|

विराटनगर : दुई वर्षपछि विराटनगरमा राधाकृष्ण रथयात्रा भव्यताका साथ आयोजना गरिएको छ।

हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइँदै आएको राधाकृष्ण कोरोना महामारीका कारण रोकिएको थियो। यो वर्ष पनि कोरोना बढ्दै जाँदा रथयात्रा ननिकालिने भन्ने निर्णयमा पुगेको थियो तर सामाजिक दबाब बढेपछि प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर समितिले निर्णय सच्याउँदै ५४ औं संस्करणको रथयात्रा आयोजना गरेको हो।

अपराह्न ३ बजे विराटनगर–१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट शुरु भएको रथयात्रा विराटनगरको ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक बरगाछी हुँदै मन्दिर परिसर पुगेर समापन भएको छ।

विराटनगरमा ९२ वर्षअघि भगवान् राधाकृष्णको मूर्ति खटमा राखेर नगर परिक्रमा गराउने प्रचलन शुरु भएको थियो। विक्रम संवत् १९८८ सालमा खटयात्रा आरम्भ गरिएकोमा २०२४ सालदेखि ठूलो र आधुनिक रथ बनाएर डोरीले तान्न थालिएको हो।

विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट अपराह्न ३ बजे रथयात्रा शुरु भएको र नगरपरिक्रमापछि साँझ मन्दिर परिसरमा पुगेर समापन भएको मूल समारोह समितिका उपाध्यक्ष नन्दकिशोर राठीले बताए।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले  कोरोना संक्रमणको जोखिम रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्दै ऐतिहासिक सांस्कृतिक परम्परा मनाउन आग्रह गरेका थिए। सोहीअनुरूप यो वर्ष झाँकी कम गरिएको आयोजक समितिले जनाएको छ।

राधाकृष्णको मूर्ति राखिएको रथ तान्न नेपाल प्रहरीका एक सय जवान प्रयोग गरिएको थियो। यात्राका क्रममा विभिन्न २२ स्थानमा रोकेर श्रद्धालुलाई दर्शन र पूजाअर्चनाको व्यवस्था मिलाइएको थियो। 

रथयात्राको अवलोकन गर्न विगतमा भारतबाट समेत हजारौं भक्तजन नेपाल आउने गरे पनि योपटक तुलनात्मक रूपमा कम भक्तजन सहभागी भएका थिए।

विराटनगरमा क्रियाशील ‘हेल्पिङ ह्याण्ड्स राधे राधे’समूहले एक हजार रुपैयाँका दरले सहयोग संकलन गरी जुस, पानी र खीरको प्रबन्ध मिलाएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.