यसपछि त्यहाँ हामीले तत्काल स्वास्थ्यकर्मी पठाएका थियौँ। विकट ठाउँ भएका कारण भारत हुँदै त्यहाँ जान ५‚ ६ घण्टा समय लाग्छ। जसले गर्दा समयमै पुग्न समस्या हुन्छ।’
आफूले हिजो मात्र जानकारी पाएको र विकट ठाउँ भएका कारण समस्या भएको पनि बताए। उनका अनुसार सरसफाइको कमी र फोहोर पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने बताइएको छ। यस्तै अहिले गाउँमा कुनै पनि बिरामी नभएको र स्वास्थ्यकर्मीहरूको टोली गाउँमै रहेको पनि बताए। त्यस ठाउँमा स्वास्थ्य एकाइ रहेको पनि त्यहाँबाट पनि करिब २ घण्टा हिँडेर डाँडामा जानुपर्ने अवस्था रहेको पनि उनले बताए।
बिरामी हुनेहरूमा सोही ठाउँकी ९ वर्षीया अस्मिता बुढा, २८ वर्षीया लालमती परियार, उनकी छोरी ३ वर्षीया सपना परियार, ५३ वर्षीया शेषमति बुढाथोकी, २३ वर्षीया विमला राना, डेढ वर्षीय हिमाल राना, ४ वर्षीय सुदीप राना, ४३ वर्षीय बालाराम गिरी छन्। यस्तै राजपुर गापा-७ भैसाही नाकाका ३५ वर्षीय गंगाराम परियार, ३८ वर्षीय केशरबहादुर घर्ती, २८ वर्षीया प्यारी राना, १२ वर्षीय शेरबहादुर घर्ती, ६८ वर्षीया अम्बा पुन, २७ वर्षीया शोभा गिरी, ३७ वर्षीया सुनमाली कँवर, ३३ वर्षीया पार्वती कँवर, डेढ महिनाकी बालिका तुलसी घर्ती बिरामी भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।