|

इलाम : आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि इलाममा चुनावी चर्चा सुरु भइसकेको छ।

नेपाली राजनीतिमा प्रत्यक्ष प्रभाव राख्न सक्ने २ जना प्रभावशाली हेभिवेट नेताहरू भएको जिल्ला भएको कारण पनि इलामलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

विगत ३ दशक अघिझैँ यसपटक वामपन्थी धारका झलनाथ खनाल र सुवास नेम्वाङ दुवैको उम्मेदवारी इलामबाटै रहनेछ। अघिल्ला निर्वाचनमा एउटै दलबाट उम्मेदवार बनेका नेम्वाङ र खनाल यसपटक भने फरक दलको प्रतिनिधित्व गर्दैछन्।

नेकपा विभाजनपछि नेम्वाङ एमालेमै रहँदा खनालले माधव नेपालसँगै नेकपा एकीकृत समाजवादी गठन गरेर सम्मानित नेताको रूपमा पदासीन छन्।

इलाम क्षेत्र नं १ बाट झलनाथ खनाल ५ दलीय गठबन्धनका उम्मेदवार हुँदै गर्दा उपाध्यक्ष नेम्वाङलाई एमालेले पुनः क्षेत्र नं २ मा उम्मेदवारको रूपमा अघि सार्दैछ। ०४८ मा पहिलोपटक संसद् बनेका खनाल २०५६ बाहेक अपराजित छन्।

यता, २०५६ सालबाट संघीय संसदको चुनावमा होमिएका नेम्वाङ अपराजित रहँदै आएका छन्। खनालले गृहजिल्लामा आएर नै आफ्नो उम्मेदवारी रहने बताइरहँदा नेम्वाङ अहिलेसम्म खुलेका छैनन्। एमाले स्रोतका अनुसार नेम्वाङ पाँचौँपटक इलाम क्षेत्र नं २ बाट उम्मेदवार बन्नेछन्। २०७४ सालको निर्वाचन इलाम निर्वाचन क्षेत्र नम्बर १ मा एमाले र माओवादीको संयुक्त गठबन्धनबाट खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी बनेका थिए।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत ल्याएका थिए। अहिले नेकपा एकीकृत समाजवादी–कांग्रेस–माओवादीको गठबन्धन भएको छ।

कार्यकर्ता प्रशिक्षणका लागि इलाम आएका खनालले गतसाता पत्रकारहरू सँगको भेटघाटमा इलाम क्षेत्र नं १ बाटै उम्मेदवार हुने बताए। बुटवलमा समेत इलाम क्षेत्र नं १ बाटै आफू अन्तिमपटक चुनाव लड्ने उनले बताए।

‘मैले चुनाव लड्नुपर्दा अर्को निर्वाचन क्षेत्र खोज्दिनँ, मैले निर्वाचन लड्ने क्षेत्र भनेको इलाम १ नै हो। यही क्षेत्रमा म आउँछु।’  भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा खनालको निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीले ९ हजार ५१५ मत ल्याएको थियो। क्षेत्र नं १ को ४१ वटा वडामध्ये २० वडामा वडाध्यक्षको रूपमा उम्मेदवारी दिएको थियो।

जसमा ७ वटा वडामा विजय हासिल गरेको छ। विजय भएमध्ये सूर्योदय नगरपालिकाका ६ वटा वडामा एकल र सन्दकपुर–२ मा ४ दलीय गठबन्धन गरेर विजय भएको थियो।

गठबन्धन दलका कार्यकर्ता रुष्ट

गठबन्धन भएको कारण झलनाथको सहज विजय देखिए तापनि पछिल्लो समय उनको गतिविधिका कारण गठबन्धन दलका कार्यकर्ताहरू रुष्ट देखिएका छन्।

स्थानीय तह निर्वाचनको मत परिणाममा चित्त नबुझेपछि खनालले इलामको सूर्योदय  नगरपालिका र माईजोगमाई गाउँपालिकामा गठबन्धनमै रहेको कांग्रेसले आफ्ना उम्मेदवारलाई भोट नहालेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

ती पालिका र जिल्ला तहका कांग्रेस नेताहरूले समेत खनालको अभिव्यक्तिलाई लिएर उनीप्रति सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए।  सूर्योदयमा विजय हासिल गरेको गठबन्धन माइजोगमाईमा भने पराजित भएको थियो।

त्यसपछि खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदयको कार्यपालिका र जिल्ला समन्वय समिति गठनमा सत्ता गठबन्धन तोडिएको थियो। सूर्योदयको कार्यपालिका र जिसस गठनमा नेकपा (एस) र नेकपा (एमाले) ले गठबन्धन गरी विजय हासिल गरेका थिए।

खनालको यही भूमिकालाई लिएर अहिले पनि स्थानीय र जिल्ला तहका कतिपय कांग्रेस नेता गठबन्धन गर्न नहुने र गठबन्धन गरे पनि खनाललाई इलाम क्षेत्र नम्बर १ नछाड्ने अडानमा छन्।

खनाल अझै पनि कम्युनिष्ट गठबन्धन नै हुनुपर्ने पक्षमा छन्। गतसाता इलाममा कार्यकर्ता प्रशिक्षणका क्रममा खनालले भने ‘गठबन्धनभित्र नेकपा (एस), माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी गरी ४ दलबीच पनि बेग्लै मोर्चाका लागि प्रयास भएको छ। यो चाहिँ मोर्चा र नेपाली कांग्रेसको बीचमा तालमेलबारे छलफलका लागि विचार मिल्नेहरूको मोर्चा हो। त्यो मोर्चा बन्यो भने मोर्चा र कांग्रेसबीचमा तालमेल गर्ने वा अरूतिर पनि ढोका खुला राखेर जाने भन्ने कुरा हुन सक्छन्।’

खनालको यस्तो किसिमको द्वैध चरित्रका कारण गठबन्धन भित्रका दलका कार्यकर्ता नै उनलाई मत नदिने अवस्थामा छन्। नाम उल्लेख नगर्ने शर्तमा एकजना जनप्रतिनिधिले भने, ‘जिसस जिताउनका लागि एमालेसँग टाँसिने झलनाथलाई कसरी काँधमा बोकेर हिँड्ने? झलनाथ जिताउने मात्र गठबन्धन हो भने स्विकार्य हुँदैन।’

एमालेले हालसम्म सो क्षेत्रमा कसलाई उठाउने भन्ने निर्णय गरिसकेको छैन। यद्यपि, जिल्ला अध्यक्ष महेश बस्नेतलाई सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ।

०७४ को स्थानीय तहको निर्वाचनमा इलाम नगर प्रमुख जितेका बस्नेत यसपटक संघीय सांसद उठ्नका लागि नगर प्रमुखमा उम्मेदवारी दिएनन्। गठबन्धन नभएको अवस्थामा ०५६ सालमा खनाललाई पराजित गरेका बेनुपराज प्रसाईंलाई कांग्रेसबाट सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ।

माओवादी केन्द्रबाट पार्टीका जिल्ला अध्यक्ष विजय खम्बु उम्मेदवार हुनेछन्। वडा तहको मत परिणामअनुसार सो क्षेत्रमा एमालेको मत जम्मा २४ हजार ८२१ छ।

यता, गठबन्धन दलको ३७ हजार ३८८ मत छ। नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले एकल रूपमा १० हजार १८३ मत पाएका छन्।

सुवासलाई जातीय मतको भर

यता, इलाम क्षेत्र नम्बर २ मा ०५६ सालदेखि अपराजित रहेका सुवासचन्द्र नेम्वाङलाई भने गठबन्धन भएको अवस्थामा जित्न सकस छ।

नेम्वाङलाई जित्नका लागि एउटै आशा भनेको जातीय मत मात्र हो। किरात धर्मगुरु आत्मानन्द लिङ्देनको विश्वासपात्र नेम्वाङ लारुम्बा क्षेत्रबाट आउने जातीय मतबाट सधैँका चुनाव जस्तै यसपटक पनि जित्ने दाउमा छन्।

पछिल्लो समय उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने चुलाचुली गाउँपालिकामा आउने क्रम बाक्लो छ। पूर्व-प्रधानमन्त्री केपी ओलीको पछिल्लो २ झापा भ्रमणका क्रममा उनी ओलीसँगै चुलाचुलीमा कार्यक्रम गर्दै मत बटुल्ने काममा लागेका छन्।

०४८ मा राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हाल्दै २०५६ को संसदीय निर्वाचनबाट लगातार विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष, २०६४ र २०७० का संविधानसभा अध्यक्षसमेत रहिसकेका छन्।

०७४ सालको संसदीय निर्वाचनमा भने माओवादी र एमालेबीचको गठबन्धनबाट विजयी बनेका थिए। उनले त्यसबेला ३६ हजार ५१७ मत ल्याएका थिए। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६५ मत ल्याएका थिए।

यसपटक पनि सो क्षेत्रमा कांग्रेसबाट केशव थापा र भेषराज आचार्य उम्मेदवार बन्न सक्ने चर्चा छ। गठबन्धन नभएको अवस्थामा माओवादी केन्द्रले हालका प्रदेश सांसद एवं पार्टीका केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमणलाई संघीय सांसदको रूपमा उठाउने चर्चा छ।

स्थानीय तह २०७९ को मत परिणामअनुसार नेम्वाङको क्षेत्रमा वडाध्यक्षहरूको मत जोड्दा एमालेको ३२ हजार ५२७ मत छ। यता, गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको मत जोड्दा ३६ हजार ५६२ मत हुन आउछ।

लिम्बू आदिवासी जनजातिको बाहुल्य क्षेत्र रहनु र प्रतिस्पर्धी उम्मेदवार बलियो नहुँदाको फाइदा उठाउँदै आएका नेम्वाङले यसपटक भने सत्तारूढ ४ पार्टीका विरुद्ध एक्लै उभिनुपर्ने भएको छ। चुनावी अंकगणित यसपटक सुवासको विपक्षमा देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.